प्रदेश १ का स्थायी तहलाई दमकल र प्रहरी भ्यान हस्तान्तरण

विराटनगर । प्रदेश १ को सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र मार्फत विपद्को प्रतिकार्य यूनिट परिचालन गर्ने तयारी अघि बढाएको छ । त्यसका लागि आवश्यक पर्ने दमकल र सुरक्षा भ्यान बिहीबार एक कार्यक्रमका बीच स्थानीय तहलाई हस्तन्तरण गरिएको छ । 

प्राकृतिक विपद्को समयमा आगो नियन्त्रण तथा उद्धार कार्यमा प्रयोग गर्न करिव एघार करोड मूल्य बराबरको एघार थान दमकल र प्रहरी भ्यान सरकारले स्थानीय तहलाई उपलव्ध गराएको हो ।  
मुख्यमन्त्री शेरधन राईले प्रदेश १ का ११ जिल्लाका एघार स्थानीय तहलाई अग्नी नियन्त्रक वारुण यन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरेका छन् । 

प्रदेश सरकारले विपद् व्यवस्थापन कार्यविधि पारित गरी प्रत्येक जिल्लामा न्यूनतम एउटा एकीकृत सेवा दिन मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापना गर्ने अवधारणा कार्यान्वयन थालेको बताइएको छ । सेवा केन्द्र मार्फत विपद् प्रतिकार्य यूनिट परिचालन गर्ने योजना कार्यान्वयनको थालनी भएको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो । केही दिनपछि थप तीन थान प्रहरी भ्यान हस्तान्तरण गर्ने मन्त्रालयले जनाएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयको वार्षिक योजना अन्तरगत तर्जुमा भएको कार्यक्रमबाट प्रदेशका १४ मध्ये ११ स्थानीय तहमा एकएक वटा सेवा केन्द्र स्थापना गर्न १० करोड ९५ लाख रुपीयाँ मूल्य बराबरका साधन उपलव्ध गराइएको हो । मन्त्रालयले ५ करोड ६७ लाख २० हजार मूल्यबराबरको दमकल र ५ करोड, २८ लाख २७ हजार ५६० रुपीयाँको १४ थान प्रहरी भ्यान खरिद गरेको जनाएको छ । मन्त्रालयले केही महिना भित्रै ती सेवा केन्द्रका लागि एकएक थान एम्बुलेन्स पनि उपलब्ध गराउन लागेको जानकारी समेत दिएको छ । 

दमकल तथा सुरक्षा भ्यान हस्तान्तरण गर्नुहुँदै मुख्यमन्त्री शेरधन राईले विपद्मा पनि सरकारले जनताको हितमा काम गरिरहेको बताए । संघीय प्रणाली भएकै कारण ग्रामिण क्षेत्रका जनताको सुरक्षाका लागि योजना बनाएर काम गर्ने वातावरण बनेको भन्दै मुख्यमन्त्री राईले भने ‘संघीयता थिएन भने यसरी अधिकार तलसम्म विनियोजन हुने थिएन ।’

सरकारले जनपक्षीय काम गर्दै जनतालाई संघीयताको लाभ दिलाउनु पर्ने मुख्यमन्त्री राईको भनाई थियो । ‘जस्तोसुकै आपत्विपद आइपरेपनि सरकार हाम्रो साथमा छ भन्ने विश्वास जनतालाई दिलाउनु पर्छ,’ मुख्यमन्त्री राईले भने ‘प्राप्त भएका साधन स्रोत जनताले अनुभूति गर्ने गरी परिचालन गरी सेवा प्रवाह गर्न मेरो अनुरोध छ ।’ उनले सरकार मानव जीवनको रक्षालाई प्राथमिकतामा राखेर काम गर्न तत्पर रहेको भन्दै आगजनी जस्ता प्राकृतिक विपद् न्यूनीकरण र सुरक्षामा यस्ता साधनहरुले महत्वपूर्ण योगदान गर्ने बताए । 

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले जनताले प्रश्न नउठाउने गरी साधनहरुको सदुपयोग गरी सञ्चालन गर्न आग्रह गरेका छन् । उनले सेवा केन्द्र सञ्चालनका क्रममा आवश्यक पर्ने जनशक्ति प्रदेश सरकारले प्रवन्ध गरिदिने र तत्कालको व्यवस्थापन वापत पनि प्रत्येक इकाईलाई ५ लाख रुपीयाँका दरले उपलव्ध गराउने जानकारी दिए ।

मन्त्री कार्कीले जनताका वस्तीहरुको संरक्षण गर्न र सुरक्षा मजबुद बनाउन एकीकृत सेवा केन्द्र प्रभावकारी हुने विश्वास व्यक्त गरे । त्यसलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले नमुना कार्यविधि तयार पारिरहेको मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलले बताए । उनले सेवा केन्द्र स्थानीय तहको अधिनमा रहने गरी प्रदेश प्रहरी अन्तरगतको स्थानीय युनिटले परिचालन गर्ने जानकारी दिए । 

कार्यक्रममा गाउँपालिका महासंघका प्रदेश १ का अध्यक्ष ताराबहादुर काफ्लेले स्थानीय तह कार्य जिम्मेवारीको बोझले थिचिने अवस्थामा रहेको बताए ।

प्रदेश सरकारले प्रदेश १ का १४ मध्ये ताप्लेजुङ , संखुवासभा र सोलुखुम्बु बाहेकका जिल्लामा रहने गरी दमकल र प्रहरी भ्यान हस्तान्तरण गरेको हो । उदयपुरको रौतामाई, भोजपुरको हतुवागढी, मोरङको कानेपोखरी, इलामको देउमाई, झापाको कमल गाउपालिका, धनकुटा नगरपालिका, सुनसरीको कोशी गाउपालिका, तेह्रथुमको आठराई गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र पाँचथरको फिदिम नगरपालिकालाई यी साधनहरु हस्तान्तरण गरिएको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर