प्रदेश सरकारको पहिलो प्रथामिकता राजधानी सहर र सुर्खेत विमान स्थल 

सुर्खेत । कर्णाली प्रदेश सरकारले विकास निर्माणका लागि राजधानी सहर वीरेन्द्रनगर र सुर्खेत विमान स्थललाई पहिलो प्रथामिकतामा राखेको छ ।  

विकास निर्माणको कामलाई तिव्रता दिने क्रममा प्रदेश राजधानी वीरेन्द्रनगरको एकृत विकास गर्नको लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा एउटा समिति बनाएर उक्त विकास निर्माणको कामलाई अगाडी बढाउन थालिएको हो । 

मन्त्री ज्वालाको संयोजकत्वमा रहेको समितिको यहि मंसिर ८ गते बसेको बैठकले कर्णाली प्रदेश राजधानी सहर वीरेन्द्रनगर बजार क्षेत्रको प्रदेश र संघीय सरकारको सहलगानीमा समपूरक आयोजनाको रुपमा अघि बढेका वीरेन्द्रनगरको प्रमुख सहरी  क्षेत्रमा कालोपत्रे गर्ने कार्यलाई शीघ्रता दिई गुणस्थरको अनुगमन गर्दै १ महिना भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । 

नगर क्षेत्रमा हाल २५ करोड लागतमा सडक निर्माण भइरहेकाले थप १५ करोडको टेण्डर आह्वान गरिने मन्त्री ज्वालाले बताए । यस्तै, वीरेन्द्रनगरको मुख्य बजार गणेशचौक–काठको पुलसम्मको सडक कालोपत्रे गर्ने कार्यको टेण्डर नगरपालिकालाई तत्काल अघि बढाउन निर्देशन दिइएको छ ।

सुर्खेत उपत्यका चक्रपथ निर्माण आयोजना प्रदेश सरकारलाई हस्तान्तरण भैसकेकाले यसलाई उच्च प्रथामिकतामा राखेर कर्णाली प्रदेश सरकारले अघि बढाउने मन्त्री  ज्वालाले बताए ।

‘प्रदेश राजधानीलाई केन्द्रित गरेर यो आर्थिक बर्षमा १ अर्ब १ करोड बजेट छुट्याईएको छ अब विकासका कामहरु तिब्र गतिमा अगाडी बढ्छन् ,‘मन्त्री ज्वालाले भने,‘यो भन्दा अगाडी बजेट बिनियोजित भए पनि कर्मचारीका कारण र केहि आन्तरिक कारणले खर्च हुन सकेको थिएन यो आर्थिक बर्षमा त्यस्तो हुदैन,।’

मुख्य पर्यटकीय स्थल काँक्रेविहार जाने मंगलगढी–लाटीकोईली सडक निर्माणमा कार्यलाई तत्काल सक्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।

यरिचौक–पतेनी–जैपुर, देउती–बज्यै चौखेढुंगा–काँक्रेविहार सडक र लाटीकोइली शीव मन्दीर–तल्लो पर्सेनी सडक स्तरोन्नती एवम् कालोपत्रेको लागि प्रदेश र वीरेन्द्रनगरको साझेदारीमा निर्माण गर्न छलफल गरिने छ ।

धुलियाविट–बाँगेशीमल खण्ड, मुख्य बजार क्षेत्रमा सीसी क्यामरा जडान, सोलार बत्ती र हरियाली बनाउन प्रदेश र वीरेन्द्रनगर नगरपालिकाको सह–लगानीमा काम अघि बढाइने छ ।

नेपाल सरकार र कर्णाली प्रदेश सरकार विच भएको एम. ओ.यू अनुसार नै सुर्खेत विमानस्थलको स्तरोन्नती र विस्तार कार्यलाई सहजीकरण गर्ने पनि मन्त्री ज्वाला ले बताए । मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विमानस्थल विस्तारका क्रममा विमानस्थलको लागि २५ देखि ३० विगाहा जग्गाको अनुमान गरिएको हुनाले त्यसको मुआब्जाको लागि ५० प्रतिशत प्रदेश र ५० प्रतिशत संघीय सरकारले तिर्ने सम्झौता भएको पनि उल्लेख गरेका गरे । 

वीरेन्द्रनगर नगरपालीकाका नगर प्रमुख देव कुमार सुवेदीले राजधानी सहरको लागि प्रदेश सरकारले विकासमा चासो देखाएकोमा धन्यवाद दिए । नगर प्रमुख सुबेदीले बजार क्षेत्रमा पछिल्लो समय विकासका काम भैरहेकोले राजधानीमा पार्किङको समस्या रहेको भन्दै उनले  यो समस्या पनि केहि दिन भित्र नगरपालिकाले समाधान गर्ने तयारी गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर