• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विद्रोहको विस्कुन फैलाएर

ठिङ्ग ठडिएको छ पशुपति
धार्मिक आस्था बोकेर !
वरपर बसेका छन् मगन्ते
भिक्षाको हात पसारेर !!

सगरमाथा सगर चुम्दैछ
नेपालको गौरव ठानेर !
रसायो पसिना हिमालको 
ऋणको लज्जा देखेर !!

मुसुक्क मुस्काउँछ लुम्बिनी
बुद्धको मार्ग भनेर !
उत्पीडित छ विश्वकर्मा
शान्तिको खिल्ली उडाएर !!

अन्नपूर्ण  मुस्काई रहेछ
अदम्य तितिक्षा बोकेर !
फेवाको परावर्तनमा
विदेशी द्रव्य पर्खेर !!

कोशी गड़गडायो बेसरी
आयो पहरा छिचोलेर !
ब्यारेजमा आई सुस्तायो
असमान सन्धि सम्झेर !!

महाकाली रमायो अति
सीमा नदी हुँ भनेर !
झुक्याए नेतृत्व गणले
खरबौंको आश दिएर !!

कलकल बग्दैछ जलधार
ऊर्जाको चारु छोडेर !
भित्रिएको छ कच्चा तेल
ढुकुटी रित्तो पारेर !!

घोटेको छ श्रम जनले
भोक मार्ने एउटै छ रहर !
भरिन्छ द्रब्य उसैकोमा
घप्टीएको छ जसको उदर !!

गाउँदैछ गाथा वीर पुर्खाको
लिपुलेक लग्यो हरेर !
धार लागेन खुकुरीहरुमा
विस्मातले मन भरेर !!

सहेर बसेका छन मनहरु
लज्जा किन्चित लुकाएर !
छरिनु छ फेरि सडक टोलमा
बिद्रोहको विस्कुन फैलाएर !!

-२०७७ आसोज ९ गते, दुवाकोट, भक्तपुर

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर