तीन जिल्ला जोड्ने सडक विस्तार शुरु

बैतडी । तीन जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ । बझाङ जिल्लासँग जोडिने जिल्लाको महत्वपूर्ण सडकका रूपमा रहेको सो सडकको ट्र्याक विस्तारको काम शुरु भएको हो ।  

बैतडीको गन्नादेखि बझाङको सिमाना गनैखानसम्म २० किलोमिटर ट्र्याक खोल्नका लागि निर्माण कम्पनीसँग सम्झौता भएर काम अघि बढिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए। चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण सेवाले रु सात करोड लागतमा सो सडकमा काम गर्न थालेको हो  ।

गन्नादेखि गनैखानसम्मको सडकलाई पर्यटकीय हिसाबले पनि महत्वपूर्ण सडकका रूपमा लिन सकिने स्थानीय सन्तोष रानाले बताए । उनले भने, “तीन जिल्ला जोड्ने सडकका रूपमा यो सडकलाई लिन सकिन्छ र यसले स्थानीयस्तरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने छ ।” 

सो सडकले बैतडी, दार्चुला र बझाङलाई जोड्ने छ  । डिलाशैनी गाउँपालिका–१ का वडाध्यक्ष अक्कल रानाका अनुसार बझाङको कालङ्गा जलविद्युत आयोजना र चमेलिया जलविद्युत आयोजनाको सर्किट जोड्न पनि यो सडकले महत्वपूर्ण योगदान पुग्नेछ । सडकको ट्र्याक खोल्न दुई वर्षको अवधि रहेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । 

यस्तै डिलाशैनीकै पर्यटकीय क्षेत्रको रूपमा रहेको खुमटसम्मको सडकका लागि रु १० करोड बजेट विनियोजन भएको र यसै वर्षदेखि काम शुरु हुने वडाध्यक्ष रानाले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारको समपूरक अनुदान र गाउँपालिकाको लागतमा सो सडक निर्माण गरिनेछ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर