• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

चन्द्रागिरिको उचाइ भन्दा अग्ला चन्द्र

कालिगण्डकी किनारको जुन अर्थात् चन्द्र

कालिगण्डकी किनारको जुन अर्थात् चन्द्र
.....
कालिगण्डकीको किनारसँग जोडिएको ठूलो पहरा । जुन पहरालाई कालिगण्डकीको छालले हानिरहन्छ । कालिगण्डकीको छालसँगै शालिग्राम पहरामा ठोक्किएर सेती दोभानमा निख्रिन्छ । त्यही पहरामाथि समथर गाउँवस्ति । खुवाले यो बलेवा हो । चार हजार पर्वते राज्यको ठ्याक्कै वारी । कालिगण्डकीको किनार वरपरका इतिहास त छँदैछ । त्योसँगै एउटा गतिलो साइनो जोडिएको छ यतिबेला चन्द्र ढकालको ।

पछिल्लो पटक विश्वव्यापी फैलिएको महाव्याधीको सकसले कसलाई पो बाँकी राखेको छ र ? महाव्याधीको त्रासदीले एकतिर भौतिक रुपमा आक्रमण गरिरहेको छ भने, अर्कोतिर नियमित चलिरहेका उद्योग, व्यवसायलाई गहिरो खाल्डोमा पुर्दै छ । महाव्याधीको यो आक्रमणलाई जित्दै यतिबेला कालिगण्डकी किनार अमलाचौरमा जन्मेका व्यवसायी चन्द्र ढकालको सातै प्रदेशमा चर्चा शुरु भएको छ । 

जिन्दगी जति भोगाई उति सिकाई । उनमा देखिएको निस्फिक्री साहसले ‘औंशीको रात चिर्ने चन्द्र’ जस्तै देखिन्छ । कालिगण्डकीमा बज्रिने शालिग्रामको महत्व जति छ, त्यही ठाउँमा जन्मिएका उनको अठोत चकमन्न औंशीको रातालाई उज्यालो बनाउनेमै देखिन्छ ।  

बागलुङको अमलाचौरमा मध्यम वर्गीय परिवार उनको पहिलो पहिचान हो । २०२२ मा जन्मिएका उनै चन्द्रप्रसाद ढकालको यतिखेरको पहिचान भने सफल व्यवसायी । मध्यमवर्गीय परिवारको पृष्ठभूमी । उद्यमशीलताको यात्रा सामान्य छैन । साढे दुई दशकको हाराहारीमा चन्द्र यतिखेर मुलुकको आर्थिक मुहार फेर्ने गरी आफ्नो व्यवसायिक यात्रामा निरन्तर लागिरहेका छन् ।

भर्खरै उनले कोरोना संक्रमणमाथि बिजय प्राप्त गरे । कोरोनाले गालेको शरिर उसैमा कमजोर हुने नै भयो । तर, उनमा कोरोनासँगको संघर्षले झन् नयाँ पाठ सिकाएर उर्जा भरिदिएको छ । आफ्नो जन्मभूमीलाई सबै भन्दा माया गर्ने चन्द्र बलेवा भन्दासाथ हुरुक्क हुन्छन । ढकाल आफ्नो जन्मभूमी कति प्यारो हुन्छ ? भन्ने उनको भावुकता, प्रस्तुतिमा प्रष्टै झल्किन्छ । ढकाल भावुक हुँदै बलेवा सम्झन्छन्– ‘जिन्दगीले धेरै आयामका आँकुराहरु बदल्यो । कहिले तल, कहिले माथि । यो त सामान्य नै भयो । मलाई भने जहिले बलेवाको सुन्दरताले तान्छ । अमलाचौरको माटो किन–किन बसाउँछ ।’

ढकालको यी शब्द कुनै आदर्श र ढोंगी होइनन् । उनले मन फुकाएर अमलाचौरलाई गर्न सक्ने सहयोग गर्छन । व्यवहारमा लागु गरेरै देखाउँछन् । उनको सहयोग गर्ने सीमारेखा बलेवा वरपर मात्रैमा सीमित छैनन् । जिल्लाका हरेक दुःख सुखमा उनको आर्थिक रुपमा साथ रहन्छ । उनी जन्मिएको थलोको यो नाता हो । यद्यपी ढकालले देशका धेरै ठाउँमा हुने ठूला महोत्सव, मेलाहरु र राष्ट्र निर्माणमा गरिने कार्यक्रममा प्रायः प्रयोजकमा रुपमा आफ्नो कम्पनीहरुलाई जोडेकै हुन्छन ।

ढकाल एकल छैनन् । आफ्नो सिङ्गो परिवारलाई समाज सेवामा समर्पित गराउँछन् । जसको उदाहरण हो, अमलाचौरको पृथ्वी हिरण्य माध्यमिक विद्यालय । जहाँ उनको स–परिवारले ६ करोड रुपैयाँ बढीको लगानी गरेर भौतिक विकासमा सहभागिता जनायो । अघिल्लो वर्षको वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोही भवनको उदघाटन गरेकी थिइन् । स्व. पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा सो विद्यालयको नामाकरण गरिएको छ । भवनको नामाकरण हिरण्य स्मृति भवन राखिएको छ ।

सफलता के हो ? उनको अनुभव गजबकै छ । यतिखेर उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको प्रत्यासी ढकाल भन्छन्– ‘म मात्रै सफल व्यवसायी भनेको सुन्दा झसङ्ग हुन्छु । तर, हामी सबै नेपाली सफल छौैं भन्ने लाग्छ ।’ साढे दुई दशकको व्यवसायिक यात्रामा उनको भोगाई जतिसुकै उतारचढाव होस्, तर उनी आफ्नो धरातल कहिल्यै विर्सिदैनन् । ढकाल भन्छन्– ‘म त्यही धरातलमै छु र जीवनका हरेक पलहरु त्यहीँ पाउँछु ।’

अमलाचौरमा उदाएको एउटा गाउँले ‘चन्द्र’को जिन्दगीलाई चन्द्रमाकोजस्तै चमक भर्न थोरै मेहनेतले भने पुगेको छैन । अमलाचौरमा जन्म लिएर बागलुङको माटो र धौलागिरिको छायाँलाई देशभर चिनाउने व्यक्तिमा पर्छन ढकाल । ढकालको सबै भन्दा ठूलो सफलता भनेको ‘सरलता (सिम्प्लिसिटी) हो ।’ समय र सरलता उनका परिचायक मापन हुन ।  

बुवा भौतिक रुपमा महाप्रस्थान गरेपछि सोह्र वर्षीय किशोरको काँधमा आमा र साना भाइबहिनीको भविष्यसमेत थपियो । त्यो बेला यी किशोरको मष्तिष्कमा उम्लिएको सकरात्मक सोंचले उनलाई जिन्दगीभर मेहनत गर्न सिकायो । त्यही आत्मबल र परिश्रमले अहिले यो स्थानमा उभ्याएको छ । उनको यो आत्मबलले दशौँ हजार मानिसको सपना पुरा गर्दैछ । हजारौँ व्यक्ति प्रत्यक्ष–अप्रत्यक्ष रोजगारीमा संलग्न छन् । चन्द्रको कथा यहीँदेखि शुरु हुन्छ । 

........
उचाइ चन्द्रागिरि भन्दा चन्द्रको अग्लो

आहा... यो दृष्य १ साँच्चिकै निख्रिएको आकाशमा निलो च्यादर माथि चाँदीका दाना राख्या जस्तो दृष्य । यी दृष्य देख्ने यो उचाइ कहाँ छ ? यस्तै दृष्य अवलोकनको जवाफ हुन चन्द्र । संघीय राजधानी काठमाडौं उपत्यकाको पश्चिम दिशामा उचाइ लिएको यो डाँडा । राशिले जुरायो वा संयोग उसैको नाम पनि चन्द्रागिरि । सररर केबुल कारबाट डाँडामा उक्लिएपछि जता हेर्नुस् । तपाईंका न आँखा चिम्लिन मिल्छ, न मन अघाउँछ । यतिबेला उनको यो देखिने परियोजनाको एउटा अंश हो । 

मेहनतको उचाइ र चन्द्रागिरिको उचाइबाट उनले बेला–बेला सोच्ने गर्छन्– ‘सानोमा खेलेको माटोको छिँडी, आँगन र करेसाबारीले हृदय छुन्छ । कहिलेकाहीँ चन्द्रागिरिको उचाइबाट पनि त्यही पुगेको अुनभूत गर्छु र अमलाचौर पुग्दा बडो आनन्द लाग्छ ।’

आलोचना ढकालका जीवनमा कति प्रेरणादायी बनेका छन् भन्ने चाख लाग्दा घटना छन् । ‘ढकालजीले मेहनेत गरेर कमाएको धेरथोर रकम खाल्डोमा पुर्ने भए’ विदेशिएका नेपालीको कमाई स्वदेश ल्याउन आइएमई स्थापना गरेर काम थाल्दाका उनीमाथिका आलोचना । ढकाल दाजुभाइप्रति आफन्त र साथीभाइका यी टिप्पणीले मन न घोँच्ने त कुरै भएन । तर, हरेस भने खाएनन्।

हेरक कुरालाई सकारात्मक र अर्थसहित बुझ्न सरल व्यक्ति चन्द्र ढकाल उनताकाको ती शब्दले उनको मनमा  सधैं बास गरेको छ । ‘हाम्रा आफन्त र शुभचिन्तकका सद्भाव नै हुन् ती बेलामा हामीलाई गरिएका आलोचना । अहिले पनि हामीले कुनै नयाँ कार्यको थालनी गर्दा यी शब्दहरु कानमा गुञ्जिन्छन’, हल्का मुस्कानमा ढकाल स्मरण गर्छन । 

ती शब्दले आज ढकालको उचाइ कहाँ पुग्यो ? सबै नेपाली जनजनको मन र मुखमा पुग्यो ‘बैंकबाटै विदेश तथा स्वदेशमा रकम पठाउँदा पनि आइएमइ गर्न हिँडेको या आइएमई गरेको भन्छन् ।’ यतिखेर नेपाल राष्ट्र बैंकमा नयाँ मनी ट्रान्सफरको अनुमतिपत्र माग्न जानेले ‘आईएमईको लाइसेन्स पाउँ’ भन्ने अवस्था सृजना भएको छ ।

हरेक व्यक्तिको सफलतामा साहयक को ? भन्ने स्वभाविक प्रश्न उठ्छ । ढकाल व्यावसायिक नेतृत्वमा अब्बल छन् । उनका सारथी हुन् भाइ हेमराज ढकाल । दुई भाइको पहलमा स्थापना गरिएको यो पहिलो कम्पनी । यतिखेर ‘मनी ट्रान्सफर’ क्षेत्रकै एक पर्यायको स्थान लिएको छ । यीनै उद्यमीको यो ‘इनोभेसन’ आज मुलुकमा खरबौँ रुपैयाँ भित्र्याउने संस्था बन्न पुगेको छ । जुन कार्य राष्ट्रका निम्ति गौरव गर्ने लायकको छ ।

ढकाल भन्छन– ‘नेपाली दाजुभाइले विश्वासकासाथ हामीलाई दिएको त्यो रकम । जसलाई हामीले जतनकासाथ उनीहरुका आमाबुबा, लालाबाला र समग्र आश्रित परिवारमा पुर्यायौँ । त्यही नै धेरै निमुखा नेपाली दाजुभाइ दिदीबहिनीहरुको वास्तवमा गाँस नै थियो । त्यो रकम त्यो परिवारको जीविकोपार्जन मात्रै बनेन । जसले नेपालको अर्थतन्त्रलाई उकास्न मेरुदण्डकै रुपमा रह्यो । त्यही पैसाले कैयौं व्यापार, उद्योगहरु सञ्चालन भए । जसका कारण हजारौँ नेपाली उद्यमी बने, बनिरहेका छन् ।’

साना–तिना व्यापारका लागि वित्तीय स्रोत, घरेलु उद्योगका लागि सिड मनी नै बनेको छ आइएमई । साना वा ठूला, घरेलु होस् वा मझौला अधिकांश उद्योग र व्यापार यही रेमिट्यान्सको जगमा उभिएका छन् । मुलुकको अगुवा रेमट्यिान्स कम्पनी ‘आईएमई’सँग सायदै कोही नेपाली नागरिक अपरिचित होलान् । 

ढकालको जीवनलाई फर्केर हेर्दा वाणिज्य बैंकको तल्लो तहको जागीर । २०४८ तिर सामान्य कोल्ड स्टोर र त्यसपछि कार्गो व्यवसाय । उनको व्यावसायिक यात्रा यहीदेखि शुरु भयो । यतिखेर ढकालका हातमा बैंक तथा वित्तीय संस्था, रेमिटेन्स, केबलकार, हाइड्रोपावर लगायत व्यवसाय छन् । व्यवसायका लागि कुनै दिनका ती दुःख बिर्सिनसक्नु छन् । १२–१३ लाख रुपैयाँ रकम अत्यावश्यक पर्दा आफैंले काम गर्ने बैंकबाट उनले ऋण नपाएका दिन छन् । वर्तमान समय उनी मुलुककै सबैभन्दा ठूलो बैंकको नेतृत्व गरिरहेका छन् । उनको परिश्रम सीमित छैन, अविश्राम छ । औंशीमा लुकेको जुनबाट पूर्णिमाको भरिलो जुन अर्थात् चन्द्रमा जस्तै चम्किएका चन्द्र ढकालको यी सफलताको कथामा उनिएको एउटै जवाफ छ– ‘लगाव, परिश्रम र इमान्दारिता ।’

एउटै व्यवसायले उनलाई छेक्न सकेको छैन । यात्रा निरन्तर छ । उनी २०७० को दशकको शुरुआतीदेखि केबलकारतर्फ आकर्षित भए । चन्द्रागिरि केबलकार । ढकालले आफ्नो व्यक्तित्व निर्माणमा गरेका संघर्षका सत्य कथाहरु धेरैको प्रेरणाका स्रोत बन्न योग्य छन् । काठमाडौंको पानीपोखरीस्थित आफ्नै भवनमा व्यस्त दैनिकी गुजार्ने ढकालको जीवनको यो कथा बागलुङको एक ग्रामीण वस्ती अमलाचौरबाटै सुरु हुन्छ ।

......
समय चिन्ने चन्द्र 

चन्द्रमा जसरी आफ्नो समयमा उदाउने र अस्ताउने गर्छ त्यही शैलीमा ढकालले समयको ख्याल गर्छन । ‘सरी है, मैले तपाईँहरुलाई धेरै समय त कुराइनँ ?’, एक साता अघि भेटको क्रममा ढकालले सरी मागे । साढे आठ बजे भेटको सयम थियो । तर, उनी दुई मिनेट बाँकी हुँदै पुगेका थिए । आइएमइ समूहका टिमका सदस्यहरु भन्छन– ‘समय उहाँलाई चिन्ने मापनजस्तै हो । समयसँग उहाँको कुनै सम्झौता हुँदैन ।’

उनले समय कहिले निकाल्छन ? भन्ने यहीबाट थाहा हुन्छ उनी आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्ष हुन । तर, हरेक कार्यालय चुस्त–दुरुस्त राखेका छन् । यसमा उनको समय तालिका मेनेजमेन्ट नै मुख्य हो । त्यस बाहेक उनी अध्यक्ष रहेका थुप्रै सामाजिक सङ्घसंस्थाहरु समेत छन् । नेपालमा बैंक तथा वित्तीय सेवालगायत जलविद्युतका क्षेत्रमा पनि उनको सक्रिय उपस्थिति छ । महासंघको चुनावी मैदानमा रहेकै बेला ढकाले महाकवी लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर कविता दुई लाइन सुनाए । 
के हो ठूलो जगतमा पसिना विवेक ।
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।।
देवकोटाको कविताका यी हरफलाई ढकालले निकै अर्थपूर्ण सविस्तार लगाउँछन । ‘सबैले चन्द्रमा नै छुने उद्देश्य लिनु भन्छन् । तर पनि त्यसको माथिल्लो हरफ प्रायःले उच्चारण नै गर्दैनन् । चन्द्रमा छुन सिकाउने अथवा सम्भव बनाउने चाहिँ माथिल्लो लाइन पसिना र विवेक हो ।’

.....
उद्योग वाणिज्य महासंघमा ढकाल वरिष्ठ उपाध्यक्ष किन ? 

आजको यस कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका आदरणीय अध्यक्ष, उपाध्यक्षहरु, पूर्वअध्यक्षज्यूहरु, पदाधिकारी मित्रहरु, विभिन्न जिल्लानगर उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु, महासंघका सदस्य साथीहरु, उपस्थित निजी क्षेत्रका साथी तथा पत्रकार मित्रहरु ।

विश्वभर कोरोना भाइरसको प्रकोप नभएको भए सायद आज हामी यहाँ जे गर्न गैरहेका छौं त्यो चार महिना अघि गर्दथ्यौं । तर दुर्भाग्य कोरोना भाइरसको प्रकोप तपाईं हामी सबैले व्योहोर्नु पर्यो । महासंघमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाले पनि त्यसको प्रभाव झेल्नुपर्यो । 

कोरोनाको प्रभाव र असर तपाईं हामी माझ अझ कति समय रहने हो त्यो भविष्यले बताउला । तर कोरोनाले सिर्जना गरेका चुनौतीलाई तपाईं हामीले नै मिलेर पार लगाउने हो, यो अहिलेको आवश्यकता हो ।

कोरोनाका कारण तपाईं हामीमाझ दुई चुनौती सिर्जना भएका छन्, त्यसमध्ये एक हो स्वास्थ्य सम्वन्धी चुनौति र दोस्रो आर्थिक चुनौति । स्वास्थ्य सम्वन्धी चुनौतिलाई सरकारले सामना गरिरहेको छ भन्ने हाम्रो विश्वास छ ।

तर आर्थिक चुनौति भने संसारभर सरकार र निजी क्षेत्र दुवैले मिलेर सामना गरिरहेका छन् । हामीसँग पनि त्यही बाटोलाई पछ्याउने बाहेक अर्को विकल्प छैन । 

कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामना गर्न तपाईं हाम्रो व्याक्तिगत पहल मात्रै काफि हुँदैन् ।  त्यसलाई प्रभावकारी रुपमा सामना गर्न हामीबीच विश्वास, एकता र बल चाहिन्छ । हाम्रो सौभाग्य आज नेपाल उद्योग वाणिज्य महासंघका रुपमा हाम्रा पुर्खाले हामीलाई नेपालको सबैभन्दा शसक्त त्यो फोरम उपहारमा दिएका छन् ।

त्यो फोरममा नयाँ विश्वास सिर्जना गर्न, त्यसमा एकता पैदा गर्न र त्यसलाई एउटा बलका रुपमा अघि बढाउन हामीसँग नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयन गर्ने अवसर यही बेला आएको छ ।
तपाईँहरुको शुभेच्छा, आग्रह र प्रस्तावलाई विनम्रतापूर्वक स्वीकार गर्दै मैले नेपाल उद्योग वाणिज्य महासंघको आशन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा चार महिना अघि नै औपचारिक घोषणा गरिसकेको छु । 

तर मेरो उम्मेदवारी मात्रै त्यसको पूर्णता होइन्, त्यसलाई अघि बढाउन एउटा विश्वासिलो टीमको जरुरत पर्दछ । आज हामी त्यो टीमको घोषणा गर्नका लागि यहाँ उपस्थित भएका छौं । 
र म आज यहाँ त्यसको घोषणा गर्न चाहन्छु । 

हाम्रो टीममा उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधी तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एशोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई उम्मेदवार हुनेहुनेछ ।

महासंघमा नयाँ नेतृत्वका रुपमा आउने हाम्रो यो टीमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने छैन, हामीले चाहेको, हामीले खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्नेछ । 

हाम्रो यो टीम अनुभवले भरिएको छ । विश्वासले भरिएको छ । टीममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर यो टीमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहूँच छ ।

तपाईंलाई दुःख परेको बेला हाम्रो टीम तपाईंको नजिक हुनेछ, तपाईंले खोजेको बेला पहुँचमा रहनेछ, समस्यालाई नीति निर्माता कहाँ पुर्याइदिएर समाधान खोजिदिनेछ ।
आखिर तपाईंले महासंघमा खोजेको पनि यस्तै नेतृत्व होइन् र ?

आज हामी चुनावमा छौं, स्वभाविक रुपमा हाम्रो टीमसँग प्रतिष्पर्धा गर्नका लागि विपक्षी टीम पनि खडा भएको छ । आज मेरो तपाईंलाई आग्रह छ, हाम्रो र विपक्षी टीमको तुलना गर्नुस, त्यहाँका उम्मेदवारको आगत र विगत पनि हुर्नुहोस ।

विपक्षी टीमका अधिकांश साथीको नेतृत्व तपाईं हामीले यस अघि नै भोगिसकेका छौं, त्यो अनुभवलाई आज फेरी सम्झनुहोस् ।

अझ विशेष गरी म जिल्ला उद्योग वाणिज्य संघका साथीहरुसँग आग्रह गर्न चाहन्छु, उद्योग वाणिज्य महासंघको नेतृत्वमा रहनु भएका हाम्रा विपक्षी टीमका साथीहरु वितेका वर्षहरुमा तपाईंको नजिक कहिले पुग्नु भएको थियो ? प्रश्न सोध्न चाहन्छु, चुनाव जितेपछि पुग्नु भएको थियो ?

तपाईंले खोज्दा, के उहाँहरुसँग भेट भएको थियो? तपाईंले फोन गर्दा उहाँहरुको फोन उठेको थियो ?  तपाईंलाई समस्या पर्दा के त्यो उहाँहरुले सुनिदिनु भएको थियो ?, समाधान खोजेर ल्याइदिनु भएको थियो ?

सुन्दैछु, अहिले फेरि तपाईंहरुलाई ती साथीहरुको फोन आउन थालेको छ रे, सुन्दैछु तपाईंलाई फेरी आश्वासन आउन थालेको छ रे ?, ह्वाट्स एप र फेसबुकमा म्यासेज आउन थालेको छ रे ?
भविष्यमा ती आश्वासनले काम गर्छ भनेर के तपाईंलाई विश्वास लाग्छ ? फेरी उहाँहरुको फोन आउँछ भन्ने आशा तपाईंलाई छ? फोन आउने कुरा त छाड्नुस् तपाईंले गरेको फोन के उहाँहरुले उठाउनुहोला ? गम्भीर भएर सोच्नुहोस् । 

म भन्छु, उहाँहरुको मात्रै होइन्, हाम्रो पनि विगत हेर्नु्होस्। हामी तपाईंको समिपमा रहेर कसरी काम गरेका थियौं ।  म आज तपाईंहरुलाई फेरी विश्वास दिलाउन चाहन्छु, हिजो हामीले जे गरेका थियौं, त्यो भविष्यमा पनि गर्छौं ।

हामी चुनाव जितेपछि तपाईंहरुको सम्पर्कबाट भाग्ने वाला होइनौं । कम्तिमा हाम्रो टीमले जे भन्छ त्यो पूरा गरेर छाड्छ, आजका दिनमा यो हाम्रो टीमका तर्फबाट सामूहिक प्रतिवद्धता पनि हो । 
तपाईंहरु आफै मनन गर्नुहोस्, तपाईंहरु आफैले मूल्याङ्कन गर्नुहोस् । त्यो टीम छान्ने वा यो टीम छान्ने ? निर्णय गर्ने अधिकार तपाईंको हो ।

आदरणीय साथीहरु,

स्वभाविक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षका रुपमा शेखर गोल्छाले हाम्रो टीमको नेतृत्व गर्नुहुनेछ । 
चार महिना अघि मैले मेरो घोषणा सभामा भनेको पनि थिएँ, उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशिल टीम बन्नेछ । यो टीम उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र  साझेदारसँग साझेदारी गर्ने सवालमा एक र एक जोडेर दुई होइन्, एक र एक जोडेर एघार बन्नेछ ।

मैले यो मञ्चबाट शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ?, त्यो के का लागि ?

आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिना अघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन् भनेर कसले लविङ गरेको थियो ?,  भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नै पर्छ । 

यो चुनावमा जसले जिते पनि शेखरजी अध्यक्ष हो, हामी यो चुनाव जित्छौं, हामी त्यसमा विश्वस्त पनि छौं । जब हामी जित्छौं, हामी उहाँको टीमको सदस्य हौं। सायद उहाँका लागि यो साधरण जानकारी मात्रै होइन यो एउटा सन्देश पनि हो ।

यो सन्देश कठिन अवस्थामा रहेको महासंघलाई एक ढिक्का बनाउन हो, यो सन्देश निजी क्षेत्रमा बल सिर्जना गर्न हो । यो सन्देश हामी भित्र विश्वास जगाउन हो ।

आदरणीय साथीहरु,

हामीले भनेका छौं निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राको दरिलो खम्बा हो । तर समृद्धिको यात्रामा यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन्, चाहिएको बेला अभिभावकको भूमिका पाउन सकिरहेको छैन ।

तपाईं हाम्रो अबको यात्रा त्यो सम्मान पाउनका लागि हुनेछ, राज्यबाट अभिभावकत्व पाउनका लागि हुनेछ । 

हिजो अस्ती राज्यसँग लडेर त्यो भूमिका खोज्नुपर्दथ्यो, सम्मान माग्नु पर्दथ्यो । तर आज लडाईं होइन संवाद गरेर हाम्रा हक खोज्नुपर्छ । हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ । हाम्रो यो टीमले त्यसका लागि दिलो ज्यान दिए काम गर्नेछ ।

मैले मेरो घोषणा सभामा पनि भनेको थिएँ, निजी क्षेत्र आर्थिक विकास र रोजगारी सृजनाको बलियो इन्जिन हो । यो इन्जिनलाई चलाउन निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ ।

औद्योगिक र व्यापारिक वातावरण बनाउन हामीकहाँ अझै थुप्रै काम गर्न बाँकी छ । ती के काम हुन भनेर हामीले पहिचान गरिसकेका पनि छौं। हामी नेतृत्वमा आउना साथ ती क्षेत्रमा काम थाल्नेछौं ।

जिल्ला नगरका साथीहरुलाई थप विश्वास दिलाउन चाहन्छु, हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागी उद्योग बाणिज्य संघको सिफारिश चाहिने कुरालाई हामीले उठाउने छौं । नगरपालिकाको ब्यवसायिक करमा उद्योग बाणिज्य संघलाई ३०÷७० को सहभागिता लागू गर्न पहल गर्नेछौं ।

निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तिमा बार्षिक पाँच लाख रुपैयाँको आम्दानीको श्रोत जुटाउनका लागि मोडल बनाउने छौं । उद्यमशीलता बिकासका तालिम दिने,  एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरी लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा रहनेछ । त्यसैगरी जिल्लाका नापतौल, अनुगम, बैकिङ, राजस्व लगायतका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने प्रतिवद्धता पनि व्यक्त गर्दछौं । 

हामीले भनेका पनि छौं,  यी कामका लागि हामी नेतृत्व मात्रै होइन्, महासंघको सचिवालयलाई पनि विश्वासिलो, भरपर्दो र डायनामिक बनाउँछौं । 

हाम्रो टीमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भियाउन, नयाँ प्रविधि भियाउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ्ग गर्नेछ । 

हामीले महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न प्रयास गर्नेछौं । त्यस चौतारीमा सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने काम हामीले गर्ने छौं । 

कारोना महामारीले उद्योग र व्यवसाय सबैभन्दा बढी मारमा छ । इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था हामीले भोग्न थालेका छौं। अझै पनि यो महामारीले कुन रुप लिने हो स्पष्ट भएको छैन् । त्यही कारण यो संकटसँग जुध्न पनि हामीलाई बलियो काँध चाहिएको छ । 

महामारीको यो बेलामा ज्यान जोगाउने र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्ने छ । 
नेतृत्व भनेको संकटको सारथी हो, दुःखको बेला सम्झिने आडभरोसाको केन्द्र हो ।

त्यसैले प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न मेरो टिमका सबै साथीहरुलाई अपिल गर्दछु । 

धन्यवाद ।

परेली क्याटरिङ्ग, बालुबाटार
असार ३०, २०७७
(नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत, एशोसिएट र जिल्ला उपाध्यक्षका लागि उम्मेदवारी घोषणा कार्यक्रममावरिष्ठ उपाध्यक्षका उम्मेदवार श्री चन्द्रप्रसाद ढकालले व्यक्त गर्नुभएको विचारको पूर्ण पाठ ।)

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर