राममन्दिर शिलान्यास कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्थ अयोध्याका लागि प्रस्थान

जनकपुरधाम । भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि हुन लागेको भूमि पूजन कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव अयोध्याका लागि  प्रस्थान गरेका छन् । श्रीराम जन्म भूमि तीर्थ क्षेत्रले जानकी मन्दिरका महन्थ दासलाई भूमि पूजन कार्यक्रममा सहभागीता जनाउनलाई निमन्त्रणा पठाएपछि उनी अयोध्या तर्फ प्रस्थान गरेका हुन् । 

 

जानकी मन्दिरका महन्थ दास एक किलोको ५ वटा चाँदी ईटा उपहार स्वरुप लिएर त्यहाँ जान लागेको बताए । सो चाँदीको ईटामा श्री सीताराम जानकी मन्दिर जनकपुरधाम मिथिला नेपाल लेखिएको छ । उनले भने ‘वर्षौको प्रतिक्षा पछि अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको भूमि पूजन कार्यक्रममा सम्पूर्ण मिथिलावासीको प्रतिनिधित्व गर्न पाउँदा कृतार्थ भएको छु ।’ 

महन्थ दास धनुषाको जटही नाका भएर अयोध्याका लागि प्रस्थान गरेका छन् । भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माणका लागि आदेश दिएपछि त्यहाँ राम मन्दिर निर्माणको कार्य अगाडी बढाउन लागिएको हो । मन्दिरको शिलान्यास भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार गर्न लागेका हुन् ।   
राम मन्दिर भूमि पूजन कार्यक्रमको प्रमुख अतिथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् भने, विशिष्ट अतिथि विश्व हिन्दु परिषद्का अध्यक्ष मोहन भागवतलाई बनाइएको छ । कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत उपस्थिति रह्ने छ । 

कोरोना संक्रमणको समयमा हुन लागेको भूमि पूजन कार्यक्रममा सरिक हुन लागि सीमित व्यक्तिलाई मात्रै आमन्त्रित गरिएको हो । सीमित व्यक्तिलाई आमन्त्रित गरिएका मध्ये जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव समेत रहेका छन् । 
यस अघि शिलान्यास कार्यक्रममा सहभागी हुनका लागि महोत्तरीको भिठामोड नाका भएर सोमबार जान खोज्दा नेपाली सीमा नकट्दै उनलाई फेरी जनकपुरधाम नै फर्काइएको थियो । 

गाडीको पास र पीसीआर परिक्षणको रिपोर्ट नरहेकोले आफूलाई सोमबार सीमाबाट फर्काइएकोे महन्थ दासले बताए । उनले अब आफू गाडीको पास र पीसीआर परिक्षणको रिपोर्ट लिएर अयोध्या जान लागेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर