प्रदेश १ मा आकस्मिक सेवा मार्फत संक्रमितको उपचार सेवा सुचारु 

विराटनगर । दसैं विदाको समयमा कोरोना परीक्षण गर्न नपाइने हो कि भन्ने चिन्ता सर्वधारणले गरिरहेको बेला सरकारी अस्पतालहरुले आकस्मिक सेवा मार्फत संक्रमितको उपचारको प्रवन्ध मिलाएका छन् । 

सरकारबाट सञ्चालित प्रदेश १ का ठूला विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल र मेची अस्पतालहरुमा कोभिड संक्रमित बिरामीले आकस्मिक कक्ष मार्फत आइसोलेसन लगायतको सेवा लिन सक्ने प्रवन्ध गरिएको छ । यि अस्पतालहरुमा रहेका आइसोलेसन कक्षहरु नियमितरुपमा सञ्चालन हुनेछन् । लक्षण देखिएका संक्रमितहरुले अस्पतालको आइसोलेसनमा खटिएका चिकित्सक मार्फत परीक्षण गराउन सक्ने छन् । चिकित्सकको सिफारिसका आधारमा पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउँदै सबै अस्पतालको प्रयोगशालाहरु नियमित सञ्चालन हुने गरी प्रवन्ध मिलाइएको छ । 

दसैंको फुलपातिदेखि एकादशीका दिनसम्म अस्पतालका बहिरंग सेवा बन्द हुने भएपनि आकस्मिक सेवा सञ्चालनलाई व्यवस्थित गरिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । प्रदेशमा रहेका सबै सरकारी अस्पतालहरुले आकस्मिक सेवालाई व्यवस्थित गरी पिसिआर परीक्षण जरुरी भएका बिरामीको पिसिआर जाँच हुने उनले स्पष्ट पारे ।

मन्त्री घिमिरेले प्रदेश प्रयोगशाला पनि यस अवधिमा सुचारु रहने जानकारी दिनुभएको छ । थोरै जनशक्ति भएको त्यसमा पनि प्रदेश प्रयोगशालाका प्रमुखसहित चार जना प्राविधिक कर्मचारी संक्रमित भएकोले परीक्षणमा केही प्रभाव परेको मन्त्री घिमिरेले बताए  । उनले जनशक्ति व्यवस्थापन गरेर प्रयोगशाला दसैं विदामा पनि सुचारु रहने भन्दै सर्वसाधारणले परीक्षण नै गर्न पाइदैन कि भन्ने चिन्ता लिन नपर्ने बताए । 

कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बहिरंग सेवा बाहेक अस्पतालको सबै सेवा सुचारु रहने जानकारी दिए । तर, यो अवधिमा अस्पतालमा फिभर क्लिनिक भने सञ्चालन हुने छैन । ‘फिभर क्लिनिक पनि बहिरंग सेवा अन्तरगत नै पर्छ त्यसैले विदामा यो चल्दैन,’ डा.दासले भन्नुभयो ‘फिभर क्लिनिक नचलेपनि आकस्मिक सेवा र त्यस अन्तरगतको आइसोलेसन वार्ड सञ्चालन हुन्छ । 

चिकित्सकको सिफारिसमा आस्पतालमा आउने बिरामीको पिसिआर परीक्षण पनि खुला राखिएको छ ।’ तर, आमरुपमा कन्ट्रयाक्ट टे«ेसिङका आधारमा हुने पिसिआर परीक्षण भने अहिले बन्द रहने डा. दासले जानकारी दिए । 

विदाको बेला कोरोना संक्रमणको लक्षण देखिएका बिरामीले सरकारी अस्पतालको आकस्मिक कक्ष वा आइसोलेसन कक्षमा सम्पर्क राखि चिकित्सकलाई परीक्षण गराउनु पर्ने छ । त्यसपछि चिकित्सकले आवश्यक ठानेमा पिसिआर परीक्षण गर्न लगाउने छन् । कोशी, मेची लगायतका अस्पतालको प्रयोगशाला त्यस कार्याका लागि खुला राखिएको बताइएको छ । बिरामीको अवस्था हेरेर अस्पताल भर्ना गर्नुपर्ने भए भर्ना गर्ने र उपचार दिने प्रकृया सरकारी अस्पतालहरुले मिलाएका छन् । 

कोशी अस्पतालमा सञ्चालित प्रयोगशालाका प्राविधिक कर्मचारीहरु बिरामी पर्दा बाहेक विगत ६ महिनादेखि एक दिन पनि बिदा नबसी काम गरिरहेका छन् । दसैंको बेलामा पनि त्यही चापमा काम गर्न सक्ने अवस्था नभएकोले कन्ट्रयाक्ट टे«सिङको आधारमा हुँदै आएको पिसिआर सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । ‘द्वादशीका दिनबाट पिसिआर परीक्षणको काम नियमित सुरु गर्छौं,’ मेसु डा. दासले  भने । 

धरानमा पनि कोभिड अस्पताल, आइसोलेसन र आकस्मिक सेवा मार्फत हुने पिसिआर परीक्षण प्रयोगशाला सुचारु रहने जनाएको छ । मेची अस्पताल लगायत सबै जिल्ला अस्पतालहरुले आकस्मिक सेवा मार्फत कोरोना संक्रमितहरुको परीक्षण र उपचार सेवा दिने गरी व्यवस्था मिलाएको सामाजिक विकास मन्त्री घिमिरेले बताएका छन् । 

यता निजी अस्पतालहरुले पनि कोभिड १९ उपचार केन्द्रको सेवा सुचारु राख्ने भएका छन् । विराटनगरको नोवेल मेडिकल कलेजले दसैं विदाको समयमा पनि पिसिआर परीक्षण प्रयोगशालालाई पूर्ववत सुचारु राख्ने सार्वजनिक सूचना नै प्रकाशन गरेको छ । 

विराटनगरमा नोवेल मेडिकल कलेज, विराट अस्पताल र न्यूरो अस्पतालले कोभिड १९ उपचार केन्द्र सञ्चालन गरेका छन् । निजी अस्पतालहरु नोवेल र विराटले पिसिआर परीक्षण पनि गर्दै आएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर