चितवनका कोरोना संक्रमितको शव देवघाटमा व्यवस्थापन

चितवन । चितवनमा मृत्यु भएका कोरोना संक्रमितहरुको शवलाई देवघाट क्षेत्रको जंगलमा व्यवस्थापन गर्ने गरीएको छ । 

देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी क्षेत्रस्थित नारायणी नदी किनारको जङ्गल क्षेत्रलाई संक्रमित शव व्यवस्थापन स्थल बनाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए । 

उनले भने, 'मानव बस्तीभन्दा टाढाको जङ्गललाई संक्रमित शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । उनले भने  ‘जङ्गलभित्र जहाँ मान्छेको आवतजावत र प्रवेश हुँदैन, त्यस क्षेत्रलाई संक्रमित शव व्यवस्थापन स्थल छुट्याएर बोर्ड टाँसेका छौँ ।' 

सो क्षेत्रमा अहिले पनि नेपाली सेनाले संक्रमितहरुको शव गाडेर व्यवस्थापन गर्दै आइरहेको छ । चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका १८ संक्रमितको शव सोही क्षेत्रमा नै व्यवस्थापन गरिसकिएको छ ।

देवघाटमा शव व्यववस्थापन हुँदै आएको भन्दा छुट्टै स्थानमा संक्रमितको शव व्यवस्थापन भइरहेको घिमिरेले बताए । उनले शव व्यवस्थापनमा समस्या नहोस् भन्नका लागि समितिले आवश्यक सहजीकरण गरिरहेको घिमिरेले बताए । 

देवघाटधामको शवदाह स्थलमा यसअघिका वर्षमा भन्दा कम शव आउने गरेको निर्देशक घिमिरेले बताए । 'अहिले दैनिक पाँचदेखि छ वटा शव आउने गर्छ,' उनले भने, 'यसअघि दैनिक आठदेखि १० वटासम्म शवदाह हुने गरेको थियो ।'

उनले कोरोनाका कारण भएको लकडाउन र निषेधाज्ञाले सवारी दुर्घटना कम हुँदा मृत्यु हुनेको संख्यामा कमी आएको बताए । संक्रमित बाहेकको शवदाह स्थलमा २५ जनाभन्दा धेरै नजान क्षेत्र विकास समितिले अनुरोध गरेको छ ।

यस्तै समितिले बाहिरी मान्छेलाई शवदाह स्थलबाट देवघाटका अन्य क्षेत्रमा नजान र सिधै फर्कनसमेत अनुरोध गरेको छ । देवघाटमा चितवन, तनहुँ, नवलपरासी, रुपन्देही, हेटौँडा, धादिङलगायतका जिल्लाबाट शवदाहका लागि ल्याउने गरिन्छ । 

चितवन जिल्लामा हालसम्म एक हजार ५३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १८ जना चितवनका हुन् भने अन्य जिल्लाका सङ्क्रमित हुन् ।

चितवनमा हालसम्म १८ हजार ७०० नमुनाको पिसिआर परीक्षण भएको छ । तीमध्ये ४ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी ८५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । 

चितवनमा रहेको प्रयोगशालाबाट चितवनसहित देशभरका करिब १२ जिल्लाबाट आउने स्वाब परीक्षण हुँदै आइरहेको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीका अनुसार बाहिरी जिल्लाका पनि १ सय ८४ जना संक्रमितको भरतपुर अस्पतालबाटै स्वाब संकलन गरीएको छ । ति संक्रमित देखिएकामध्ये पनि ७१ जना हाल भरतपुर अस्पतालमै उपचाररत छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर