• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको सामूहिक दाहसंस्कार

वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम  (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो ।

नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाईएको थियो । ६ महीनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताउनुभयो । सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिए ।

“पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई गह«ौं प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरेका छौँ”, अध्यक्ष रनपालले भने । एकै परिवारका नौ जनाको एकैपटक दाहसंस्कार गरिएको यो हृदयविदारक घटना नौलो भएको अध्यक्ष रनपालले बताए । 

दाहसंस्कारका लागि घाटमा पुगेका मलामी तथा आफन्तजन निक्कै भावविह्वल भएका थिए । घटनाले एकै परिवारका नौ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।   वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर