‘शासकहरुले बाटो बिराएका बेला’ रवि ओडको स्वरमा झुपडी र बुकुरोको कथा 

देशले कोल्टे फेर्ला, फेर्ला जस्तो भएको बेला कतै यो परिवर्तन पनि अधकल्चो त रहने होइन ? यो आशंका छाउन थालेको छ । गीतमा गितकार अनुरागीले देश, जनता र नेताहरुको वर्तमान यथार्थ अवस्था उतारेका छन् ।

त्यो चुहिने झुपडीबाट जीवनयात्रा शुरु । जो चुहिने झुपडीबाट हिडयो, उसको यात्राको साइनो सिधै संघर्षमै आएर जोडिने हो । संघर्षले डोर्याउँदै सम्पन्नताको मार्गतर्फ अघि बढेका सन्तानप्रति आमा बाबाका आशा । ती आशाका टुक्राहरुको यथार्थ जीवन कथालाई गीत बनाएर ल्याएका छन्, संगीत संयोजक वीवी अनुरागीले । “म एक दिन” बोलको यस गीत सुन्दा प्रायः मानिसले त्यसभित्र आफ्नै कथा र व्यथा पाउन सक्छन् । ‘नेपाल आइडियल सिजन–२’ का विजेता रवि ओडको स्वरमा रहेको यस गीतका प्रत्येक शब्दहरु निकै सरल तर, गम्भीर भाव बोकेका हृदयस्पर्सी खालका छन्–  

म एक दिन झरिमा निथ्रुक्क भिजे
त्यो चुहिने झुपडीकी आमालाई सम्झे
म एक दिन चर्को घाममा हिंडे
त्यो आगो सहेको बाबालाई सम्झे...

कुनै पनि सन्तान आमा–बाबाका निम्ति आशाका टुक्रा हुन्छन् । चुहिने झुपडी र बुकुरोभित्रै जन्मिएको सन्तान किन नहोस्, आमा–बाबाका निम्ति आफ्नो त्यो सन्तान दरबारमा जन्मिएको राजकुमार जस्तै लाग्छ । आफ्नो सन्तान हरेक आमा–बाबाका निम्ति सबै भन्दा  प्रिय लाग्छ । आफ्नो सन्तानको सुन्दर भविष्यका निम्ति उनीहरुले घामपानी  नभनेर दशहण्डर दुःख खेपिरहेका हुन्छन् । दुःख पिडा र व्यथाहरुलाई आफ्नै मनभित्रै दवाएर आफ्ना सन्तानका रहरहरुलाई खुशी साथ पूरा गर्ने प्रयास गरिरहेका हुन्छन् आमा–बाबाले । 

सन्तान समयक्रमसँगै हुर्किएर बढ्दै जाँदा जब दुःख र कष्टका पहाडहरुसँग ठोकिन थाल्छ । उ जहाँ ठोकिन्छ त्यहीँबाट आफ्ना बाबा–आमाले आफूलाई हुर्काउँदा व्यहोर्नु परेको दुःख र सास्तीलाई अनुभूत गर्न थाल्दछ । आफू झरिमा भिजेपछि  बल्ल चुहिने झुपडीमा आफू भिजेरै भएपनि आफ्नो सन्तानलाई त्यो पानीबाट जोगाउन कोखिलाभित्र आमाले च्यापेको त्यो मातृत्वको न्यानो काखको अनुभुति गर्छ उसले ।

चर्को घाममा हिंडेपछि मात्र उसले बल्ल बुझ्छ, आफ्ना सन्तानको पेट भोकै नरहोस् भनेर बाबा प्रचण्ड गर्मीमा पनि काममा जोतिइरहनुको अर्थ । आफू भोकै प्यासै रहेरपनि सन्तानको पेट भर्नका लागि अहोरात्र काममा खटिइरहने बुकुरो र झुपडीभित्रका ती बाबा–आमाहरुको यथार्थ मर्म । यतिबेला बजारमा आएको यो गीतले यी भावहरुलाई लय र मिठास स्वरमा उनेको छ ।

झुपडीभित्र जन्मिएर गरिबी, अभाव र तिरस्कारसँग संघर्ष गर्दै सफल जीवनतर्फ अघि बढिरहेका मानिसहरुको मनमा उब्जने मनोभावलाई गीतका शब्दहरुमा टपक्क टिपेर  उतार्ने प्रयास गरेका छन् गीतकारले यहाँ । मानिस सम्पन्नताको जतिसुकै उचाईमा किन नपुगोस् उसलाई आफ्नो  विपन्नतामा बितेको त्यो अतितले पलपलमा झस्काइरहेको हुन्छ । फरक यति हो कि कसैले त्यो अभिव्यक्त गर्छन त कसैले लुकाएर अभिनय गर्छन् ।

गरिबी र विपिन्नतामा बितेको त्यो विगत सम्झँदा आफ्नो अहिलेको प्रतिष्ठामा आँच पुग्ला भनेर, आफ्नो त्यो विगत छिपाउने मानिसहरुको कुनै कमी छैन यो समाजमा । सहर बजारको रमझम र विदेशी संस्कार संस्कृतिको मोहमा फसेपछि कतिपय मान्छेहरुले झुपडी र बुकुरो भित्रका मानिसहरुलाई घृणा गर्न थाल्छन् । गाउँको पाखापखेराको बुकुरोभित्र बस्ने आफ्नै आमा–बाबालाई समेत ‘अबुझ र पाखे’ लाग्न थाल्छ उनीहरुलाई ।

सम्पन्नताको पोशाक भिरेर दरिद्र सोचाई राख्ने त्यस्ता निर्दयी मानिसहरुले बृद्ध अवस्थाका आफ्ना आमा–बाबालाई बृद्धाश्रम पुराएर छोडेको पनि हामीले देखिरहेका छौं । सहरिया र सम्पन्नताको कथित सभ्य जीवनमा रमेको उसलाई ती आफ्ना आमा–बाबा हुन भन्न पनि लाज लाग्छ । मानवीय संवेदना गुमाएका त्यस्ता अमानवहरुलाई कसिलो झापड दिएका छन् गीतकारले यस गीतमार्फत् ।

गीतमा हाम्रो समाजभित्रका  धेरै पक्षहरुलाई समेट्न खोजेको प्रष्ट बुझ्न सकिन्छ । हाम्रो समाजभित्र श्रम गर्ने श्रमजीवी वर्गलाई हिन–हेलत्वको दृष्टिले हेर्ने, छुवाछूत र जातीय विभेदको व्यवहार गर्ने जुन गलत सोचाई र प्रवृत्तिहरु विद्यमान छन् । त्यसलाई पनि गीतकारले यस गीतमा प्रष्ट इंगित गर्न खाजेको देखिन्छ–
                                                    
म एक दिन शहरको रसरंगमा थिएँ
पुरानै त्यो थाली र बटुकी सम्झे
मकैको अर्नि पोको पारेर
आमाले बाँधेको त्यो पटुकी सम्झें
हेला तिरस्कार भरिएको
नमिठो सत्य कहानी हाम्रो
बल्झेर फेरि चस्किन्छ मुटु
म छोरा त त्यही हु त्यही झुत्रो झाम्रो....

युगले एक्काईसौं शताब्दीमा पाइला लम्काइरहेको छ । यद्यपि नेपाली समाजमा भने सोह्रौं शताब्दीका मध्ययुगीन बर्बरता झल्काउने घटना परिघटनाहरु अहिले पनि घटिरहेका छन् । छुवाछूत र जातीय विभेद जस्ता कुप्रथा नेपाली समाजमा अहिले पनि दोहोरिरहेका छन् । जुन वर्ग र समुदायले सबैभन्दा बढी श्रम गर्छ, पसिना बगाउँछ उसैलाई हिनहेलत्व र छोइछिटो गर्ने प्रचलन हाम्रो समाजमा अहिले पनि जीवित छ । त्यही गलत सोंच नै यतिबेला नेपाली समाजको प्रगतिका पथहरुलाई गति लिन दिइरहेको छैन ।

‘हेला तिरस्कार भरिएको, नमिठो सत्य कहानी हाम्रो’ गीतभित्र रहेको यस पंक्तिले नेपाली समाजमा विद्यमान आसमानताको त्यही पहाडलाई, त्यही कुप्रथालाई नै इंगित गरेको प्रष्ट बुझ्न सकिन्छ । त्यसो त गीतकार अनुरागी स्वयं त्यही वर्ग र समुदायबाट उदाएका क्षमता बोकेका श्रष्टा हुन । आफ्नो समुदायप्रति समाजका  कथित उच्च जाति भनाउँदाहरुले गरेको हेला र तिरस्कारलाई उनले धेरै नजिकबाट नियालेका छन् ।

आफ्ना आमा–बाबाले समाजको हिनहेलत्व र तिरस्कार सहँदै आफूहरुलाई हुर्काउन, बढाउन र पढाउन गरेको संघर्षले उनको मनमा पारेको गहिरो प्रभाव यस गीतमा प्रतिविम्वित भएको हुन सक्छ । तर यो गीत उनको आफ्नै मात्र जीवनकथा मान्नु पनि सायद त्यो सहि हुने छैन । किनकि त्यस्ता भोगाई र घटनाहरु धेरै मानिसको जीवनमा घटेका हुन सक्छन् । यस गीतमा प्रतिविम्वित भाव धेरै मानिसको जीवनकथासँग मिल्न जान्छ । त्यसैले यसलाई बुकुरो र झुपडीभित्र हुर्केका आशाका टुक्राहरुको साझा कथाको रुपमा लिनु नै उचित हुनेछ । गीतले जातीय विभेद, असमानता र गलत सोचका बिरुद्धमा मात्र होइन देशको राजनैतिक अवस्थाका बारेमा पनि  बोलेको छ–

जमाना फेरियो पहिरन फेरियो
फेरेन यो देश र समाजले कोल्टो
गरिब दुःखीको दिन आएन
थपिरहेछ समयले पोल्टो
सुनौलो किरण खोज्छ उदाउन
विचैमा बन्छ अधकल्चो....
                    
हो, देशमा धेरै राजनैतिक आन्दोलनहरु भए । निरंकुश राजतन्त्रलाई विदा गरेर नेपाली जनताले देशमा  गणतन्त्रको स्थापना गरे । राजनैतिक व्यवस्था ने परिवर्तन भयो । तर जनताको जीवनमा कहिल्यै परिवर्तन आउन सकेको छैन । कुर्सीमा बसेर शासन गर्ने मान्छेहरु फेरिए तर शासन गर्ने शैली फेरिएन । जनताको झुपडी र बुकुरोमा खुशीको दिप कहिल्यै बल्न सकेन ।

देशमा केही पनि परिवर्तन नै भएके छैन भन्ने होइन । केही परिवर्तन अवश्य भएको छ । तर जनताले खोजे झैं परिवर्तन अझै हुन सकेको छैन । समाजको सोच र जनताको जीवनस्तरमा खासै परिवर्तन आउन सकेको छैन । राजनैतिक दलका उच्च नेतृत्व तहको सोच मै परिवर्तन आउन सकेको देखिएन । जनताले त्यस्तो महान बलिदानी दिएर ल्याएको गणतन्त्र, जनताका आफ्नै प्रतिनिधिहरु गएर संविधानसभा मार्फत्  लेखेको संविधान, त्यही नै धरापमा पर्ने हो कि भन्ने सन्त्रास छाउन थालेको छ ।

प्रमुख राजनैतिक दलहरुभित्र जुन प्रकारले किचलो बढ्दै गैरहेको छ, यसले ती राजनैतिक दल र त्यसका नेतृत्वहरुको सोचमा कुनै परिवर्तन आउन नसकेको प्रष्ट भएको छ । अनियमितता, भ्रष्टाचार, अराजकता, दण्डहिनता कमि आएको छैन । राष्ट्रियता दिन प्रतिदिन खतरामा पर्दै गैरहेको छ । अहिले पछिल्लो समयमा दुई तिहाई बहुमत प्राप्त गरी सत्तासिन रहेको दल भित्रै आन्तरिक विवाद जसरी चुलिंदै गैरहेको छ । 

देशले कोल्टे फेर्ला, फेर्ला जस्तो भएको बेला कतै यो परिवर्तन पनि अधकल्चो त रहने होइन ? यो आशंका छाउन थालेको छ । गीतमा गितकार अनुरागीले देश, जनता र नेताहरुको वर्तमान यथार्थ अवस्था उतारेका छन् । झट्ट सुन्दा यो गीत रवि ओडको आफ्नै जीवनकथा हो कि जस्तो पनि लाग्न सक्छ, तर यो उनको मात्र कथा पनि होइन । नेपाल आइडल सिजन–२ का विजेता रवि झुपडीबाटै उदाउका गायकका रुपमा धेरैले  बुझ्ने गर्छन । भित्री हृदयदेखि नै समर्पित भावले रविले जसरी यो गीतलाई गाएका छन त्यसले यो गितलाई झनै कर्णप्रिय बनाएको छ ।

गीतका शब्दहरुले भाव अनुरुपका संगीत र स्वर पाउन सकेनन् भने त्यो गीतमा त्यति मिठास आउँदैन । तर यहाँ त्यस्तो गुनासो गर्ने कतै ठाउँ देखिंदैन । गीतको दृष्य पनि अति सरल बनाइएको छ । गीतको  भिजुअलमा कुनै मोडल वा छुट्टै कलाकारबाट अभिनय गराइएको छैन । उही झुपडीबाट उदाएका गायक रवि ओडले नै अभिनयमा छन् । 
.........

गरिबी र विपन्नताबाट उदाएर पछि केही सम्पन्न हुँदै गरेका हरेकको जीवनकथा जस्तै लाग्ने यस गीत मार्फत् आफूले धेरै कुरा समेट्न खोजेको गीतका सर्जक तथा संगीतकार एवं संगीत संयोजक विवि अनुरागी बताउँछन् । “सम्पन्नताको शिखर चढिरहेका मानिसहरु, जसले आफ्नो धरातल बिर्संदै गएका छन् , उनीहरुलाई आफ्नो विगत सम्झाउन र तिनको गलत  सोंचमा परिवर्तन ल्याउन यो गीतले अभिप्रेरित गर्ने छ भन्ने अपेक्षा मैले लिएको छु”, आफ्नो सृजनाप्रति  ( सर्जक अनुरागी भन्छन्–“हाम्रो समाजको सोंचमा अझ पनि परिवर्तन आउन सकेको देखिदैन । कैयौं मानिसहरुले आफूमाथि पुगेपछि तलको धरातल विर्सन पुगेको पाइन्छ । देशको राजनैतिक नेतृत्वको सोंच र कार्यशैलीमा पनि खासै फरक आएको देखिएन । जनतालाई जुन व्यवस्था, पार्टी र नेताहरु आए पनि हात्ती आयो–हात्ती आयो फुस्सा ” जस्तै भएको छ ।

कुनै एउटै विषय भन्दा पनि खासगरी हाम्रो समाजममा विद्यमान पिछडिएको सोंचमा परिवर्तन ल्याउन मद्दत पुगोस् भन्ने उद्देश्यका साथ यो गीत दर्शक स्रोता समक्ष ल्याएको उनी बताउँछन् । समग्रमा भन्नुपर्दा–“म एक दिन” एउटा चेतनामूलक गीतको रुपमा आएको छ । एउटा ब्यवसायिक कलाकारबाट यसप्रकारको चेतनामुलक गीत आउनु प्रगतिशीलता हो । 

गीतमा प्रगतिशील  सास्कृतिक आन्दोलनमा लामो समय देखि कृयाशील सर्जककै शब्दहरु पस्किएका छन् । जनवादी गाएक जीवन शर्माका गीतहरुको  झल्को दिन्छ  यो गीतले पनि ।  गाउँवस्ती र झुपडीबाट उदाएर पछि सहरिया सुकिला–मुकिला जीवनशैलीमा पुगेकाहरुलाई आफ्नो धरातल नभुल्न अभिप्रेरित गर्दछ यो गीतले  । बाटो बिराउँदै गैरहेका राजनैतिककर्मीहरुलाई पनि झक्झकाउँछ । सबै भन्दा मुख्य कुरा पुरातनवादी सोंचमा  परिवर्तन ल्याउन प्रत्येक मानिसलाई घच्घच्याएको छ यस गीतका शब्दहरुले । 

कुनै एउटा व्यक्ति विशेषको नभई धेरै मानिसको जीवनकथासँग मेल खान्छ यो गीतको भाव । हुन त यसप्रकारका चेतनामूलक गीतहरुले वर्तमान पुँजीवादी बजारमा त्यति व्यवसायिक सफलता नपाउन पनि सक्छन् । तर एउटा सर्जकको दायित्व व्यवसायिक मुनाफा आर्जन गर्नु मात्र कदापी हुँदैन । देश, जनता र समाजलाई सचेत र जागरुक पार्नु पनि एउटा सर्जक कलाकारको  दायित्व र कर्तव्य हुन्छ ।  यस गीत मार्फत् सर्जक विवि अनुरागीले त्यही दायित्व निभाउन खोजेको देखिन्छ । 

यस्ताे छ गीत

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर