‘स्टेच्यू अफ सिद्धनाथ बाबा’ र म्युजियम सर्वसाधारणका लागि खुला

महेन्द्रनगर। क्याप्टेन वेद उप्रेती ट्रस्टले कञ्चनपुरको महेन्द्रनगरमा ‘स्टेच्यू अफ सिद्धनाथ बाबा’ र म्युजियम परिसर शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ।

ट्रस्टका सञ्चालक क्याप्टेन उप्रेतीले स्टेच्यू अफ सिद्धनाथबाबा र म्युजियम परिसर सर्वसाधारणका लागि खुला गरेको बताए। उनले भने, “लकडाउन र महामारीले सञ्चालन  समयमा गर्न सकेनौं।”
उनले पछिल्लो समय म्युजियम परिसरमा फोटो खिच्ने, टिकटक बनाउने क्रम बढेपछि निर्माणाधीन म्युजियमबाहेक स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुला गरेको बताए। उनले भने, “अवस्था ठीक भए सबै सेवा नियमित गर्ने छौं।”

परिसरबाहिर स्टेच्यू अफ सिद्धनाथाबाबा, स्वीमिङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूरपश्चिमका पर्यटकीय स्थलहरुका हवाई चित्रहरु रहेका छन् भने भित्र अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन कक्ष छन्।

यसले विद्यार्थीहरुलाई प्रेरणा, सिद्धनाथ बाबाको दर्शनपश्चात पाइने सन्तुष्टि, युवाहरुलाई थ्रि डी र अप्स एण्ड डाउनको आकर्षण र गर्मीमा नौ धारासहितको स्वीमिङ पुल र हेलिकोप्टरभित्र बसी जो कोहीले खिच्न पाउने फोटोग्राफको अवसरले यो संरचना सुदूरपश्चिमको आर्कषक पर्यटकीय स्थल बन्ने बताए। सो संरचनाका लागि क्याप्टेन उप्रेतीकी आमा सरस्वती र क्याप्टेन स्वयंले ट्रस्टका लागि जग्गा दान गरेका छन्। जग्गाको मूल्य तीन करोड रुपैयाँ पर्छ। म्युजियमको निर्माणमा चार करोड रुपैयाँसमेत गरी सात करोड रुपैयाँको लागतमा म्युजियम बनेको हो। जग्गा दान र म्युजियम बनाउन हौसला प्रदान गर्ने आमा सरस्वतीको उक्त परिसरभित्र शालिक बनाइएको छ।

ट्रस्टले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सो स्थलमा प्रवेश निस्शुल्क गरेको छ। अन्यको हकमा प्रवेश शुल्क ५० रुपैयाँ निर्धारण गरिएको छ। म्युजियम पूर्णरुपमा सञ्चालनमा आइसकेपछि भने विद्यार्थीलाई १०० रुपैयाँ र अन्यका लागि १५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ।

ट्रस्टले यसअघि धनगढी र काठमाडौंमा म्युजियम सञ्चालनमा ल्याइसकेको छ। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर