• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

टिकटक र विच्याट बन्द हुने भएपछि अमेरिकामा एकै दिन दुई वर्ष यताकै सर्वाधिक डाउनलोड

एजेन्सी । अमेरिकी सरकारले आइतबारदेखि अमेरिकामा चिनियाँ एपहरु टिकटक र विच्याट डाउनलोडमा प्रतिबन्ध लगाउने भएपछि बन्द हुनअघि यी एपहरु डाउनलोड गर्न अमेरिकी प्रयोगकर्ताहरु हतारिएका छन् । 

अमेरिकामा लोकप्रिय रहेका विच्याट र टिकटक एप शुक्रबार एकै दिनमा मात्रै दुई वर्षयताकै सर्वाधिक डाउनलोड भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । शुक्रबार मात्रै टिकटक २ लाख ४७ हजार पटक डाउनलोड भयो, यो आंकडा बिहीबारको भन्दा १२ प्रतिशतले बढी रहेको सेन्सर टावरले जनाएको छ । 

त्यस्तै विच्याटको डाउनलोड दरमा शुक्रबारको दिन बिहीबार भन्दा १ सय ५० प्रतिशतले बढोत्तरी भएको छ । शुक्रबार अमेरिकामा १० हजार पटक विच्याट डाउनलोड भएको छ । एक दिनमा डाउनलोड भएको यो संख्या सन् २०१९ को अक्टोबरयताकै सबैभन्दा बढी हो ।

अमेरिकामा आइफोनमा उपलब्ध निःशुल्क एपहरुमध्ये शुक्रबार बिहान १३८५ औँ स्थानमा रहेको विच्याट शुक्रबार दिउँसोसम्म छलाङ मार्दै १ सय औँ स्थानमा उक्लियो । यो वर्ष एप स्टोरका शीर्ष ५ सय एपभित्र पहिलोपटक विच्याट पर्न सफल भएको हो ।

अमेरिकामा खासगरी मानिसहरु चीनमा बस्ने आफ्ना परिवार र साथीहरुसँग सम्पर्कका लागि विच्याटमा भर पर्ने गर्दछन् ।

अमेरिकामा आइतबारदेखि विच्याट र टिकटक डाउनलोड गर्न नसकिने भएपनि आफ्नो स्मार्टफोनमा यसअघि नै एप डाउनलोड गरिसकेकाहरुले चाहीँ प्रयोग गरिरहन पाउनेछन् । यद्यपि एप्हरुमा प्राप्त हुने सेक्योरिटी अपडेट नहुने भएको हुँदा भविष्यमा जुनसुकै बेला बन्द हुनसक्ने वा प्रयोगका लागि असुरक्षित हुने सम्भावना रहन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर