• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

श्राद्ध के हो र किन गरिन्छ ?

आज  आश्विन १ गते अमावाश्या तिथि पितृपक्ष समाप्त हुने यसवर्ष श्राद्धको अन्तिम दिन  हो।

श्रद्धया दीयते यस्मात् तच्र्छाद्धम्। श्रद्धार्थमिदं श्राद्धम्।।

शास्त्रमा आफ्ना परलोक हुनु भएका बाबु,आमा समेतका पूर्वज पितृहरुलाई सम्झेर श्रद्धापूर्वक गरिने कर्म नै श्राद्ध हो । श्राद्धहरु धेरै प्रकारका भए तापनि मुख्यत गृहस्थाश्रममा बसेका सनातनधर्मी व्यक्तिहरुले प्रत्येक वर्ष पितृको मृत तिथिमा गरिने एकोद्दिष्ट श्राद्ध र महालय पितृपक्षमा पार्वण श्राद्ध गर्ने धर्मसिन्धु, निर्णय सिन्धु,धार्मिक ग्रन्थहरुमा बताएको देखिन्छ र समाजमा परम्परागत रूपमा चलि आएको छ । श्राद्ध पितृहरुको श्रद्धा र सम्मान हो ।

अमावाश्या तिथिमा मघायुक्त त्रयोदशीको श्राद्ध,चतुर्दशीको श्राद्ध,अमावाश्याकै श्राद्ध,श्रीमती रजस्वला भएर रोकिएका श्राद्ध,जन्म सुतक र मृत सुतक बाट रोकिएका सम्पूर्ण श्राद्ध एकै दिन गरिने हुनाले आज गरिने श्राद्धको दिनमा धेरै पितृहरुले श्रद्धा  र सम्मान प्राप्त गर्नुहुनेछ । एकोद्दिष्ट श्राद्ध श्रीमती रजस्वला भएर रोकिँदैन । उनी श्राद्ध भूमिको नजिक रहनु हुदैन र बोली पनि श्राद्ध भूमिमा पुग्नु हुदैन भनिएको छ।
     
पितृहरुलाई श्रद्धा र सम्मान गर्ने काम  पुर्वीय जगतमा मात्र नभएर पश्चिमी जगतमा पनि गरिएको  पाइन्छ । जर्मनमा चिहान सफा गरेर २१ अक्टुवरका दिन फूल,माला र खाने पदार्थ राखिदिएर मनाइन्छ । अमेरिकामा फब्रअरि महीनामा आफ्ना इष्टमित्रलाई निमन्त्रणा गरेर भोजन गराइन्छ र निमन्त्रित व्यक्तिलाई अँगालो मारेर स्वागत गरिन्छ । 

जापानमा अगस्ट महीनामा तीन दिनसम्म हामीले तिहारमा जस्तै घर-घरमा वत्ती बालेर मिष्ठान्नहरु खाएर चौथो दिन घरका सम्पूर्ण  झ्याल ढोका खुला राख्ने चलन छ । यसरी सम्पूर्ण देशहरुमा सबै जातिहरूले आ-आफ्नै तरिकाले पितृहरुको श्रद्धा सम्मान  र सम्झना गर्दछन् ।

भरत राजाले राज्य गरेको भारत वर्षमा सनातन धर्मावलम्बीहरुले धार्मिक ग्रन्थ,पौराणिक ग्रन्थ,धर्म सिन्धु,निर्णय सिन्धुहरुलाई आधार मान्ने हुँदा पिण्डदान दिएर पितृहरुलाई सम्मान गर्ने चलन रहेको छ। जसले म सनातनी व्यक्ति हुँ भन्छ तर मृत्यु भएपछि पितृहरु हुदैनन्,मान र सम्मान गर्न पर्दैन भनेर प्रत्येक वर्षको मृत तिथिमा एकोद्दिष्ठ श्राद्ध र महालय श्राद्ध पितृपक्षमा वा तुला राशिमा पर्ने गौ पूजा अमावाश्या तिथिका दिनपनि आफ्ना पूर्वजलाई सम्झेर पार्वण श्राद्ध गर्दैन  भने त्यसलाई पितृहरुले श्राप दिन्छन् र त्यसको रगत पनि खान्छन् भनेर श्राद्ध विधिमा यसरी भनिएको छः
  
वृश्चिके समनुप्राप्ते पितरो दैवतै सह ।निःश्वस्य प्रति गच्छन्ति शापं दत्त्वा सुदारुणम् ।
न सन्ति पितरश्चेति कृत्वा मनसि यो नरः।श्राद्धं न कुरुते तत्र तस्य रक्तं पिवन्ति ते।।

       
पितृहरुलाई आफ्नो क्षमता र शक्तिअनुसार सम्मान र श्रद्धा गर्ने हो । शक्ति भएर पनि आफ्ना पितृहरुलाई स्मरण गरेर सम्मान गर्दैन भने त्यो भन्दा मुर्खता केहि हुदैन । बाबुआमाको एकोद्दिष्ट श्राद्ध नगरीकन पार्वण श्राद्ध गर्ने अधिकार हुदैन ।वर्तमान समयका परिस्थितिजन्य कुरामा अलमलिनु भन्दा शक्ति अनुसार पितृहरुलाई सम्झेर विधिअनुसार सम्मान गरी श्राद्ध गर्दा उत्तम हुन्छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर