• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

बढ्न थाल्यो उपत्यकामा भीडभाड, संक्रमणको दर पनि उच्च

काठमाडौँ । कोभिड–१९ को जोखिमकाबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ । 

बाहिरी जिल्लाका सवारी आवतजावत बढेकाले पनि उपत्यकामा मानिसको आवागमनसमेत बढेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । सवारी भित्रिने क्रम बढेकाले मानिसको चहलपहलमा वृद्धि भएको प्रहरीले जनाएको छ । मानिस र सवारीको चाप हुँदा कोभिड–१९ को जोखिम बढेको छ । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या पनि उच्च छ । 

उपत्यका नगरपालिका फोरमका सचिव मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अन्य जिल्ला र उपत्यकाको हकमा एउटै नियम लागू गर्दा कोरोनाको सङ्क्रमण दर बढेको बताए । “हामी उपत्यकाको नाका खोल्न नहुने पक्षमै थियौँ, सरकारलाई सुझाव पनि दिएको हो, तर कार्यान्वयन नहुँदा भीडभाड र सङ्क्रमण दर बढेको छ”, उनले भन , “उपत्यका र अन्य जिल्लामा एउटै नियम लागू गर्नुहुन्न भन्ने पक्षमा हामी छौँ ।”

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले झण्डै २० हजार सवारीसाधान उपत्यका भित्रिने र सोही हाराहारीमा बाहिरिने गरेको छ । सोमबार  उपत्यकामा चार हजार ५८३ सवारीमा १९ हजार ९०० यात्रु भित्रिएका थिए । चार हजार ६९८ सवारीमार्फत २० हजार भन्दा बढी यात्रु बाहिरिएका छन् । फलस्वरुप भीडभाड बढेको महसुस भएपछि आजदेखि भने विशेष आदेशको पूर्ण कार्यान्वयनमा लागेको उपत्यकाको ट्राफिक प्रहरीले जनाएको छ । 

काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणालीअनुसार सवारी सञ्चालनमा छ । सार्वजनिक सवारी साधनले पनि आधा मात्रै यात्रु राखेर हिँड्न पाउँछन् । सवारीले ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको छ । 
 
त्यसैले उपत्यकाको भीडभाड रोक्न विशेष व्यवस्था गर्नुपर्ने जनस्वास्थ्य विज्ञको सुझाव छ । त्यसका लागि पहिलो शर्त भनेको भीडभाड रोक्नु, भौतिक दूरी कायम गराउनु र स्वास्थ्यमापदण्ड पूर्णरुपमा लागू गराउनु नै हो । 
–––

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर