• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

'भगवान शिव र ब्रम्हाजी आए पनि मल ल्याउन सक्दैनन्' -मन्त्री भुसाल

काठमाडौं । कृषिमन्त्री घनश्याम भुसालले आफूले सोचेजस्तो काम सरकारमा गएर पनि गर्न नसकेको स्वीकार गरेका छन् । शुक्रबार आयोजित विश्व खाद्य दिवसको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले काम गर्न नसकेको स्वीकार गरेका हुन् ।

कृषकहरुलाई बैंकको ब्याज छुट दिलाउने बाहेक उल्लेख्य काम गर्न नसकेको उनले स्वीकार गरेका हुन् । अहिले ल्याउन खोजिएको पाँच लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने उनले स्वीकार गरे ।

 ‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको पाँच लाख मेट्रिकटन आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि, ब्रह्माजी आए भने पनि सक्दैनन् ।’ उनले भने, ‘कोलकाताकै पोस्टबाट ल्याउने आजकै तरिकाले ल्याउने हो भने पाँच लाख मेट्रिकटन दिनदिनै कोलकाताबाट नेपाललाई एउटा डेडिकेटेड ट्रेन हुनुपर्छ । जो दिनदिनै आउनेछ ।’

मन्त्री भुसालले कृषिमा व्यवस्थाको परिवर्तन नभएसम्म उल्लेख्य काम गर्न सम्भव नभएको बताए । कृषि प्राविधिकहरूले प्रविधिभन्दा माथि उठेर काम गर्न सके मात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव हुने उनको भनाइ छ । 

कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इन्पुटमा आधारित लगानी गरिने व्यवस्था गरिएको पनि उनले बताए । तर, त्यसमा पनि धेरै काम गर्न नसकेको उनले स्वीकार गरे । 

कार्यक्रममा लकडाउन तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहहरूलाई मन्त्री भुसालले सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर