• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

कविता : भुल

बैँसको अन्तिम एपिसोड उक्लेर
जिन्दगिको रहरलाग्दो बेँसिमा
छोडिएका मधुर सम्झना फर्केर हेर्दा
हौ लुङ्गा !
मन, त्यसै–त्यसै बल्झन्छ।
उहिल्यै बैँस छँदा
हामीले के पो गरेनौ हौरु
जितपुरेनी ठुली भनेपछि 
देउमाइको बर्खेली भेल कट्नुपर्ने
माघको चिसो सिरेटो खाँदै फुलुङ्गी मेलामा
धान नाचेरै भालेडाग पार्नैपर्ने
हामीले लाज पचाकै होला हौ लुङ्गा
बिहे भनेपछि 
जितपुरको झिँगा तराईमा झार्नैपर्ने
बरै...

बैँसको अन्तिम एपिसोड उक्लिदा पो झस्किएँ
सिङ्गो बैँस कसो अडिएछ !
बुकि फुल जस्तै फुलेको ठुलिको फुलिमा।
पडाई,
चिठी लेख्ने अक्छर  मात्रै बन्यो
ठुलिको प्रेम पड्दा पड्दै
तिनपल्ट फेल भएपछि कक्षा आठमा
लाजले स्कुल जानै छाडियो
साथिभाइले परदेश जाउँ भन्दा
दौतेरिले लाहुर भिँडु भन्दा
के के निहु बनाएर मानिएन

अ हो ! ठुली नै थियो नि सबथोक त्यतिखेर।
खै हाम्रो भाग्य त
फौदारिमा
फेदापेहरुको खुकुरीले
निधार चिरिएजसरी चिरियो होला
हाम्रो पालाम खोलै खोला गो
हाम्रो पिरती खोलाकै गित भो
आखिर चिल बनेरै आयो रिकुटे
उडाइ लग्यो जितपुरेनी ठुली ।
त्यसपछि त हौ
सपनामा सँधै तमोर उल्टो बग्छ।
प्रेम भनेको 
याङ्नामे मेलामा थापेको
जुवाको दाउजस्तै होला हौ लुङ्गा
बैँसको अन्तिम एपिसोड उक्लेर
जिन्दगिको रहरलाग्दो बेँसिमा
छोडिएका मधुर सम्झना फर्केर हेर्दा
हिम्मत नभएको पिरती 
साँच्चै दाउजस्तै पो लाग्यो
पिरतिको दाउमा ऐले...
न त जिन्दगी नै छ, न त ठुली नै।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर