पर्यटकलाई स्वागत गर्न तयार रहेको सौराहाका पर्यटन व्यवसायीको भनाई

चितवन ।  कोरोना महामारीकाबीच भएको लामो लकडाउनपछि पर्यटकलाई स्वागत गर्न तयार रहेको सौराहाका पर्यटन व्यवसायीहरुले बताएका छन् । ४१ औं विश्व पर्यटन दिवसको अवसरमा क्षेत्रीय होटल संघ चितवनले सौराहामा आज आयोजना गरेको बिशेष कार्यक्रममा पर्यटन ब्यवसायीले यस्तो बताएका हुन् । 
कार्यक्रममा क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईले एक दुईवटा  छाप्रोबाट सुरु भएको सौराहाको पर्यटन व्यवसाय अहिलेको अवस्थामा आएकोमा पुन कोरोना भाइरसको कारणले गर्दा फेरि सुन्यमा झरेको बताएका छन् । उनले अब सन् २०२२ सम्म बाह्य पर्यटक आउन सम्भव नदेखिएकाले यो वर्ष सरसफाई, २०२१ लाई प्रचार प्रसार गरेर सन् २०२२ मा पर्यटक आउने वातावरण बनाउन लाग्नुपर्ने बताए ।

भट्टराईले अहिलेको अवस्थामा चुनौती धेरै रहेकाले केहि समयमा घुमौ चितवन वा घुमौ सौराहा अभियान पनि चलाउन लागेको जानकारी दिदै सौराहा आउने पर्यटकलाई २० देखि ३० प्रतिशत सम्मको छुटको प्याकेजको ब्यवस्था गरिएको बताएका छन् । उनले सौराहा असोज १ गतेदेखिनै खुलिसकेको जानकारी दिदै अहिले ब्यवसायीले कमाउने भन्दापनि व्यवसाय टिकाउन अगाडी बढेको जानकारी दिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाकी उप मेयर बिमला दुवाडीले ६ महिना देखि ठप्प रहेको पर्यटन ब्यवसाय अब सुरक्षित ढंगले चलाउनैपर्ने बेला आएको बताईन । उनले ब्यवसायीले छुट सहितको प्याकेज ल्याउन लागेकोमा खुसी ब्यक्त गर्दै त्यसले पनि पर्यटक आगमनमा टेवा पुग्ने बताउदै नगरपालिकाले यो अवस्थामा के गर्न सक्छ भने सरोकारवाला सबै बसेर छलफल गर्न आग्रह पनि गरिन ।

रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले अब केहि वर्ष बाह्य पर्यटक आउने अवस्था नरहेकाले आन्तरिक पर्यटकमात्रै अबको बिकल्प भएको बताए । उनले सरकारले ल्याउन लागेको हप्तामा २ दिने बिदा दिने नितिले पनि आन्तरिक पर्यटन बृद्धिमा टेवा पुग्ने बताए । 

खतिवडाले अहिले चितवन राष्ट्रिय निकुञ्ज प्रवेशको टिकटपनि खुलिसकेकोले हात्ती सफारी र जिप सफारीगर्न र सौराहामा अहिले सम्म पनि कोरोना भाइरसको बिरामी नभेटिएकाले सौराहा आउन नडराउन आग्रह गर्दै सबै सुरक्षाको उपाए अपनाउदै पर्यटन ब्यवसाय अगाडि बढ्ने बताए ।

युनाईटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषी तिवारीले सौराहामा पर्यापर्यटनलाई अगाडी बढाउन आफुहरु तयार रहेको बताएका छन्।  तिवारीले हालका दिनमा हात्ती सञ्चालनका लागि ३ वटा अवधारणा हात्तीलाई सहकारीकरण गर्ने, हात्ती सेन्चुरी अवधारणा र प्रजननको लागि युवा हात्तीको प्रयोग गर्ने अवधारणा लिई अगाडी बढेको बताउदै पर्यटकका लागि सौराहा खुलि सकेको र हात्ती सफारीका लागि पनि आफुहरु तयारी अवस्थामा रहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर