• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

प्रदेश १ का सांसद र मन्त्रीले कहिल्यै लिएनन् दशैं खर्च 

विराटनगर । प्रदेश १ प्रदेशसभाका सांसदहरुले प्रदेशसभा स्थापना भएदेखिनै दसैं खर्च नलिएको पाइएको छ । 

सांसदलाई दसैं खर्च दिने निर्णयको चौतर्फी विरोध भइरहेको बेला प्रदेश १ सरकार र प्रदेशसभाका सांसदहरु भने विगतदेखि नै दसैं खर्च नलिएर सचेत रहेको देखिएको हो । 

संघीय सांसदहरुले आफ्नो बैंक खातामा प्राप्त भएको दसैं खर्च वापतको रकम कोरोना कोषमा जम्मा गर्ने बताइरहेको बेला प्रदेशसभा सचिवालय भने नियमित काममै क्रियाशिल देखिएको छ । प्रदेश १ र ५ बाहेक सबै प्रदेशमा सांसदहरुलाई दसैं खर्च दिने निर्णय भएको थियो भने संघीय सांसदहरुले दसैं खर्च पाइनै सकेका थिए ।
 
दसैं खर्च वितरण नगरेका कारण प्रदेश १ को सरकार र सांसदहरुले दसैं खर्च लिएको भन्दै आलोचना खेप्नु परेको छैन । 

प्रदेश सरकारले सांसदहरुलाई दसैं खर्च दिने प्रस्तावमा छलफल नगरेको र त्यस सम्वन्धी कुनै निर्णय नगरेपछि प्रदेशसभा सचिवालयले सांसदहरुलाई दसैं खर्च निकासा गरेन । जसले गर्दा संघीय सरकार र प्रदेश ३ सरकारको जसरी आमरुपमा आलोचना भइरहेको छ प्रदेश १ सरकार त्यस्तो अवगालबाट जोगिएको छ ।

‘प्रदेशसभाका माननीय ज्यूहरुलाई अघिल्ला वर्षहरुमा पनि दसैं खर्च वितरण गरिएको थिएन,’ प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले भने ‘यस पटकपनि दसैं खर्च दिनेगरी सरकारबाट कुनै निर्णय नआएका कारण भुक्तानी गरिएन ।’

हुन त प्रदेश सरकारले कोरोना महामारीको समयमा ंकुनैपनि भत्ता सुविधा नलिने निर्णय गरेको थियो । अनावश्यक खर्च कटौति गर्ने तर्फ निर्णय गरेको प्रदेश सरकारका मन्त्रीहरुले पनि दसैं खर्च  लिएका छैनन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले ‘प्रदेश १ सरकारले सांसद र मन्त्रीहरुलाई विगतमा पनि दसैं खर्च दिने निर्णय गरेन र यसपटक पनि गरेको छैन,’ भने । सरकारले यस प्रकारको खर्च गर्नें तर्फ सोचसमेत नराखेको उनले बताए ।

संघीय सरकारले सांसदहरुलाई समेत दसैं खर्च उपलव्ध गराउने निर्णय गरेपछि सांसदहरुबाटै त्यसको विरोध सुरु भएको थियो । सांसदहरुले विरोधमात्र नगरी धमाधम खाताबाट नगद झिकेर संसद सचिवालयमा फिर्ता गर्न थालेपछि सरकारको निर्णयप्रति जनस्तरमासमेत तिब्र आलोचना भएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर