• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

६ वर्षीय छोरीको प्रश्न : 'मामु बलात्कार भनेको के हो ?'

सधै झै बिहान उठेर आफ्नो नियमति काममा लाग्दै थिए । छोरी उहि उत्साहका साथ उठिन् र अंगालो हालिन ।  बिहानीको समय मेरा लागि ऊर्जाशिल र उत्साहजनक समय हो ।  तर आजको बिहान मेरा लागि अलिक निरासाजनक र भिन्न भयो । 

मेरी छोरी ६ वर्षकी छन् । स्वभावैले यस उमेरका बच्चामा विभिन्न प्रश्नका उत्तर जान्ने उत्सुकता हुन्छ ।  मेरी छोरी पनि मलाई बिहान देखि रातसम्म विभिन्न प्रश्न गर्ने गर्छिन । मलाई उनका प्रश्नको उत्तर दिनमा निकै रमाइलो लाग्ने गर्छ । तर आजको बिहान मेरी छोरीले म सामु तेर्सयाएको प्रश्न थियो मामु बलात्कार भनेको के हो ?  जब बिहानै मेरी छोरीले उठ्नासाथ मेरो सामु प्रश्न राखिन मेरा ओठ थर्थरायो , मुटु भुक्क फुल्यो र पेट भत्भत् पोल्यो । उस्को निर्दोश ओठले सोधेको यो प्रश्नको उत्तर आज मेरा लागि यति गाह्रो थियो कि फलामको चिउरा चपाउनु जस्तो । उन्ले सोध्ने हरेक दिनको प्रश्नमा मैले जानी नजानी कुनै जवाफ दिने गर्थे तर आज बलात्कारका विषयमा मैले मेरो छोरीलाई के भनेर सम्झाउ ? बलात्कार गर्ने व्यक्ति कस्ता हुन्छन् भनौ ? सबै पुरुष बलात्कारी हुन् छोरी भनौ भने म आफै अपराधी हुला ।

यस्ता जात, धर्म तथा उमेरका हुन्छन् भन्ने पहिचान पनि छैन । म अवाक भए । छोरीलाई कसरी भनौ छोरी तिमीलाई म यस्तो देशमा जन्म दिएकी छु जहाँ तिमी हरेक पल जो कोहीबाट असुरक्षीत हुन सक्छयौ । छोरीलाई कसरी भनौ सबै पुरुष बलात्कारी होइनन् तर सबै पुरुषका सामु तिमी सुरक्षीत छैनौ ।  हिजो राती टेलिभिजनमा १२ वर्षिया बझांकी सम्झना वि.क को बलात्कार पछिको हत्याको समाचार मैले हेरिरहेको सायद मेरी ६ वर्षे छोरीको कानमा परेको थियो त्यसैले होला उन्ले मलाई बिहान उठ्नासाथ बलात्कारका विषयमा प्रश्न गरेकी । अब म कसरी सम्झाउ उन्लाई सम्झना जस्तै यो समाजमा  तिमी पनि पल पल असुरक्षीत छौं भनेर । घर , समाज, विद्यालय जहाँ पनि अपराधीक मानसिकता बोकेका व्यक्ति हुन सक्छन् भनेर म मेरी छोरीलाई कसरी सम्झाऊ ? 

कसरी सम्झाउ म मेरी छोरीलाई तिमी नाता सम्बन्ध भएका देखि समाजका जुनसुकै व्यक्तिबाट पनि असुरक्षीत हुन सक्छौं भनेर । कसरी भनौ म उस्लाई अपराधीक मानसिकता भएका राक्षसले तिमीलाई एउटा चकलेटको बदलामा चुडाउन सक्छन् भनेर ।  यि सबै कुरा सम्झाउ भने मेरी छोरीले मलाई फेरि प्रतिप्रश्न गर्लिन मामु म सुरक्षीत कहाँ छु भनेर ? म मेरी छोरीलाई कसरी भनौ तिमी जस्ता कलिला कोपिलाहरु को बलात्कार पछि हत्या हुन्छ अनि अपराधीले कानुनलाई पैसाले किन्छ ।

यो समाजका राक्षसले फर्किन नपाउँदैको कोपिला चुडेर फाल्छ तर देशको कानुन यति फितलो छ कि सकभर घर समाजमै मिलाउने नभए जम्मा २० वर्षे जेल सजाय । एकातिर हाम्रो समाजको हालत उस्तै छ एउटी छोरी बलात्कृत हुन्छे अनि घटनालाई समाजका व्यक्तिहरुबाट मिलाउने कोसिस गरिन्छ । छि कस्तो सुन्दा पनि लाजमर्दो । बलात्कार जस्तो जघन्य अपराधलाई समाजका मानिसहरुले अर्कै मोड दिएर अपराध लुकाउन खोज्छन् के ति पनि बलात्कारी भन्दा कम छन् र ? महोदय ! तपाइकी छोरीलाई कसैले बलात्कार गरेर पैसामा मिलाउछ भने तपाईमा के बित्छ तपाई सोच्न सक्नुहुन्छ ?  ति छोरी माथि के बितेको होला ? हो यस्तै यस्तै कारणले गर्दा आज पनि हाम्रो समाजमा अपराधिक मानसिकता बोकेका मानिसहरु कानुन देखि नडराएका । देशमा यस्ता अपराधीलाई यस्तो कानुन ल्याउनु जरुरी छ की अपराधी जिवनभर मर्नु न बाच्नु भएर तड्पिराखोस्  ।

 २० वर्षे जेल सजाय त अपराधीका लागि जेलमा बसेर खाने सजिलो कानुन भो । मृत्युदण्ड दिइने कानुन ल्याइयो भने पनि अपराधीले सजिलै यो संसारबाट विदा पाउँने भयो । त्यसैले यो देशमा यस्तो कानुन आउनु जरुरी छ ताकी यस्ता अपराधीहरुले कसैमाथी कुदृष्टि समेत लगाउने आँट नगरुन् । हाम्रा छोरीहरु चाहे जुनसुकै समयमा होस् स्वतन्त्र भएर हिड्न सकुन । 

अर्को कुरा के भने हामीले हाम्रो विद्यालय पाठ्यक्रममा यौन शिक्षा समावेश गर्नु पनि जरुरी छ । जस्ले हाम्रा छोरा छोरी दुवैले यौनका विषयमा राम्रो नराम्रो दुवै कुरा जान्न सकुन । आज हामीले हाम्रा छोरीहरुलाई सुरक्षीत भएर हिड्न सिकाएर मात्रै पुग्दैन हामीले हाम्रा छोराहरुलाई छोरीहरुको सुरक्षा र उनिहरुलाई नराम्रो नजरले हेर्न नहुने कुरा पनि संगसंगै सिकाउनु जरुरी छ । 

देशको कानुन फितलो भएकै कारण हाम्रा बालिकाहरु दैनिकजसो बलात्कारका सिकार भएका छन् ।  देशमा बलात्कारको घटना दैनिकसजो यति मौलाएको किन ? के हाम्रा छोरीहरुलाई अब हामीले पिंजडामा कैद गरेर राख्नु पर्ने हो ? होइन भने हाम्रा छोरीहरु समाजमा ढुक्कसंग हिड्ने कसरी ?   अहिले देशमा बलात्कारीलाई कडा भन्दा कडा कानुन ल्याउनु पर्ने माग राख्दै आन्दोलन सुरु भएको छ ।

देशमा कडा कानुन ल्याउने बहानामा फेरि पनि अपराधीलाई सजिलो पार्ने कानुन नआओस् । हाम्रा छोरीहरु माथि कसैले कुदृष्टि लगाउन नै नसकुन यस्तो कानुनको व्यवस्था गरियोस् ।  र हाम्रा घर समाजमा छोरीहरु माथि कुनै दुव्र्यवहार हुनासाथ घर समाजमै मिलाउन नलागियोस् ।  

कोहि पनि छोरी माथि कसैले दुव्र्यवहार गर्छ भने त्यसलाई कानुनको दायरामा ल्याउनु जरुरी छ ताकि अपराधीले त्यो भन्दा ठूलो अपराध गर्न नसकोस् । जब एउटी छोरी माथि कसैले दुव्र्यवहार गर्छ र त्यो अपराधीलाई त्यसै छोडिन्छ भने ति छोरीको मानसिकता यति गिर्छ कि उनले भोलि आफु माथि भएको कुनै पनि हिंसा कसैलाई भन्नै सक्दीनन् । त्यसैले हामीले हाम्रा छोरीलाई यति निर्धक्क बनाउ कि उन्ले आफुमाथी भएको कुनै पनि हिंसाको विरुद्दमा खुलेर बोल्न सकुन । 

-शर्मिला भण्डारी, तिलोत्तमा एफ.एममा प्रबन्ध निर्देशक छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर