महानगर प्रमुख दाहालले गरिन प्रहरी प्रशासनकाे प्रसंशा

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनमा प्रहरीको संख्या वृद्धि गराउन महानगरले केन्द्रलाई आग्रह गरेको बताएकी छन् । 

आज शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनद्वारा कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले चितवनमा जनघनत्व अनुसारको प्रहरी संख्या नभएको बताईन् । 

कार्यक्रमकी प्रमुख अतिथि दाहालले देशकै केन्द्रभागमा रहेको चितवनमा जनघनत्व र विकास निर्माण तीव्र गतिमा बढिरहे पनि प्रहरीको संख्यामा वृद्धि हुन नसकेको जिकिर गरिन् । उनले यसबारे केन्द्रसम्म ध्यानाकर्षण गराइरहेको बताउँदै प्रहरीको संख्या वृद्धि गराउन महानगरले आग्रह गरिरहेको बताईन् ।


चितवनमा प्रविधिमैत्री प्रहरी संगठन बनाउन पनि आफूहरुले पहल गरिरहेको उनको भनाइ छ । अपराध नियन्त्रण र अनुसन्धानबाट समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका आफैमा प्रशंसनीय भएको बताउँदै चितवन प्रहरीले सुरक्षा व्यवस्था राम्रोसँग गरिरहेको उनले बताईन ।  

महानगर प्रमुख दाहालले कोरोना महामारीको विषम परिस्थितिमा समेत प्रहरी संगठनले निर्वाह गरेको चुनौतीपूर्ण जिम्मेवारीले समाजमा नेपाल प्रहरीप्रति आशा र भरोसा थप वृद्धि भएको बताएकी छन् । 

यस्तो विषम परस्थितिमा सबै सुरक्षा निकायको भूमिका उत्तिकै महत्वपूर्ण रहेको भन्दै देशमा अस्थिरता निम्त्याउने तथा सामाजिक अमनचयनलाई खल्बल्याउन चाहने तत्वहरुको पहिचान गरी त्यसलाई निरुत्साहित गर्न सक्दा नागरिकमा प्रहरीसँगको विश्वासको वातावरण सिर्जना हुने उनले बताइन ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले प्रहरी नागरिक साझेदारी कार्यक्रममार्फत प्रहरीले जनतालाई साथी बनाइरहेको भन्दै प्रशंसा गरे ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न स्थानीय सरकार, प्रशासन, नागरिक समाज र विभिन्न संघसंस्थाले गरेको सहयोगप्रति आभार प्रकट गरे । 

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान र अपराध रोकथाम तथा नियन्त्रण कार्यमा प्रहरीलाई सहयोग पु¥याउने संघसंस्था एवं महानुभावहरुलाई पशंसापत्र तथा कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर