• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

हनुमानढोकामा भित्र्याइयो फूलपाती

काठमाडौंँ ।    हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिड. जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । 

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र गरेर पूरा गरिएको छ । यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह र  मङ्गल धुन गाउने मङ्गलिनी समूहको सहभागिता रहेको उनले बताए । 

हनुमानढोका दरबार नासलचोकमा पूजा र  मूलचोकमा बलिसहित पूजा गरेपछि दशैँघरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ । यस वर्ष भने कोरोनाका कारण औपचारिक कार्यक्रम नगरी परम्परागत रुपमा मात्र फूलपाती भित्र्याइएको छ ।

आश्विन शुक्ल प्रतिपदामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने हिन्दूको महान् चाड दशैँको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गरेकामा यस वर्ष त्यति छैन । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुन्छ  ।

नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे, जाँते र रोटे पिङले दशैँको रौनकलाई अझ बढाउँछ । यस वर्ष भने कोरोनाका कारण शहरबजारमा भीड हुने गरी पिङ हालेको देखिँदैन । बजारमा आज पनि किनमेल गर्नेको भीड देखिन्छ । विशेषगरी खाद्य सामग्रीका पसलमा मानिसको भीड छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर