‘आमा अदमकुमारी स्मृति प्रतिष्ठान’ स्थापना

बागलुङ ।  गलकोट नगरपालिका–५ हरिचौरकी अदमकुमारी खत्रीको स्मृतिमा ‘आमा अदमकुमारी स्मृति प्रतिष्ठान’ स्थापना गरिएको छ । उनका छोराहरु देवबहादुर, तोपनारायण, कर्णबहादुर, ज्ञानबहादुर, दुर्गाबहादुर र छोरी देवीकुमारी क्षत्रीले दिवङ्गत आमाको सम्झनालाई चीरस्थायी बनाउन प्रतिष्ठान स्थापना गरेका हुन् ।

त्रिहत्तर वर्षीया अदमकुमारीको हालै निधन भएको थियो । आमाको ४५औँ दिनको पुण्यतिथि पारेर प्रतिष्ठान स्थापना गरिएको  दुर्गाबहादुरले जानकारी दिए । प्रतिष्ठानमार्फत शिक्षा, साहित्य र परोपकारका क्षेत्रमा काम गर्ने उद्देश्य लिइएको छ ।

“आफूले औपचारिक शिक्षा नलिए पनि आमाले हामीलाई पढाउनुभयो, सामाजिक सेवामा पनि आमाको झुकाव थियो”, दुर्गाबहादुरले  भने, “आमाको सम्मानमा संस्थागत र जीवन्त ढङ्गले केही काम गर्न सकियोस् भनेर प्रतिष्ठान स्थापना गरेका हौँ ।” प्रतिष्ठानको संरक्षकमा स्व अदमकुमारीका पति मानबहादुर खत्री र छोराछारी संस्थापकका रूपमा रहनुभएको छ । तत्काललाई रु पाँच लाख प्रतिष्ठानको कोषमा जम्मा गरिएको र बढाउँदै लगेर एक करोड पु¥याउने लक्ष्य रहेको खत्री परिवारले जनाएको छ ।

शैक्षिक छात्रवृत्ति कार्यक्रम, विपद् कोषलगायत मानवीय सेवाका क्षेत्रमा कार्ययोजना बनाएर अघि बढ्ने प्रतिष्ठानको योजना छ । गलकोट साहित्य कुञ्जसँगको सहकार्यमा ‘नारी सम्मान पुरस्कार’ पनि स्थापना गर्ने निर्णय भएको संस्थापक दुर्गाबहादुरले बताए । 

गलकोटमा जन्मेर नेपाली भाषा, साहित्यको उन्नयनमा योगदान पु¥याउने नारी व्यक्तित्वलाई पुरस्कृत गरिने कुञ्जका संयोजक बेलुकाजी थापाले बताए । उनले गलकोट क्षेत्रमै पहिलोपटक साहित्यिक पुरस्कार स्थापना भएको बताए । 

पुरस्कारको राशिबारे प्रतिष्ठान र कुञ्जबीचको छलफलबाट टुङ्गो लगाइने भएको छ । पुरस्कारको कार्यविधि पनि बनाइने कुञ्जले जनाएको छ । प्रतिष्ठानले कोष उपलब्ध गराउने र सोहीमार्फत कुञ्जले पुरस्कार सञ्चालन र व्यवस्थापनको काम गर्ने भएको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर