• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विद्यालय सञ्चालनबारे सरोकार पक्षसँग सुझाव माग

लुम्बिनी ।  बुटवल उपमहानगरपालिकाले कोभिड–१९ को महामारी रोकथामलाई प्रभावकारी बनाउँदै विद्यालय सञ्चालनको अवस्थाबारे सरोकार पक्षसँग सुझाव माग गरेको छ । उपमहानगरले जनस्वास्थ्यको संवेदनशीलता र बालबालिकामा रहेको जोखिमलाई मध्यनजर गरी विकल्पसमेत तय गरेर कार्ययोजना माग गरेको हो । 

शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा नागरिक अगुवासँग महामारीबाट जोगिँदै विद्यायल सञ्चालन गर्ने उपायका बारेमा उपमहानगरले सुझाव माग गरेको हो । उपमहानगरलाई नागरिकस्तरबाट पनि विभिन्न माध्यमबाट सुझाव दिन सकिने जनाइएको छ ।

बुटवल उपमहानगरले कोभिड–१९ को सङ्क्रमण कम रहेका वडाका विद्यालयमा पठनपाठन नियमित गराएको छ भने सङ्क्रमणको जोखिम धेरै भएको ठाउँमा के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग सुझाव माग गरेको छ । उपमहानगरले सार्वजनिक विज्ञप्ति जारी गर्दै विद्यालयसँग कक्षा सञ्चालनका लागि कार्ययोजना माग गरेको छ । मङ्सिर ८ गतेसम्ममा कार्ययोजना पेश गर्नुपर्ने छ ।

बुटवलका वडा नं १ देखि १३ मा रहेका सामुदायिक र संस्थागत विद्यालयमा नियमित कक्षा सञ्चालनको अवस्था, सम्भावना र जोखिमका बारेमा विस्तृत विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख शिवराज सुवेदीले बताए । तोकिएका वडाका विद्यालयबाट आउने कार्ययोजना र सुझावलाई अध्ययन गरेर स्वास्थ्यसम्बन्धी विज्ञ, चिकित्सक, प्राविधिकसँग थप छलफल गरेर कक्षा सञ्चालनको निर्णय गरिने प्रमुख सुवेदीले बताए । 

स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै थप व्यवस्थित ढङ्गबाट सिकाइ केन्द्र सञ्चालन गर्नेबारेमा वडा तहबाटै वस्तुगत अवस्थाको यथार्थता र सम्भावित जोखिमको आँकलनसहित सुझाव माग गरिएको प्रमुख सुवेदीको भनाइ छ । कोभिड सङ्क्रमणको जोखिम उच्च रहेकाले विद्यालय सञ्चालनका लागि विशेष सतर्कता अपनाउन जरुरी भएकाले विद्यार्थी सङ्ख्या र उपलब्ध भौतिक पूर्वाधारसमेत मध्यनजर गरी स्वास्थसम्बन्धी तोकिएका मापदण्डहरु पूर्णत पालना गर्ने गरी उपयुक्त विकल्प प्रयोग गर्न निर्देशन दिइएको प्रमुख सुवेदीले बताए । 

कोभिड सङ्क्रमणको जोखिम उच्च रहेकाले विद्यालय सञ्चालनका लागि विशेष सतर्कता अपनाउन जरुरी भएकाले विद्यार्थी सङ्ख्या र उपलब्ध भौतिक पूर्वाधारसमेत मध्यनजर गरी स्वास्थ्यसम्बन्धी तोकिएका मापदण्डहरु पूर्णत पालना गर्ने गरी सरोकारवालको सहकार्यमा ती वडामा विद्यालय सञ्चालनको कार्ययोजना बनाइने छ ।
     
उपमहानगरले वडा नं १ देखि १३ सम्मका क्षेत्रलाई सङ्क्रमितको सङ्ख्या, सक्रिय सङ्क्रमित र निको भएका दरका आधारमा अझै पनि जोखिमयुक्त मानेको छ । जोखिमयुक्त यिनै वडामा रहेका विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्न सकिने–नसकिने विषयमा कार्ययोजना माग गरिएको हो । बुटवलका वडा नं १४ देखि १९ सम्म कोभिड सङ्क्रमणको जोखिम कम रहेका क्षेत्र हुन् । यहाँका सङ्क्रमितको सङ्ख्या, निको हुनेको सङ्ख्या र सक्रिय सङ्क्रमितको अवस्थाका आधारमा यी वडालाई जोखिम कम रहेको मानिएको हो ।
     
सङ्क्रमण भएका, निको भएका, सक्रिय सङ्क्रमित रहेका सङ्ख्याका आधारमा जोखिमको अवस्थाको मूल्याङ्कन गर्दै शिक्षण सिकाइ केन्द्रहरु मापदण्ड पूरा गरेर सञ्चालन गर्न अनुमति दिइसकिएको उपप्रमुख गुमादेवी आचार्यले बताए । उनले जोखिम रहेका क्षेत्रमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर कार्ययोजना माग गरिएको बताए । 

वडा नं १४ देखि १९ मा रहेका सामुदायिक र संस्थागत दुवै विद्यालयमा शिक्षण सिकाइका कक्षा दशैँको पूर्णिमाको भोलिपल्टदेखि नै नियमित सञ्चालनमा रहेको र त्यहाँ पनि स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । उपमहानगरका शिक्षा, स्वास्थ्य तथा जनसङ्ख्या महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालका अनुसार बुटवलमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार ७३ रहेको छ । उपमहानगरपालिकामा हाल ४११ सक्रिय सङ्क्रमित छन् ।                                                        

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर