बागलुङमा पहिरोले ७७ घरमा क्षति, २१५ घर उच्च जोखिममा

बागलुङ। निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाको बागलुङ र जैमिनी नगरपालिकामा ७७ घरमा क्षति पुगेको छ। २१५ घर उच्च जोखिममा छन्।

बागलुङ नगरपालिकामा ६५ घर पहिरोले पूर्णरूपमा क्षति गरेको छ भने १५० घर उच्च जोखिममा छन्।

निरन्तरको वर्षातका कारण नगरपालिकाभित्र बाढीपहिरो तथा जमिन भासिने कारणले ६५ घर विस्थापन भएको र १५० घर उच्च जोखिममा रहेको तथ्याङ्क सङ्कलन गरिएको छ।

पूर्णरूपमा विस्थापित हुने गरी क्षति भएका ६५ घरलाई नगरपालिकाका तर्फबाट एक लाख ५० हजार रूपैयाँ राहत  उपलब्ध गराउने निर्णय गरिको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए।

घर बनाउन सघाउ पुग्ने गरी ६५ घरलाई एक लाख ५० हजारका दरले नगद उपलब्ध गराउने गरी विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो। पौडेलका अनुसार जोखिममा रहेको घरका लागि तत्कालै १५ हजार रूपैयाँ दिइएको छ।

यस्तै जैमिनी नगरपालिकामा १२ घरमा पूर्ण क्षति भएको तथा ५५ घर पहिरोको उच्च जोखिममा परेको नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए।

उनले पछिल्लो वर्षातमा क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै क्षति तथा जोखिम घरको सङ्ख्या बढ्ने बताए। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर