• आइतबार ९-१-२०७५/Sunday 12-16-2018/ 11:38 pm

‘म माथि ६ जना लडाकुले पटक–पटक बलात्कार गरे'

‘म आफ्नो कथा सुनाउन कुनैपनि देशमा जान तयार छु’

एन्जेसी । यस वर्षको नोबेल शान्ती पुरस्कार कंगोका महिला रोग विशेषज्ञ डेनिस मकवेज र याजीदी महिला अधिकार कार्यकर्ता नादिया मुरादले पाएका छन् । 

नादियालाई यो पुरस्कार बलात्कार विरुद्ध जागरुकता फैलाएकोले दिइएको हो । २५ वर्षीया नादिया मुरादलाई लडाकु संगठन इस्लामिक स्टेटले सन् २०१४ मा अपहरण गरेको थियो । तीन महिना सम्म बन्धक बनाइएकी उनीमाथि आइएसका सदस्यले बलात्कार समेत गरेका थिए । 

नादियाले बीबीसी रेडियोको कार्यक्रम आउटलुकमा आफुनो भोगाइ सुनाएकी थिइन् । के भनेकी थिइन् नादियाले आउटलुकसँग पढौँ उनकै भाषामा:

 


इस्लामिक स्टेटको उदय अघि म मेरी आमा र भाई बहिनीसँग उत्तरी इराकको शिंजा नजिकै कोचु गाउँमा बस्थेँ हाम्रो गाउँमा धेरैजसो मानिस खेतीमा निर्भर थिए । त्यतिबेला म कक्षा ५ मा अध्ययनरत थिएँ । 
करिब १७०० मानिस थिए हाम्रो गाउँमा । सबैजना मिलिजुली शान्तीका साथ बस्थे । आइएसले शिंजा वा हाम्रो गाउँमा हमला गर्दैछ भनेर त्यस्तो कुनै संकेत थिएन । 

यो सन् २०१४ अगष्ट ३ को कुरा हो । आइएसले याजीदी समुदायमाथि आक्रमण गर्यो । केहि मानिस माउन्ट शिंजातिर भागे । तर हाम्रो गाउँ निकै टाढा थियो । हामी भागेर कहिँ जान पनि सक्दैन थियौँ । हामीलाई ३ देखि १५ अगष्टसम्म बन्धक बनाइयो । 
आइएसले ३ हजार मानिसको हत्या गरिसकेको र ५ हजार महिला तथा बच्चाहरुलाई आफ्नो कब्जामा लिएको खबरहरु आउन थालेको थियो । चरमपन्थीहरुले हामीसँग भएका हतियारहरु कब्जा गरे, हामीले केहि गर्न सकेनौँ । हामी पूर्ण रुपमा घेरियौँ । हामीलाई दुई दिनभित्र आफ्नो धर्म परिवर्तन गर्नका लागि चेतावनी दिइयो । 

अगष्ट १५ को दिन म परिवारसँग थिएँ । हामी निकै डराएका थियौँ । त्यो दिन झण्डै एक हजार आइएस लडाकु हाम्रो गाउँमा आए र हामीलाई स्कुलमा लिएर गए जहाँ दुई तल्ला थियो ।
पहिलो तल्लामा उनीहरुले पुरुषहरुलाई राखे र दोस्रो तल्लामा महिला र बच्चाहरुलाई राखे । उनीहरुले हामीसँग भएका मोबाइल, पर्स, गहना, पैसा सबै लुटेका थिए । पुरुषहरुमाथि पनि उनीहरुले त्यहि गरेका थिए । यसबीचमा उनीहरुका नेता ठूलो आवाजमा चिच्याए, ‘जो जो इस्लाम धर्म मान्न चाहन्छन् कोठा छोडेर बाहिर निक्ल’ । 

तर हामीलाई थाहा थियो कोठा छोडेर जानेहरुलाई पनि उनीहरुले मार्थे , किनकी याजीदीबाट इस्लाम बनेकाहरु असली मुसलमान होइनन् । इस्लाम धर्म कबुल गरेर मर्नुपर्छ भन्ने उनीहरुको मान्यता थियो । 
महिला भएकाले हामीलाई मार्दैनन् तर अरुनै कामको लागि प्रयोग गर्छन् भन्नेमा म विश्वस्त थिएँ । 

जब उनीहरुले पुरुषहरुलाई स्कुल बाहिर लगे त्यतिबेला ठ्याक्कै के भयो भन्ने चाहिँ थाहा छैन तर हामीले गोली चलेको आवाज सुन्यौँ । तर को को मारिए हामीलाई थाहा थिएन । 

लडाकुहरुले को बच्चा, को बुढा केहि हेरेनन्, सबलाई एक एक गर्दै मारे । जब पुरुषलाई मारिँदै थियो त्यतिबेला हामीलाई अर्को गाउँमा लगियो । हामीलाई अलग अलग समूहमा बाँडियो । युवा महिलालाई एक समूह, साना केटीहरुलाई अर्को समूह र बाँकी महिलाको एउटा समूह बनाइयो । सबै समूहका लागि उनीहरुसँग छुट्टै योजना थियो । साना केटीहरुलाई उनीहरुले प्रशिक्षण शिविरमा लगे । विवाहका लागि योग्य नठानिएका महिलाको हत्या गरे, यो समूहमा मेरी आमा पनि थिइन् । 

त्यो रात हामीलाई उनीहरुले मोसुल लगे । हामीलाई लैजानेहरु तिनै थिए जसले मेरी आमा र भाइहरुको हत्या गरेका थिए । मोसुलमा उनीहरुले हामीमाथि बलात्कार गरे । म केहि सोच्न सक्ने स्थितिमा थिइन । 
उनीहरुले हामीलाई इस्लामिक अदालतमा लगे जहाँ हरेक महिलाको फोटो खिचियो । मैले त्यहाँ हजारौँ महिलाको फोटो देखेँ । हरेक फोटोमा एउटा एउटा फोन नम्बर थियो । त्यो फोन नम्बर जो लडाकुको थियो तिनले ती फोटोमा भएकी महिलाको जिम्मा लिन्थे । आइएस लडाकु अदालत आउँथे तस्बीरमा भएका महिला हेर्थे र आफुलाई मनपरेका महिला खरिद गर्थे । कतिपय अवस्थामा भाडामा दिइन्थ्यो त कतिलाई उपहार स्वरुप लडाकुलाई दिइन्थ्यो । 

हामीलाई लडाकु समक्ष लगिएको पहिलो रात मेरो अगाडि एकजना मोटा लडाकु थिए । मलाई उनले मनपराएका थिए । तर मलाई उनी पटक्कै मन परेन । मैले उनीसमक्ष धेरै बिलौना गरेँ गिडगिडाएँ तर उनले मेरो केहि सुनेनन् । 

एक हप्तापछि मैले त्यहाँबाट भाग्ने प्रयास गरेँ । तर म सफल भइन । उनीहरुले मलाई अदालत लगे । सजाय स्वरुप म माथि ६ जना लडाकुले बलात्कार गरे । तीन महिनासम्म म यौन उत्पिडनको शिकार भइरहेँ । यो तीन महिना मैले भाग्ने कुनै मौका पाइन । एकदिन मसँग एकजना मात्र लडाकु थिए तर उनी मलाई बेच्ने उद्धेश्यले मेरो लागि नयाँ कपडा किन्न गए । त्यहि मौकामा म त्यहाँबाट भागेँ । म भाग्दै एउटा घरमा पुगेँ । त्यहाँ ढोका ढकढकाएँ उनीहरु मुस्लिम परिवार थिए । मैले आफ्नो कहानी सुनाएँ । उनीहरुले मलाई कुर्दिस्तानको सिमासम्म पुग्न मद्धत गरे । 

म त्यहाँ शरणार्थी शिविरमा बसेँ । त्यहाँ मलाई कसैले म माथि के भएको सोधेनन् तर म दुनियाँलाई सुनाउन चाहन्थेँ म माथि के भयो र मैले के भोगेँ । मोसुलमा महिलामाथि के भइरहेको छ सब सुनाउन चाहन्थेँ । मसँग पासपोर्ट थिएन र कुनै देशको नागरिकता पनि थिएन । कयौँ महिना म कागजपत्र पाउनका लागि इराकमा बसेँ । 

यसैबीच जर्मन सरकारले हामी बसेको शिविरका एकहजार जनाको मद्दत गर्ने घोषणा गर्यो । म तिनै एकहजार मध्येकी हुँ । मलाई उपचारका क्रममा एक संगठनले संयुक्त राष्ट्रसंघमा गएर आफ्नो भोगाइ सुनाउन भने । म आफ्नो कथा सुनाउन दुनियाको कुनैपनि देशमा जान तयार छु । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चोभारमा मञ्जुश्री

  • २९ मङ्सिर, २०७५

कीर्तिपुरको चोभारमा निर्माण गरिएको मञ्जुश्रीको मूर्तिले यहाँको शोभा बढाएको छ । ढुङ्गाबाट निर्मित ३३ फिट अग्लो उक्त मूर्तिका कारण पर्यटकसमेत

मुक्तकमैयाको दुखेसोः 'ओत लाग्यौँ तर भोक मेटिएन'

  • २८ मङ्सिर, २०७५

भीमदत्तनगर । वाणी मुक्तकमैया शिविरका बिप्टी चौधरीले घर खर्च चलाउन बस्ती छेउमै रहेको मछेली नदीमा बालुवा छान्न थालेको दशक बितिसक्यो ।  विसं २०५८

नगरपालिकाको वेवास्ताः कहाँ छन् अमरगढी किल्लाका हतियार ? 

  • २७ मङ्सिर, २०७५

करन ताम्राकार/डडेल्धुरा । एेतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ । सहिद भीमदत्त पन्तको जन्मथलो भएका कारण र त्यसपछिका