• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

नयाँ नक्सा स्थगन गर्ने सहमतिपछि भारतीय ‘रअ’ प्रमुख सामन्तसँग प्रधानमन्त्री ओलीको मन्त्रणा

काठमाडौं । कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर जारी भएको नेपालको नयाँ राजनीतिक नक्सा तत्काल  प्रकाशन स्थगन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुपिया संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग दुई घण्टा मन्त्रणा गरे । 

प्रधानमन्त्री ओलीले रअ प्रमुख सामन्तकुमारसँगको भेटमा तत्काल नक्सा प्रकाशन स्थगन गर्ने विषयमा सहमति गरेको उच्च स्रोतले जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुत बनेर नेपाल आएका रअ प्रमुख गोयलले सीमा विवादका विषयमा जारी भएको नक्सा तत्काल रोक्ने र दुई देशबीच संवाद अगाडि बढाउने विषयमा मन्थन भएको उच्च स्रोतले जानकारी दियो ।
नेपालले जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा स्थगन गरेसँगै भारतले वार्ताका लागि ढोका खोल्ने संकेत समेत देखाएको छ ।

नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले अगाडि बढाएको संविधान संशोधन प्रस्ताव संघीय संसदको दुवै सदनबाट सर्वसम्मत रूपमा पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरणसमेत भइसकेको छ । यद्यपि यता भारतीय पक्षसँगको अनौपचारिक गोप्य मन्त्रणासँगै जारी भएको नक्सा प्रकाशन र वितरणमा रोक लगाउनुले गम्भीर प्रश्न उठेको छ ।

५ कात्तिकको राती ९ः१५ मा प्रधानमन्त्रीनिवास बालुवाटार छिरेका ‘रअ’ प्रमुख गोयल मध्यराती १२ः१० मा बाहिरिएका थिए । भारतीय खुफिया प्रमुखले प्रधानमन्त्रीसँग बिताएका दुई घन्टा ५५ मिनेट समय सार्वभौम, स्वाभिमानी देशका अस्वभाविक घटना भनि तीव्र आलोचना भइरहेको छ । ‘रअ’ प्रमुख गोयलसँग प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको विषय प्रधानमन्त्री सचिवालयले एक नोट जारी गरेर पुष्टि गरेको थियो । 

नेपाल–भारतबीच सम्बन्धमा चिसोपना आइरहेका बेला प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीकै आग्रह अनुसार भारतीय पक्षको आदेशमा सहमति जनाउँदै प्रधानमन्त्री ओलीले गत असोज ५ गते नेपाल सरकार, शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वध्याय सामग्री’ नामक पुस्तक वितरणमा रोक लगाएका थिए ।

जब कि प्रधानमन्त्री ओलीसहित सत्तारुढ नेकपा (नेकपा)को सचिवालयका सदस्यहरूलाई पाण्डुलिपी देखाएर पुस्तक तयार गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाई थियो । १९ असार ०७७ मा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय तहमा सन्दर्भ–सामग्रीका रूपमा प्रयोग हुने गरी स्वीकृत दिएको थियो । प्रधानमन्त्री ओलीले भारतलाई विश्वासको वातावरण बनाउनकै लागि शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नेपालको भू–भाग सम्बन्धी पुस्तक वितरण रोकिएको हो ।

यसअघि लामो समय तनावपूर्ण रहेको सम्बन्ध भारतको स्वतन्त्रता दिवसको अवसर पारेर १५ अगष्टमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएसँगै संवादहिनता तोडिएको थियो । सीमाको विषयमा झण्डै ८ महिना दुई देशबीच विषयगत संवाद नै नहुने अवस्थामा पुगेको थियो ।

त्यसपछि भारतसँग निरन्तर अनौपचारिक संवाद गरिरहेका प्रधानमन्त्री ओलीले तत्काल नेपालले जारी गरेको नयाँ राजनीतिक नक्सा प्रकाशन वितरण नगर्ने पक्षमा उभिए । धेरैले नक्सामा त्रुटीपूर्ण रहेको आंकलन गरे पनि भारतीय पक्षसँग अनौपचारिक संवाद गरेका प्रधानमन्त्री ओली नक्सा स्थगन गरेर अघि बढ्ने पक्षमा उभिएका हुन् ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर जारी भएको नयाँ राजनीतिक नक्सापछि निरन्तर भारतको कटाक्ष गर्दै आएका थिए । तर पछिल्लो समय प्रधानमन्त्री ओली एकाएक नक्सा प्रकाशन र वितरणको विषयमा मोडिएका छन् । 

गत वर्ष १६ कात्तिकमा कालापानी क्षेत्रलाई समेटेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै देखिएको विवाद भएको थियो । त्यसपछि नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासम्मको भू–भागलाई समेटेर गत ७ जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि सम्बन्ध तनावपूर्ण बन्न पुगेको थियो । 

नेपालले विरोध जारी नै रहेको बेलामा फेरि गत वैशाखमा भारतले नेपाली भूमी हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेको थियो । सोही सिलसिलामा कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले आफ्नो निशान छाप परिवर्तन गर्न संविधान नै संशोधन गरिसकेको छ । 
नेपालले नक्सा जारी गरेपछि भारतले आपत्ति जनाएको थियो । त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक नोट पठायो । त्यसयता नेपाल र भारतबीच नयाँ नक्सा बारे कुनै सम्वाद भएको थिएन । 

दुई देशबीच सीमा विवादको कुरा उठेपछि परराष्ट्र मन्त्रालयले भारतलाई चार पटकसम्म पत्राचार गरेर वार्ताको र संवादका लागि आग्रह गरेको थियो । तर भारतले संवादका लागि नेपालले पठाएको पत्रको कुनै जवाफ दिएको थिएन । नेपालको पत्रको जवाफ भारतले दुई महिना पछि मात्रै दिएपनि असन्तुष्टि जनाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर