• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वसामु आइपिएल प्रत्यक्ष टेलिभिजनमा पुर्‍याउनेे डडेल्धुराका हर्कबहादुरको कथा 

मध्यम वर्गीय परिवारमा जन्मिएका हरिको उच्च शिक्षा अध्ययन पश्चात् विवाह गर्ने योजना बुनेका थिए । तर, पारिवारिक मेसोमा २०५३ मंसिर १० गते विवाह भयो । अभावै अभावमा बाँचेका उनी विवाह गर्दा लागेको ऋण तिर्न सपनाको सहर मुम्बइतिर लागे । 

कैलाली । शनिबारदेखि १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु भइसकेको छ । कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स (युएई)का तीन सहर सारजाह, अबुधाबी तथा दुबईमा हुँदैछ। त्यही आइपिएलका लागि युएइमा छन् हर्कबहादुर कैनी (हरि) ।

सुदूरपश्चिम डडेल्धुरामा जन्मेका हरी कैनीले हामीले टेलिभिजनमा हेर्ने खेललाई आकर्षक बनाएर देखाउने छन् ।
हरेक रोमाञ्चक दृश्यहरुलाई दर्शकसामु पुर्याउने प्राविधिक टोलीमा कार्यरत उनी एक भिजन इन्जिनियर हुन । उनले कन्ट्रोल रुममा बसेर क्यामेरा कन्ट्रोल गर्नुका साथै क्यामेराको रंग म्याचिङको काम गर्छन् । 

यस वर्षको आइपिएलमा उनी त्यही काम गर्दैछन् । उनले युएईबाट आइपिएलको प्रत्यक्ष प्रसारण गरिरहेका छन् । उनले आइतबार आइपिएलको दोस्रो खेल क्यापिटल्स र किङ्गस ११ पन्जाबबीचको प्रत्यक्ष प्रसारण गरेका थिए । त्यसो त उनले यसरी काम गरेको यो पहिलो पटक हैन । उनीसँग विगतमा विश्वकप क्रिकेट, आइपिएल, विश्वकप कवड्डि, बहुचर्चित आइफा एवार्ड लगायतका विभिन्न इभेन्टको प्रत्यक्ष प्रसारण गरेको अनुभव छ। 

त्यही अनुभवका कारण यसपटक डडेल्धुराबाट उनलाई दुबई बोलाइएको थियो । आइपिएलका लागि भनेर १ सेप्टेम्भरमा उनी डडेल्धुराबाट दिल्ली गएका थिए । त्यसपछि दिल्लीबाट ७ सेप्टेम्भर उनी दुबई गएका थिए । ताज होटेलमा केही दिन क्वारिन्टन बसेपछि उनको काम सुरु भयो । जसअनुसार १५ सेप्टेम्भर देखि १९ सेप्टेम्भर उनले सेटअपको काम सकेका थिए । सेटअपको काम सकेर आइतबारबाट युएईको अन्तर्राष्ट्रिय मैदानको पर्दा पछाडि बसेर उनले काम गरिरहेका छन् ।  केही समयअघि मात्रै भारतको रन्जित ट्रफि र जनवरीमा फिलिपिन्समा भएको ‘सिगेम’मा समेत हरी पुगेका थिए । 

.................
हरिको कथाः बिहेको ऋणले कोरको भाग्य 

२०३३ सालमा डेल्धुराको अमरगढी नगरपालिका –७ मा जन्मेका उनले स्थानीय उग्रतारा माविबाट २०५२ सालमा एसएलसी उत्तिर्ण गरेका थिए। त्यपछि २०५६ मा उनी भारतको मुम्बईतर्फ हानिए।

मध्यम वर्गीय परिवारमा जन्मिएका हरिको उच्च शिक्षा अध्ययन पश्चात् विवाह गर्ने योजना बुनेका थिए । तर, पारिवारिक मेसोमा २०५३ मंसिर १० गते विवाह भयो । अभावै अभावमा बाँचेका उनी विवाह गर्दा लागेको ऋण तिर्न सपनाको सहर मुम्बइतिर लागे । 

‘बुवाले रहर गरेर मेरो विवाह गरिदिए तर त्यही महिना बुवाको अचानक निधन भयो’, उनले समाचार दैनिकसँग भने– ‘अनि घरमा लागेको ऋण तिर्न भारत गएको थिएँ ।’

मुम्बई अर्थात् सपनाको सहरमा उनले सोंचे जस्तो सहज थिएन काम पाउन । तर, कामलाई सम्मान गर्ने हरिले मुम्बइको एक निजी कार्यालयमा काम पाए। काम थियो चिया पकाउने र क्याबिनसम्म पुर्याउने। ‘पकाएको भाँडा र गिलासहरु सफा पनि गर्थेँ’, उनले भने।

त्यसपछि उनले स–साना सुटिंग गर्ने कम्पनीसँग जोडिने अवसर पाए । आफ्नो सपना साकार पार्न उनले चिया पकाउने काम छोडेर नयाँ कामतिर लागे । तर बिना तलब काम सिक्न पाउने सर्तमा । ‘त्यतिबेला जब ५ महिनासम्म राम्रो काम सिकेँ त्यसपछि बल्ल कम्पनीको तलब सुरु भयो’, उनले भने– ‘काम चाहीँ प्राविधिक रुपमा सहयोग गर्नुपर्ने, इक्युपमेन्टहरु मिलाउने।’

सोही समयअवधिमा अडियो–भिडियोको दुई वर्षीय अफलाइन कोर्ष उत्तिर्ण गरेको हरिले सुनाए । त्यसपछि सुरु भयो उनका सफलताका दिन । सन् २००३ पछि भारतभित्र मात्र हैन विदेशका जाने अवसर समेत हरिले त्यही बेलादेखि नै पाएका थिए।  उनले भने– ‘विभिन्न इभेन्टहरुलाई प्रत्यक्ष प्रसारण गर्ने क्रममा इंगल्याण्ड, मलेसिया, सिंगापुर, मकाउ, श्रीलंका, बंगलादेश, दुबई, साउथ अफ्रिका, वेस्ट इण्डिज, क्यानडाजस्ता थुप्रै देश पुगिसकेको छु ।’ उनी सन् २०१८ र २०१९ को आइपिएलको प्रत्यक्ष प्रसारणको टोलीमा सदस्य थिए ।

अहिले विश्वभरका करोडौं क्रिकेटप्रेमीहरु आइपिएलमा खेल हेरिरहेका छन् । खेल खेल्ने खेलाडीलाई त सबैले चिन्छन् तर त्यही खेल टेलिभिजनको पर्दासम्म पुर्याउने टिममा सुदूरका छोरा हरिसँग धेरै कम परिचित छन् । नेप ब्रोडकाष्ट सिंगापुर नामक कम्पनीमा रहेर काम गरिरहेका उनी आफ्नो कामबाट सन्तुष्ट छन् ।

तर, सधैँजसो इभेन्टस् नहुने हुँदा खालीसमेत बस्नुपर्ने उनले बताए । ‘काम भए ठीकै हो नत्र खाली समयमा केही पाइँदैन् खाली घरमा बस्नुपर्छ’, उनी भन्छन्– ‘तर ६ महिना काम पाए सालभरीलाई खान लाउन पुग्छ ।’ आइपिएल सकिएलगत्तै फेरि डडेल्धुरा आउने योजना रहेको हरिले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर