• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एसिडपीडितलाई निस्शुल्क उपचारको समेत व्यवस्था छैन, उपचारमै सकिन्छ परिवारको जायजेथा

काठमाडौं । नवलपरासी कावासोती–८ का यमनारायण परियारलाई एसिड आक्रमणमा परेकी पत्नीको उपचार गर्दागर्दै नौ लाख ऋण लागेको छ । ८ असोज ०७५ मा उनकी पत्नी वसन्तीमाथि एसिड प्रहार भएको थियो । पत्नीको उपचारका लागि उनी एक वर्ष काठमाडौं बसे । ‘तीन महिना त अस्पतालमै बित्यो,’ उनी भन्छन्, ‘उनको उपचार गर्न अलि–अलि भएको जग्गा धितो राखेर नौ लाख ऋण लिएँ ।’

विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गर्दा पनि उपचार खर्च नपुगेपछि यमनारायणले गण्डकी प्रदेश सरकार पनि गुहारे । तर, प्रदेश सरकारले एसिडपीडितलाई उपचार खर्च दिन नमिल्ने भन्दै पन्छायो ।

उनीहरूका दुई सन्तान छन् । पहिले विदेश गएर कमाउँथे । पत्नीको रेखदेख गर्नुपर्ने भएकाले अहिले विदेश पनि जान सक्दैनन् । भएको जग्गा धितो राखेका उनलाई बैंक र सहकारीले ऋण चुक्ता गर्न ताकेता गरिरहेका छन् । ऋण चुक्ता नगरे जग्गा लिलामी गर्ने धम्की आइरहेको छ । ‘छोराछोरी सानै छन् । बैंकले ऋण नतिरे जग्गा लिन्छौँ भनेको छ । ऋण तिर्न सकिनँ भने त भोकै मर्छौँ,’ उनी भन्छन् ।

सावाँ त टाढाको कुरा ब्याजसमेत भुक्तानी गर्न सकेका छैनन्, उनले । चार महिनायताको ब्याज मात्र ३० हजारभन्दा बढी पुगेको थियो । उनले सात हजार मात्र तिर्न सके । ‘ब्याज पनि समयमा तिर्न नसक्दा जरिवाना लगाउँछन्,’ उनी भन्छन्, ‘यही ऋणले डुबाउँछ मेरो परिवारलाई ।’

सबै जायजेथा सकिँदै गर्दा उनकी पत्नी वसन्तीको उपचार सकिएको छैन । ‘आँखा, कान र कपालको उपचार अझै बाँकी छ । जलेर बाहिर निस्केको मासुको अप्रेसन गर्नुपर्छ भनेका छन् डाक्टरले,’ यमनारायण भन्छन् ।

एसिड आक्रमणकारीविरुद्ध दायर मुद्दा छिनोफानो भएको छैन । मुद्दा छिनोफानो भए क्षतिपूर्ति पाउने आस छ उनलाई । अन्य एसिडपीडितलाई सरकारले सहयोग गरे पनि आफूहरूलाई भने सहायता नदिएकामा चित्त दुःखाउँदै उनी भन्छन्, ‘गरिबलाई कसैले सहयोग नगर्ने रहेछ ।’

लामो समयदेखि एसिडपीडितलाई सहयोग गर्दै आएका अभियन्ता उज्ज्वलविक्रम थापाका अनुसार राजनीतिक पहुँच र सोर्सफोर्सका आधारमा मात्र सरकारले राहत दिने गरेको छ । ‘ठूलै सोर्सफोर्स लगाए मात्र राहत पाउँछन् । नत्र दाताकै भरमा उपचार गराउनुको विकल्प हुँदैन । दाता पनि भनेको समयमा भेटिँदैनन्,’ उनी भन्छन् ।

८ साउन राति काठमाडौं सीतापाइलामा २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भयो । त्यही राति उनलाई अस्पताल लिएर गइन्, दिदी सुनिता थापाले । अस्पताल पु¥याउँदा–पु¥याउँदै १० हजार रुपैयाँ धरौटी मागियो । तर, सुनितासँग मात्र एक हजार थियो । उनले हारगुहार गरेर बहिनीलाई अस्पताल भर्ना गराइन् ।

हाल कीर्तिपुर अस्पतालमा पवित्राको उपचार चलिरहेको छ । त्यससँगै उनको परिवार आर्थिक संकटमा परेको छ । उपचारमा हालसम्म ६० हजार रुपैयाँभन्दा बढी खर्च भइसक्यो । ‘यही पैसा पनि बल्लतल्ल जुटाएका हौँ,’ सुनिता भन्छिन् । चिकित्सकहरूले पवित्रालाई अझै एक महिना अस्पताल राख्नुपर्ने बताएका छन् । ‘बहिनीको भविष्य के हुने हो ?’ सुनिता चिन्तित हुँदै भन्छिन्, ‘खर्च जुटाउन सकिएन भने उपचारै नहोला भन्ने डर छ ।’

यस्तै, २७ फागुन ०७६ मा बालाजुमा नुवाकोट विदुर–१३ का रामराजा थापामाथि उनकै पत्नीले सुतिरहेको अवस्थामा एसिड खन्याइन् । एसिडले उनको टाउको, अनुहार सबै जल्यो । ६ महिनायता उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । हालसम्म आठ लाख रुपैयाँ खर्च भइसक्यो । ‘पहिलो चरणको मात्र उपचार भयो,’ उनी भन्छन्, ‘अब आँखा र कान खोल्नै बाँकी छ । अरू मासुको पनि अप्रेसन बाँकी छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर