शहरको फोहोर किसानका खेतमा, सधैको एउटै पीर

रतुवा र मावा नदिले किसानलाई चिन्ता, अस्पतालजन्य फोहोर सिधै धानखेतमा

झापा । झापा जिल्ला त्यसमाथि दमक नगरपालिका, प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर । यसो भन्ने बित्तिकै धेरैले दमकमा त निक्कै विकास भएको होला भन्ठान्छन् । तर यहाँको वास्तबिकता अर्कै छ ।

जव बर्षायाम सुरु हुन्छ तब झापाको दमक नगरपालिका वडा नम्बर १० रतुवा र मावा खोला किनारका नागरिकमा निक्कै ठुलो चिन्ता सुरु हुन्छ । बर्षौ अघिबाट रतुवा र मावा खोलामा आउने बाढीबाट सास्ती खेप्दै आएका यस क्षेत्रका नागरिक बर्षायाम शुरु भएसँगै निकै त्रसीत समेत बन्ने गर्दछन । रतुवा र मावा खोला किनारका सर्वसाधारणहरुले यो समस्या भोगेको दशकौ बित्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु प्रधानमन्त्री बन्नु अघिनै पटक पटकको चुनावी सभामा भन्ने गरेको अब रतुवा नदिको पाता फर्काइन्छ भन्ने चुनावी नारा सम्झिएर यहाँका नगारिक रिसले आगो हुने गर्छन ।

रतुवा र मावा नदीले बर्षौ अघिबाट धार परिवर्तन गर्दै दमक १० का दर्जनौ स्थानमा क्षति पुर्याउदै आएको छ । कतिलाई त विस्थापित बनाउनुका साथै सयौ हेक्टर खेती योग्य जमिन बलुवामा परिणत गराउने गरेको छ । दशकौ अघिबाटै यो समस्याको दिगो समाधान खोजी रहेका यस क्षेत्रका सर्वसाधारणहरु फेरि अर्को समस्या भोग्न बाध्य हुनु् परेको छ ।

रतुवा र मावा खोलामा आउने बाढीले माथिल्लो क्षेत्रमा खोला किनारमा बिर्सजन गरेको फोहोर मैला धान खेतीसम्म पुर्याईदिदा यहाँका नागकिर तथा किसानमा अर्को पीर थपिदिएको छ । 
यस क्षेत्र भन्दा उत्तरमा रहेका ठुला दुई शहर दमक र मोरङको उर्लावारी नगरपालिकाले ढलको निकाश सिधै रतुवा र मावा खोलामा गराई दिदा तल्लो क्षेत्रका सर्वसाधारण अहिले यसको असर खेप्न बाध्य हुनु परिरहेको छ ।

शहरी क्षेत्रमा रहेको बजार पसल तथा अस्पतालजन्य फोहोरहरु समेत सिधै यि नदीहरुका विसर्जन गरिदिँदा अहिले दमकको तल्लो क्षेत्रका उर्भर भूमीमा नराम्रो असर गरिरहेको स्थानीय किसान नवराज सुवेदीले गुनासो गरे । 
रतुवा खोलामा आएबाढी उकास भएर खेती योग्य जमिनमा प्रबेशगरे संगै खोलामा बगेर आएको फोहोरले धान खेत पुरै ढाक्ने गरेको सुवेदीले सुनाए ।

अहिले यस क्षेत्रका धेरै किसानका खेतमा प्लाष्टिक तथा अस्पतालजन्य फोहोरले ढाकेको छ । बाढीले खेतमा फोहोरजन्य बस्तु थुपारीदिदा हिउँदको समयमा ति फोहोर व्यावस्थापन गरेर अर्को खेती गर्न निकै चुनौपूर्ण हुने गरेको अर्का स्थानीय किसान योगेन्द्र रिजालको गुनासो छ । रिजाल भन्छन “हामीले यो समस्या भोगेको बर्षौ भयो तर यसको स्थाई समाधान अझै हुन नसक्दा केमिकल युक्त, प्लाष्टिक जन्य तथा अस्पतालबाट विसर्जन गरिएका स्लाईन, तथा सिरीन्जहरु हात खुट्टामा घोच्ने गरेका कारण संक्रमणको अतिनै जोखिममा छौं ।”

यता दमक नगरपालिकाले बजार क्षेत्रको फोहोरलाई बेलडाँगीमा रहेको फोहोर प्रशोधन केन्द्रमा पुर्याउने गरेको भएपनि त्यसको अझै उचित व्यवस्थापन गर्न नसक्दा रतुवामा आउने ठुलो बाढीले पुन त्यो फोहोरलाई दक्षिणी क्षेत्रमै पुर्याउने गरेको जनगुनासो छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर