• सोमबार ७-३-२०७७/Monday 10-19-2020/ 10:02 pm

परदेशबाट प्रेषित 'प्रेम पत्र'

प्रिय मन परेको मान्छे,                         
अचेल मलाई मेरो मन तिमीलाई पठाउन मन छ । प्रेम संसारको सबैभन्दा मधुरतम भाव हो । जसरी जीवनका लागि श्वास, त्यसरी नै मुटुको लागि प्रेम । 

तिमी नहुनुको अर्थ भनेको सधैँ शिशिर,  सधैँ पतझड, सधैँ हिमलहर , सधैँ ओसिलो हृदय हुनु हो । जीवनको अनेक रंगहरुसंग खेल्दाखेल्दै कति रंगहरु गाढा भए ,कहिल्यै नमेटिने गरी ,त कति रंगहरु छिन्भरमै मेटेर गयो । हरेक यामसंगै पातहरु नि परिवर्तित भए अनि, सोच्छु ,कतै तिमी पनि त्यहि रंगहरुजस्तै फरक पो भयो कि या त अर्कै रंगहरुमा बिलिन हुन पुग्यो ?

यी हरेक पातहरुमा तिम्रै नाम लेखिसके, तिमीलाई नै गर्ने अजर अनि अमर माया कोरिसके ,हरेक चिसो हावाको झोक्कामा तिमीलाई नै मिठो संदेश गुञ्जाइसके । 

लाग्छ, अब तिमीबिनाको संसार कल्पना मै छैन । हो, यहि रंगिन पातहरुसंगै तिम्रा रंगहरु पनि नियाल्छु, अनि त्यहाँ बस , तिमीलाई नै देख्छु, तिम्रा निर्मल भावनाहरु देख्छु ।जसरी नीलो सागरमा सेता हिमालाहरु देखे जस्तै ,तिम्रै छाया देख्छु ।

तिमीप्रति अथाह माया अनि आसक्ति हुनुमा कुनै कारण थिएन । तिमीबाट प्राप्तीको कुनै स्वार्थ थिएन ।त्यहाँ त बस तिमीप्रति अपार प्रेम थियो ,आफुलाई नै रित्याई सम्पूर्ण तिमीलाई नै समर्प्रित गरुझैँ ।सायद, यति नै काफी छ, तिम्रो मीठो सम्झनाको स्पर्श गर्न।

हरेक झरीसंगै तिम्रो मिठो याद आउने गर्छ । चिसो बताससंगै तिम्रो त्यो सुन्दर अनुहार ,तिम्रा ती आत्मीय भाब, हो , म यही महसुस गर्छु । सायद, शिशिर यामको पतझरसंगै आशाहरु पलाउन थालेका छन् । बादलको छाती चिरेर जब झरी पर्छ ,तब मलाई तिमी जस्तै लाग्छ । त्यो सितल शान्त झरी ,जुन एकनासले झर्दैछ निरन्तर , मात्र मेरो लागि जसरी तिमी छाएका छौ मेरो मन मस्तिस्कमा । एउटा नया किरण वनेर अघि बढ्नेहरुको लागि, के यही माया अजम्बरी होइन र ?

यो चिसो सिरेटो,अनि धुम्म परेको पर्यावरण, लाग्छ, कता कता नमिठो अनुभब ।जताततै हुस्सु र कुहिरो ,भानुको कतै रश्मि छैन।न त न्यानोपनको आभास । अनि त, लाग्छ जिन्दगी नै कठांग्रिने हिउजस्तै । हो, त्यतिबेला, मनमा तिम्रो एक सम्झनाले कति पारिलो बनाईदिन्छ, यो चिसो सिरेटो पनि ।

म कफीको देशमा बसेर पनि कफी नपिउने मान्छे, अझ त कफीको बासना नै मन नपर्ने तर तिमी त कफी सारै मन पराउने मान्छे । तापनि चिंनी अलि बेसी राखेर पिउला भनेर सोच्दै थिएँ तिमीसंग भेट हुदा । तिमीलाई  के थाहा, म कफी होइन दुधचिया पिउछु भनेर । कुराकानी गर्दागर्दै पनि तिमीले केहि हरफहरु लेखिहाल्यो । कति छिटो लेख्न सक्ने रहेछ बाई । तिमीले भनेका थियौ  नि 'यो सब कफीप्रेमको कमाल हो ।' सोंचे, एउटा कफीप्रेमले तिमीले एति  राम्रो  लेखाई कोर्न सक्छौ भने, अरु प्रेमले तिमीलाई के गर्दो होला  ।

जब तिमीले मलाई प्रेम गरेको अनुभूति भयो तब मलाई ‘आफू व्यर्थै जन्मिएको होइन रहेछु भन्ने आभास’ भयो । नीलो आकाशमुनि एउटा नीलो सागर, अनि नीलगिरीमाथि चम्कने एउटा नीलो चाँद । अनि,त्यही चाँदनी सुन्दर छ । साँच्चै तिमीजस्तै सुन्दर ।

सुन न, तिमीलाई एउटा कुरा सोध्न मन छ । के अर्को मान्छे देख्दा तिमीमा पनि त्यस्तै प्रेमको सुन्दर भावना पलाएको थियो जुन मलाई भेट्दा पलाएको थियो ? तिमीलाई देख्दा मात्र यस्तो लाग्छ कि मलाई, संसारको सबै खुसी  मैले नै पाए । तिमीलाई सम्झिदा मात्र नि यस्तो लाग्छ ,मन आनन्द अनि हर्षित । सायद तिमी संगको भेट अविस्मरणीय हुनुपर्छ । लाग्छ, तिमी नै मेरो जीवनको उर्जा हो ,साहस हो प्रगति पथमा लम्किनलाई ,आत्मविश्वास हो, खुसी  भएर जिउनलाई । तिमी आँखासामु हुनु र नहुनुमा केहि फरक छैन अब ।किनकी , तिमी त हरेक स्मृतिमा बसेका सकेका छौ ।मानसपटलमा यसरी समाहित छौ कि, लाग्छ , अब तिमीले नै शासन गरी आफ्नु प्रभाब जमाई रहेका छौ ।

कसैको सम्झना मात्र गर्दा नि यति खुसी हुनू ,सायद तिमी असाधारण हुनु पर्छ, र त, तिमीप्रति यति झुकाब छ । के यो माया हो ? होइन यो माया हुनै सक्दैन, किनकी माया त स्वार्थी हुन्छ,तर तिमीप्रति मेरो कुनै स्वार्थ छैन । छ त मात्र, तिमीप्रति अपार श्रद्धा र सद्भाव। किन हो खोइ ! मलाई त, प्राप्ति मात्रै प्रेम होइन, त्याग पनि स्वीकार्न सक्नुपर्छ भन्ने लाग्छ ।

तर यो स्वार्थी समाजमा हाम्रो प्रेमलाई कहाँ ठाउँ छ र ? भोलिको उज्यालोमा एकाबिहानै काग,गिध्द र सर्प, बिरालो र ब्वाँसो उठ्ने छन् जुरुक्कै र फेरि लुछ्ने छन्, फेरि घिसार्ने छन्, हाम्रो प्रेमको टुसालाई ।अनि, म कसरी भनु, हाम्रो प्रेम यो समाजमा सुरक्षित छ भनेर ? म बसेको ठाउँतिर खुब चिसो बतास चल्छ । सायद तिमी कहाँ पनि पुग्दो हो । यो हुरीसँगै उडेर तिमीकहाँ पुग्न मन छ, सारा मनका कुरा सुनाउन मन छ । तर यो हुरी मलाई छोएर उड्छ, मलाई लिएर उड्दैन।कुरै नगरूँला, कसैलाई नभनूँला, तर हाम्रो प्रेम त कुँदिएका छन्,रहिरहन्छन् रहिरहुन् पनि किनकी कुँदिएको मेट्न त अर्को खत सहनुपर्छ ।

तिमीलाई थाहा छ? जब तिमीले मुसुमुसु हाँसी दिएका थियौ नि, पहिलो भेटको मुस्कान,अझै अमर छ ।धेरै वर्षसम्म नि तिमी नआउँदा, कतै फर्कीआउँछौ कि भन्ने आशमा मिरमिरेदेखि झपक्क साँझसम्म तिमी हिंड्ने बाटोहरुमा ओहोरदोहोर गरिरहन्छु। तिमी गएपछि बनेको  यस युगको सबै भन्दा निरङ्कुश प्रेमिका म,अँध्यारो कोठाभित्र झ्यालको प्वालबाट छिरेको किरणले एउटा उज्यालो रेखा बनाउछु, जुन रेखामा अलौकिक खुड्किला बनाएर,म अक्षरमा ज्वारभाटा देख्छु ।अध्यारोमै अध्यारोले अध्यारो आकृति बनाउछु तर म देख्न सक्छु तिमीलाई त्यहा पनि। टेबलमाथी छरपस्ट किताबहरु छन, किताबबाट उडि रहन्छन अक्षरका झिल्काहरु, यी अक्षरहरुको परितप्तता सङ्ग्रह गरेर म तिमिलाइ लेख्न रुचाउछु ।

सम्बन्धहरु टुक्रा(टुक्रा भएर फुटून्, अप्ठेरा शृंखलाहरु चाङ बन्दै जाउन, गोमनसाप, चील र गिद्ध बनेर दिमाग लुछून्, र जिन्दगीको सङ्घर्षमा एउटा पहाडजस्तै बनेर उठून्, तैपनि मनहरु हिम्मत हार्दैनन्, तीनै बाटोहरु हिड्न किनकी मभित्र उदाउँदो सूर्य, हाँसिरहेका हिमशृंखलाहरु, स्वच्छ हावा ,हरियाली वाताबरण, कलकल बगीरहेको पानी, चिरविर चराहरुको आवाज ,म ब्युँझिदा न्यानो घामजस्तै पोखिने  तिम्रो 'मुस्कानु म माथि छ, अनि तिम्रो प्रेम छ ।

अस्ति मात्र पनि नेपाल छोड्नु अघि,मैले एरपोर्टभित्र एउटा कफी शपबाट दुधकफी लिएँ । त्यो दुधकफीको स्वाद धेरै फरक लाग्यो , धेरै थोकको स्वाद( खुशी, पीडा, बिछोड, सम्झना । सोंचे( एउटा कफीको पनि यति धेरै स्वादहरु थिए मेरा लागि, तिमी  त प्राय कफी पिउने मान्छे । के , तिमीले  पनि हरेक कफीसंग विभिन्न स्वादहरु पाउछौ  या त मात्र एउटा स्वाद ? म एकछिन सोचीरहे ( तिम्रो  कफीप्रेमको बारेमा । त्यतिबेला हिमालजस्तै खुलेर अनि, सगरजस्तै उर्ल्रेर ,घाम जस्तै फिजेर ,हावाजस्तै बगेर, तिम्रो त्यो डिम्पल पर्ने गलाभरीको मुस्कान पनि सम्झॆ । शिशिर यामको पत्झर अनि चिसो यामको मौसममा ,लाग्छ,यी धर्तीभरि झरेका पहेला पातहरु ,मात्र, मौसमी परिवर्तनको संबाहक मात्र होइनन । हरेक पात,एउटा नया आशा अनि उमङ्ग लिएर आएको छ।माया सद्भाव अनि प्रगतिपथमा लाग्ने  एउटा नया उजेली आएको छ, एउटा नयाँ रश्मि आएको छ।

म भित्रको यो अद्भूत खुशी,अदम्य साहस अनि  जीवन्तताको आभाष। संसारकै अमुल्य अनुभूति ,यति स्निग्ध ,यति निश्चल भाव, खोइ कुन हृदयबाट पलाउँछ होला  ? सायद तिमीलाई भेटेपछि यस्तो अनुभूति भयो। यति मिठो यति न्यानो ,सायद , पहिले नै आत्माले स्पर्श पाएको भए ! जीवन स्वर्ग हुन्थ्ये ।  सुन्दरता आँखाभरि, आशा  मनभरी अनि,जीवन सफलीभूत हुने थियो। 

समयको पंख चढेर  जीवनको हरेक पल स्वर्णिम अभिरूप बन्ने थिए।  साँच्चै ! तिमीसंगै अनि तिमीजस्तै ! तिमी नआउँदा अनि तिम्रो उपस्थितीबिना , यो बिरानॊ शहर रंगिन भएर पनि कति फिक्का थियो। अनि तिमी एकदिन त पक्कै आउछौ भन्ने आशामा जीवनका दीपहरु बाल्दै थिएँ। हरेक  सिन्दूरी साँझ ,सिमसिम पानी, उजेलीको इन्द्रेणी, चिसॊ पवनको झोक्का ,तल नदीको हरेक बुँदमा झंकार। माथि हरियो डाँडामा जलिरहेको रक्तिम दरबार, सबै कति नराम्रा थिए तिमीबिना। यो पल, यो  मौसम यो साथ ,कल्पन्थें म ।

साँच्चै ! कति सुन्दर कति रंगीन हुन्थ्यो होला हाम्रो समय। तातॊ कापूचिनॊसंगै जमेको न्यानॊ अनुभूति। पानीका हरेक थोपामा टल्केका हरेक बिम्ब  हरेक छायाँ त्यसैमा समाहीत छन् ,अनि मेरा हजारौं सपनाहरु, रहरका लहरहरु सुदूरकी सुन्दरीझैं किनाराबाट टोलाएर हेर्छन। गहिरिएर हेर्छु म जीवनको जीवन्तता। त्यही रंगमा मुस्कुराएका ती मनहरु ,शब्दका गुच्छाहरू उडेका थिए। स्वतन्त्र भएका शब्दभित्रका वाक्यहरू,त्यहीं चिसाम्य साँझमा ,निसङ्कोच निर्विघ्न भए। हो यतिबेलै लागेको हो म जीवन बाँचिरहेछु शब्दहरूको देशमा,जहाँ छैनन् केहि अहंकार, विरक्तका अध्यायहरु। 

छन् त केवल नयाँ उजेली जहाँबाट सुरुवात हुन्छ एउटा सुन्दर जीवनचित्र । साँची ! धेरै सुन्दर तिमीजस्तै ! तिमीलाई सम्झिन्दा मात्र अनि तिमीसंग बिताएका ती हरेक पल नियालेर हेर्दा यस्तो लाग्छ की उँदाउने सूर्यको कोमल प्रकाश हो अथवा मध्य सूर्यको राप हो,शितल जूनको छाँया हो या बिउँझिएरै देखिने मिठो स्वप्न हो ?  प्रिय मन परेको मान्छे , जब म शिशिरमा झरी देख्छु  नि ,त्यो  पानीको हर बूँदमा तिम्रो मुस्कान देख्छु । त्यही बूँदको निश्छलता जस्तै,तिम्रो मन नि त्यस्तै र त निलॊ पानी  र तिमी उस्तै लाग्छ,जति छचल्कियो  उति राम्रो ,जति हेर्यो उति सुन्दर।  बरु आऊ न तिमी पनि यो पानी  बनेर बग्दै बग्दैमिठो धून बनेर, त्यो महादीपबाट सुदुर । अनि म एकएक बुँद मनको बलसीमा समालेर राख्छु नि,यो उराठ ग्रिष्म याममा, हुन्न र ?

लालीले ओठ सजाएर जब म  गलल हास्ने गर्छु तब सोध्थ्यौ नि तिमीले किन हाँसेकी नक्कली भनेर ? साँची नै फूलजस्तै सुन्दर देखिन्छ नि ,त्यसमा नि सजीवता हुन्छ । तर त्यसभित्रको कथा त नभनिकन के थाहा हुन्थ्यो र !

अनेकअनेक बहानामा तिमी सोध्छौ नि मौरीले खिल गाड्यो भने फूललाई दुख्दैन भनेर ? म भन्थें नि अनि बरु तिमि त्यही मौरीलाई नै सोध न ल किनकी मान्छे त कुरा लुकाउन अनि पर्दा हाल्न सिपालु छ नि। रस लिन होस् या दिन फूलले कहाँ जानेको हुन्छ र नि ? त्यो त खोसेर लिने गरिन्छ। खोसेको कुरा कसलाई पो मन हुन्छ र ? अनि तिमी  सोध्छौ की एकपटक बसेको फूलमा फेरि मौरी बस्छ कि बस्दैन होला ? हो आजकल मलाई मौरी देख्यो की कति प्रश्न सोध्न मन लाग्छ। पत्झरमा,के तिमीले कहिले कोपिला फक्रेको देखेका छौ ? फूलको रस अनि मायामा कति धेरै फरक हुन्छ। के तिमीले सुन्दर गुलाब नटिपी बसेका छौ ? कहींबाट यस्तै यस्तै कुराको याद आउछ अनि मलाई। माया त सधैं शान्त र एकतमासले चल्ने  बतासजस्तै पो हुनपर्छ जस्तो लाग्ने के। स्पर्श गरिरहने अनि सधैं साथ रहेको आभास गराइरहने !

धेरै समय सम्म नि कुरा नहूँदा भन्ने गर्थ्यौ नि तिमीले की बरू देख्नसके एकपटक फुटेकोओठ भए नि देख्नपाउ। फुटेको होस या त उछ्रेको होस ओठ, के पो फरक पर्ला र नि भनेर ! तिमीलाई अन्तिमपटक देखेको त सात समुद्रपारी उड्न लाग्दा हो क्यारे।  सायद त्यतिबेला  गुलाबी लाली नभैकन , अलिकति मुस्कान, अलिकति पिडा थियो।  आजकल त  कहिले सुख्खा, त कहिले फुटेको। आफैलाई नढाटीकन भन्नु पर्दा  ओठको रसिलोपन, त्यो नरमपन ,कता हरायौ आजकल खोइ ? 

अलिकति  त त्यतै कतै बिर्सिएँ कि ! 

केहि त जिन्दगीको यात्रा अनि रहरबीच गुम्सियो होला। हल्का मरुन लालीले बनाउने त्यो  छुचीपन अनि त्यो कलेटीओठ आजकल  त्यति देखिन्न। यो  चिसॊ मौसममा  फुटेकै सहि बरु ओठ तर  कलिला रहर चाहिं फुटाकी छैन।  किनकी त्यो ओठमा  तिम्रो  पनि अलिकति हाँसो मिसिएको छ।तिमीले भनेका थियौ नि , लेख्दै जाऊ तिमी  अझै , सायद तिमीलाई मैले लेखेको पढ्ने रहर थियो, तर मेरा विचार त्यही कलमको मसीजस्तै जमेको छ । हो, त्यही बेला जम्नु र पग्लनु शास्वत हैन, मान्छेकै नियन्त्रणको विषय हो । तिमीमा जम्ने रहर छ कि पग्लने ? भन्दै वैज्ञानिक शास्त्रार्थ गर्न आइपुगेका थियौ नि तिमी । हुन त हाम्रो भेट चौवाटोमा भएको हो । मान्छे दोवाटोलाई क्षणिक मिलन वा विछोडको विन्दु मान्छन् भने म हाम्रो भेट भएको विन्दुलाई चौवाटो भन्न रुचाउँछु । दोवाटोमा छुट्टिएकाले त कम्तिमा चाल पाउँछन्, त्यसपछि को कता गयो । चौवाटोका यात्रीलाई त को कुन दिशामा गयो भन्ने पनि थाहा हुँदेन । कताबाट आएको थियो भन्ने पनि हेक्का हुँदैन ।

गन्तव्यलाई हरेक पाइलाको योगफल सम्झने तिमी  चौवाटोको मिलनमा पनि अथाह सम्भावना देख्छौ। ‘एक सेकेन्ड चम्किने विजुलीको अर्थ छ । घाम, पानी र प्रकाशको दुर्लभ संयोग ईन्द्रधनुष बन्छ । त्यहि अल्पायु ईन्द्रधनुषले मान्छेलाई कालजयी कवि बनाउने सामथ्र्य राख्छ भने यो समयले किन हामीलाई केही नदेला र ? मुख्य कुरा उपयोग गर्नेको हातमा छ,’ तिम्रा तर्कशील कुराले मेरो वैचारिक शक्ति बौरिन थालेको थियो ।  तिम्रा यस्ता महाबाणीले त हो नि , ममा यत्रो साहस आएको।

तिमीलाई याद छ ? कुनै बेला हामी कस्ता थियौं। त्यो बेला भर्खर बसन्त ऋतु आएको  थियो जब हामी हाइकिङ्ग गएका थियौं । आजैको दिन थियो क्यारे। मौसम राम्रै थियो बिहानसम्म । हामी पुरै पहाड छाडेर सुनसान जंगलमा पुग्यौं तब फुरुरु हिउँ पर्न थालेको थियो । माथी धेरै उचाईमा पुग्दा कति रमाइलो भएको थियो ! त्यसपछि हामी लगातार तीन घण्टा हिउँपानीमा रुझेर तल झरेका थियौं । अनि बीच बाटोमा बाटो पनि बिराएका थियौं  ।  त्यतिबेलासम्म त पुरै पहाड नै सेतामे भैसकेको थियो ।

धन्न !
हामी समयमै तल झर्यौं। सायद नझरेको भए, हाम्रो अन्तिम ट्रेन पनि छुटी सक्थियो । अनि हामी त्यतै अलपत्र पर्थियौं होला। चिसॊ यति थियो कि लुगलुग कामेको हातले तातोतितो कफी पनि एक घुट्कोमा पिएका थियौं। हामीले त्यति बेलाको त्यो कफीको स्वाद नै थाहा पाएनौं । मात्र त्यतिबेलाको त्यो मुटु काप्ने चिसॊको याद छ, अनि त्यो सिरेटोको अनुभब छ।मलाई अझै पनि याद छ ती सबै कुरा। तिमीले त बिर्सिसक्यौ होला है।

तिमी त अब अन्नपुर्ण हिमाल अनि माछापुच्रे हिमालसंगै रमाउन थालिसक्यौ होला। अस्ति म नेपाल आउँदा नि हामी फेरी हिमाल जान सक्थियौ, तर  पुरै शहर लकडाऊनमा पर्यो र हामीले त्यो मौका गुमायौं।अहिले फेरी नि दशैं को माहोल छ क्यारे त्यतातिर।  यता पनि शिशिरको चिसॊ बढेको छ।  पातहरु झर्न थालेको छ। कहिलेकाहीं साँझमा हिड्दा , तिनै पातहरु बटुल्दै हिड्छु । अनि तिमीले भनेका कुरा नि याद आउछ। तिमीले सोधेका थियौ नि 'तिमीले पातलाई छुँदा पातले केही भनेन, रश्मि ?' भनेर। अनि मैले भनेकी थिएँ नि तिमीलाई  'तिमीले छोइरह्यौ भने त, म पनि ओइलाउँदिन होला,' भन्यो पातले भनेर । तिमीले नि भनेका थियौ नि 'सुन्दर हातले छोएको चिज मनमा गएर रोपिन्छ रे अनि मनमा रोपिएको चिज कहिल्यै ओइलाउदैन रे।'  त्यही भएर आजकल मलाई नि तिम्रो सम्झनाहरु छोईरहन मन लाग्छ नि।

मन कति चन्चल छ । राम्रो देख्यो, मन परिहाल्ने अनि मिले आफ्नो बनाउन पनि खोजी हाल्ने । हामीबीच शब्दका भेटहरु, मनका बिश्वासहरु, गीतबिनाको मिठो संगीतजस्तो भएर जीवनका तितामिठा मुस्कानहरु साटीए ।अलिकति तिम्रो, अलिकति मेरो ।किन यति मिठा हुन्छन् साईनो बिनाका सम्बन्धहरु ? तिमीसँगका उदारा सपनाहरु आशालाग्दा भए पनि,तिनले पिडा दिएनन् भने, भेटीनु नभेटीनु के भो र ? बस यति चाही पक्कै थाह छ कि, म तिमीलाई प्रेम गर्छु र गरिरहने छु ।
उही तिमीलाई माया गर्ने 
छुच्ची ।
रस्मिला  कवाङ  'रश्मि'
जर्मनी ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आशु कविता प्रतियोजिता जुम प्रविधिबाट सम्पन्न

  • २३ असोज, २०७७

काठमाडौं ।  विद्यालय तहको कक्षा १० सम्मका विद्यार्थीका बीचमा कार्यक्रममै कविता लेखी वाचन गर्ने आशु कविता प्रतियोजिता जुम प्रविधिबाट सम्पन्न भएको छ

कोभिड–१९ पछिका बिष्णु दाइ र राधिका भाउजु

  • १८ असोज, २०७७

बिष्णु दाइको आफ्नो प्राण भन्दा प्यारी श्रीमती राधिका भाउजु कोभिड–१९ को संक्रमणका कारण राजधानीमा परलोक भइन् । पत्नी वियोगबाट भौतारिंदै बिष्णु दाइ

 नेताहरु ! तिम्रो जिन्दगी 

  • १७ असोज, २०७७

नेताहरु हो ! खान नहुने  खायौ उम्लियो, पोखियो केही सोहोर्यौ केही बिलायो केही उठायौ। नेताहरु हो! आश्वासन  बाड्यौ धेरै  पायौ, मात्तियौ जादुगरको