• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नान्दी वा वृद्धि श्राद्धको महत्त्व

श्राद्ध शब्दले पितृहरूलाई सम्झने सम्मान  र गर्ने भन्ने जनाउँछ। श्राद्धको अर्थ हो श्रद्धा । पितृहरूलाई श्रद्धापूर्वक सम्झिएर उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु नै श्राद्ध हो । हिन्दु परंपरामा दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्य श्राद्ध हो । शास्त्रका अनुसार पहिलो पुस्ता पितामाता वसु स्वरूप, दोस्रो पुस्ता हजुरबुबा हजुरआमा रुद्र स्वरूप, तथा तेस्रो पुस्ता बुढो हजुरबुबा बुढीहजुरआमा आदित्य स्वरूप भएर श्राद्ध कर्म स्वीकार गर्छन् भन्ने मान्यता छ।

यसका प्रकारहरु धेरै बताए तापनि यमस्मृति अनुसार नित्य,नैमित्तिक,काम्य,वृद्धि र पार्वण गरेर ५ प्रकारका विशेष वताइएको छ। दिनदिनै गरिने श्राद्ध नित्य हो। एकोद्दिष्टआदि श्राद्ध नैमित्तिकहुन् । मनोकामना पूरा गर्नका निमित्त गरिने श्राद्ध काम्य श्राद्ध हुन्।

धार्मिक कार्य यज्ञ यागादि, विवाह ,चूडोपनयन, चूडाकर्म आदिमा गरिनेश्राद्ध नान्दी वा वृद्धि श्राद्ध हुन्।यस श्राद्धलाई आभ्युदयिक पनि भनिन्छ।पर्वको समय वा पितृपक्षमा गरिने श्राद्धहरु पार्वण हुन्।

हामीहरुले बिरुवा रोपेर त्यसको सुरक्षाको निमित्त बार बन्देज गरेजस्तै यज्ञ यागादि चूडोपनयन, विबाह, ज्ञान,  ध्यान, कर्म,उत्सवीय कार्यगर्दा बिचमा  रजोधर्म, अतिवृष्टि,भूकम्प अनावृष्टि,आकाश गर्जन र सूतकादि दोष लागेर मुख्य कर्ताहरूलाई विघ्नबाधा नपरोस भनी पितृहरूलाई सम्झेर गरिने सम्मान नै नान्दी वा वृद्धि श्राद्ध हो। मात्रादित्रय,पित्रादित्रय,र सपत्नीक मातामहादित्रयका हिसाबले यस श्राद्धलाई तीन भागमा वाडिएकोछ । 

तीन थरि पितृहरू तीन ठाउँमा स्थापना गरिन्छ । तीन थरि पितृहरूलाई सम्मान गरिदिएको भाग पितृसमक्ष पुर्याउन सत्य वसूसंज्ञक नामगरेका विश्वेदेवा ब्राह्मण  पनि साथ साथै स्थापना गरिन्छ। विश्वेदेवाका नाम श्राद्धअनुसार फरक फरक देखिन्छन्। भनिएको छ:
  
इष्टि श्राद्धे क्रतु दक्षौ सत्यौ नान्दीमुखे वसू।
 नैमित्तिके कालकामौ कामे च धुरिलोचनौ।।
 पुरूरवार्द्रवौ चैव पार्वणे समुदाहृतौ।इति

विश्वेदेवाका पूजाको साथै पितृहरूका पूजाको क्रम निम्नानुसार हुन्छन्

मातृश्राद्धं तु पूर्वं स्यात् पितृणां तदनन्तरम्।
ततो मातामहानां च वृद्धौ श्राद्धत्रयं स्मृतम्।

वृद्धिश्राद्ध गर्दा यज्ञीविधिअनुसारकलश,गणेशको पूजा गरी मातृकाहरूको पूजा गरेरमात्र  पितृहरूलाई सम्झेर पूजा गरिन्छ।यसमा वेत्या पार्नहुदैन,भनिएको छ।

अकृत्वा मातृयागं तु यःश्राद्धं परिवेषयेत्।
तस्य क्रोध समाविष्टा हिंसामिच्छन्ति मातरः।।
पुष्पैर्धूपैःस नैवेद्यैर्गन्धाद्यैर्भूषणैरपि।
पूजयित्वा मातृगणं कुर्याच्छ्राद्धत्रयं बुधः।।

वृद्धिश्राद्धका कालको विषयमा मुख्य कर्महरु गर्नुभन्दा पहिले न पहिलो दिन मातृश्राद्ध, दोस्रो दिन पितृश्राद्ध,तेस्रो दिन मातामहहरूको श्राध्द गर्नु भन्ने भए तापनि अशक्त अवस्थामा एकैदिन गरे पनिहुन्छ भनेर निर्णयसिन्धुमा यसरी उल्लेख गरिएको पाइन्छ ।

अलाभे भिन्न कालानां नान्दीश्राद्धत्रयं बुधः।
पूर्वेद्युर्वै प्रकुर्वीत पूर्वाण्हे मातृपूर्वकम्
पृथग्दिनेष्वशक्तश्चेदेकस्मिन् पूर्ववासरे।
श्राद्धत्रयं प्रकुर्वीत वैश्वदेवं तु तान्त्रिकम्।

पितृ श्राद्धमा भूस्वामि र अन्नदानपछि पितृसूक्त पढिन्छ। वृद्धिश्राद्धमा पितृसूक्त पढ्न निषेध गरेको देखिन्छ भनिएको छ ।

पठेच्छकुनि सूक्तंतु स्वस्ति सूक्तंशुभं तथा।
नान्दी मुखान् पितृन् भक्त्या साञ्जलिश्च समाह्वयेत्।।

आफ्नो कुलपरम्परानुसार वृद्धि श्राद्धमा पिण्ड दिन नदिन पनि सकिन्छ।प्रायस् पिण्ड रहितका नान्दीश्राद्ध यत्र तत्र गरेको पाइन्छ। पिण्ड नदिएपनि विकिरको लागि घ्यूमा चामल मलेर दुनामा राखी पितृस्थापना गरेको पूर्वतर्फ आसन राखेर आसनमाथि दुना ठाडै राखिदिने चलन पाइन्छ भनिएको छ ।

पिण्ड निर्वपणं कुर्यान्न वा कुर्याद्विचक्षणः।
वृद्धि श्राद्धे महाबाहो कुलधर्मा नवेक्ष्यतु।।
स्वधा वाचन लोपोऽस्ति विकिरस्तु नलुप्यते।

यसश्राद्धमा श्राद्धाङ्ग तर्पण र अपसव्य हुदैन।तिलको प्रयोग र पितृतीर्थले केही काम गरिदैन। पिण्ड नदिए पनि विश्वेदेवाबाहेक पितृ ब्राह्मणहरुमा अक्ष्योदक दिइन्छ।स्वधा शब्दको ठाउँमा स्वाहा शब्दको प्रयोग हुन्छ। यस कर्मले लामादेखि छोटासम्मका कर्मलाई सम्बोधन गरेकोछ।२१ दिन,१० दिन,६ दिन,३ दिनको सीमासमेत तोकेको छ। तोकिएका समयमा तोकिएको कर्म पूर्णगर्न नसके पूर्व तोकिएकै समयभित्र पुन वृद्धिश्राद्ध गर्नु पर्ने हुन्छ,भनिएको छ । 

एक विंशत्यहर्यज्ञे विबाहे दशवासराः।                          
त्रिषट् चौलोपनयने नान्दी श्राद्धंविधियते।।

     
नान्दी श्राद्ध गरिसकेपछि मुख्यकर्ता भएर बस्नु हुने परिवारहरूमा  बाहेक अन्यत्र परेका उल्लिखित दोषहरु ठूला यज्ञ यागादिमा अवभृथस्नान नगर्दासम्म, विबाह आदि भए चतुर्थीकर्म समाप्त नहुँदासम्म,चूडोपनयन आदिकर्म भए यज्ञको फूलपाति विसर्जन नगर्दासम्म कर्तालाई दोष लाग्दैन । प्रतिज्ञा संकल्पमा  आपातीत सूतकादि दोष निवृत्यर्थं भन्नेशव्द प्रयोगगर्न उचित देखिन्छ। यो श्राद्ध गरेपछि निम्नश्लोका अनुसारका कर्महरुमा ध्यानदिनु अनिवार्य छ।

नान्दी श्राद्ध कृते पश्चाद्यावन्मातृ
विसर्जनम्।दर्शश्राद्धं क्षयश्राद्धं
स्नानं शीतोदकेन च।।अपसव्यं स्वधाकारं नित्यश्राद्धं तथैव च।
ब्रह्मयज्ञं चाध्ययनंनदी सीमाऽतिलङ्घनम्।उपवासं व्रतं
चैव श्राद्ध भोजनमेव च।नैव कुर्युः
सपिण्डाश्च मण्डपोद्वासनावधि।।
                   
तीर्थे विबाहे यात्रायां सङ्ग्रामे दे
श विप्लवे।नगर ग्रामदाहे च स्पृष्ट्वा
स्पृष्टिर्नदुष्यति।।इति निर्णयसिन्धु।

यो नान्दी वा वृद्धिश्राद्ध कर्ताले इच्छा गरेका देवकर्म,ध्यानयज्ञ,ज्ञान यज्ञ,चूडोपनयन,विबाहोत्सव आदि कर्महरू बिनादोष सम्पन्न होउन्  भन्नको लागि बारबन्देजको रुपमा पितृहरूसँग शरणपरेको कर्म हो। श्राद्धगरिसकेपछि भूकम्पादि दोष लाग्दैन भनेको छ ।

भूकम्पादेर्नदोषोऽस्ति वृद्धि श्राद्धे कृतेसति।

तर यज्ञ यागादिमा वृद्धिश्राद्ध गरिसकेपछि का रजोधर्मले श्रीमानलाई दोषलाग्दैन। श्रीमतीले मात्र नियम अनुसार रहनु पर्नेहुन्छ।छोराको चूडाकर्म,उपनयनकर्म,विबाह कर्ममा रजस्वला भएको पाँचदिन नभई कर्म गर्न हुदैन र गर्भिणी भएको समयमा क्षौर कर्म पनि नगर्नु भनिएको छ।

विबाहोत्सव यज्ञेषु माता यदि रजस्वला।तदा स मृत्युु माप्नोति पञ्चमं दिवसं विना।।
पुत्रचूडाकृतौ माता यदिसा गर्भिणी भवेत्।शस्त्रेण मृत्यु माप्नोति तस्मात्क्षौरं विवर्जयेत्।।
गर्भेमातुःकुमारस्य नकुर्याच्चौल कर्मतु।पञ्चमासादधःकुर्यादत ऊर्ध्वंन कारयेत्।।
प्राप्तमभ्युदय श्राद्धं पुत्र संस्कार कर्मणि। पत्नीरजस्वला चेत्स्यान्नकुर्यात्तत्पिता तदा।।

    
नान्दीश्राद्ध भइसकेको भए पनि दश दिन र छ दिन समय तोकेको यसै कारणले हुन सक्छ। पिण्डदानका विषयमा गदाधरभाष्य आदिग्रन्थहरूमा प्रष्ट उल्लेख भएको पाइन्छ। अस्तु।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर