निःशुल्क हवाई सेवाले दुर्गमका गर्भवतीको ज्यान जोगिँदै

जाजरकोट। स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ। महिला तथा बालबालिका मन्त्रालयअन्तरगत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने गरेको छ।

हवाई उद्धार कार्यक्रम सञ्चालन भएका ३० जिल्लामा पूर्णरूपमा र चार जिल्लामा आंशिकरूपमा निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन भएको छ। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मार्फत उद्धार गरिएको हो।     

सडक सञ्जालमा नजोडिएका र सहज यातायात पहुँच नभएका ठाउँका गर्भवती महिलाहरूको हेलिकप्टरबाट तत्काल उद्धार र उपचार कार्यक्रम निकै प्रभावकारी भएको हो। सुविधा सम्पन्न र अत्यावश्यक स्वास्थ्य उपकरण नभएका हिमाली जिल्लाका स्वास्थ्य संस्थामा उपचार हुन नसक्ने अवस्थाका कर्णालीका गर्भवतीहरूको हवाई मार्गबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत र नेपालगञ्ज लगेर आमा तथा शिशुको ज्यान बचाउने काममा यो कार्यक्रम निकै प्रभावकारी बन्दै गएको हो।     

२०७६ असार ११ गतेसम्म डोल्पामा चार, जाजरकोटमा एक, हुम्लामा दुई र मुगुमा चार गर्भवतीको उद्धार भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा जाजरकोटमा ६, डोल्पामा १०, हुम्लामा आठ, मुगुमा चार र कालीकोटमा एक जनाको उद्धार गरिएको छ। आर्थिक वर्ष २०७५/७६ मा देशैभरिबाट २६ र आर्थिक वर्ष ७६/७७ मा ८७ गरी जम्मा ११३ सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको कोषले जनाएको छ।     

सुत्केरी व्यथाले छटपटाइरहेका महिलालाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पुर्‍याएपछि कर्णालीमा यो कार्यक्रम प्रभावकारी भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। उनका अनुसार दुर्गम गाउँमा सडक पहुँच नहुनु र भएका सडक पनि हिउँदको महिनामा मात्र सञ्चालन हुने भएकाले पनि व्यथा लागेका गर्भवतीलाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पुर्याउन हेलिकप्टर प्रयोग गर्नुको विकल्प छैन।     

जाजरकोट जिल्ला सडक सञ्जालको पहुँचमा भए पनि कच्ची सडक, वर्षाले सडकमा सवारी साधन सञ्चालनमा आउने समस्याले अधिकांश गर्भवतीलाई समयमै स्वास्थ्य संस्था पुर्याउन मुस्किल हुँदै आएको छ। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर