सार्वजनिक शौचालय भएका ठाउँहरु शौचालयभन्दा अन्य व्यापारिक गतिबिधि गर्ने ठाउँ जस्ता देखिएः मेयर शाक्य 

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाका व्यस्त शहरमा हुने गरेको सार्वजनिक शौचालयहरु भएका ठाउँहरु शौचालयभन्दा अन्य व्यापारिक गतिबिधि गर्ने ठाउँ जस्ता देखिएको बताएका छन् ।

विश्व शौचालय दिवस २०२० को अवसर चक्रपथ सडक खण्डको स्वयम्भु बुद्धपार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको शुभारम्भ गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । उनले त्यस्ता क्रियाकलापलाई निरुत्साहित गर्दै पहुँचयुक्त सार्वजनिक शौचालयलाई प्रोत्साहित गर्दै लैजाने योजना अनुसार आज यो सौचालयको शुभारम्भ गरेको बताए । 

शाक्यले व्यक्तिको आधारभूत आवश्यकतासँग जोडिएकाले सार्वजनिक शौचालय निर्माणलाई प्राथमिक योजना राखेर काम गरिरहेको भन्दै आधुनिक सामाग्रीको जडान गरेपछि त्यसलाई सञ्चालन गर्ने आचरण पनि प्रबिधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए । प्रमुख शाक्यले सार्वजनिक शौचालयलाई परम्परागत स्वरुपबाट आधुनिक तथा अत्याधुनिक ढाँचामा रुपान्तरण गर्ने र व्यवसायिकताबाट सेवामुलक बनाउँदै लैजाने महानगरको योजना रहेको बताए । 

काठमाडौँ महानगरपालिकाले सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाएको छ । यसै क्रममा आज स्वयम्भू बुद्ध पार्कमा अत्याधुनिक शौचालय शुभारम्भ गरिएको हो । ४०० बर्ग फिट क्षेत्रफलमा निर्माण भएको छ । 

यस बर्ष ‘दिगो सरसफाइ र जलबायु परिवर्तन’ नारासहित विश्व शौचालय दिवस मनाइँदैछ । यो दिगो विकास लक्ष्य २०३० को लक्ष्य ६ सँग सम्बन्धित छ । यसमा सन् २०३० सम्ममा सबैका लागि पानी र सरसफाइको पहुँच पु¥याउने कुरा उल्लेख छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर