• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आँखाआँखा बोलिरहेका थिए, के अब हाम्रो जीवन यत्ति हो ?

निश्चलले मात्र आफ्नो पार्टी हैसियत भने । अरुले पेशागत परिचय नै दियौँ । हुन त निश्चलले त्यतिबेला हैसियत भन्नु र नभन्नुमा केही फरक थिएन । उनीहरूले सबै सूचना पहिला नै लिइसकेका थिए । 

‘हात माथि !’

कडा आवाजले कोठाको शान्त वातावरण भङ्ग गरिदियो । ढोकामा ६–७ जना नौला मानिसहरू ठिङ्ग उभिएका रहेछन् । उनीहरूका मुख रुमालले ढाकिएका थिए । प्रत्येकका हातमा पेस्तोल । हामीतिर ताकिएका । नालको टुप्पासम्म गोली आइपुगे जस्तो लाग्थ्यो । मानौँ, हात नउठाए गोली हामीलाई चुम्न आइपुग्थे ।

हामी ढोका ढप्काएर बसेका थियौँ । अचानक धकेलिएको थियो । नाटकमा पर्दा हटाएपछि नयाँ दृश्य आए झैँ माइक्रो सेकेण्डभित्र भयावह दृश्य ढोकामा देखियो । परिवेशले सबैलाई त्रसित बनायो । हाम्रो ‘हंश’ ले ठाउँ छाड्यो ।

हामी अन्यौल र अनिश्चयको भुमरीमा प¥यौँ । उनीहरू कभर लिँदै बिस्तारै अघि बढे । सबैलाई नियन्त्रणमा लिए । क्षणभरमै सबैका हात पछाडि लगेर डोरीले कसिए । के भइरहेको थियो त्यहाँ ? सोधखोज गर्न न सहज वातावरण थियो । न उनीहरूको तर्फबाट कोही बोल्यो । केहीबेर सियो खसे पनि आवाज आउने अवस्था रह्यो ।

फिरौतीका लागि अपहरण ? त्यसरी त मानिसलाई अपहरण गरेको समाचार र चलचित्रमा मात्र सुनिन्थ्यो, हेरिन्थ्यो । मनमा कुरा खेल्न थाल्यो – अहँ, अपहरण त हुनै सक्दैन । हाम्रो जीवन र हैसियतमाथि कसको आँट ? त्यसैले  त्यतातिर आशङ्का निमेषभर रहेन । क्रान्तिकारी विद्रोही हुनुको नाताले सत्तापक्षका सुरक्षाकर्मी नै हुनुपर्छ । तर कहाँबाट ? कसरी ? त्यत्रो सजगता अपनाउँदा पनि हामी फन्दामा प¥यौँ त ? विपना हो कि सपना देख्दैछौँ ?

आफैँले आफैँलाई सोधिएका क्षणभङ्गुर प्रश्नका ताँती थिए ती ।

जे होस्, हामी गिरफ्तार भयौँ । यथार्थ नै थियो त्यो घटना । न्याय र समानताका लागि विद्रोह बोलिएको थियो । राज्यले हामीलाई आफ्नो मृत्यु ठान्थ्यो । त्यसैले भेटाएरै छाड्यो । यद्यपि साँच्चै भन्ने हो भने गिरफ्तार होइन, अपहरण भन्न सुहाउने शैली थियो ।

उनीहरूमध्ये १ जना टोलीको कमाण्डर रहेछन् । हाउभाउ र आदेश सुन्दा थाहा भइहाल्यो । उनी चलचित्रको नायक झैँ प्रस्तुत हुन्थे ।

‘तँ को होस् ?’ उनी मलाई सोध्दै थिए, 

‘म रमेश गुरागाईँ ।’
‘ठेगाना ?’
‘झापा, दमक ।’
‘पार्टीको के हो ?’
‘केही होइन । म स्कुलमा पढाउँछु । क्याम्पस पढ्छु ।’

म अढाइ वर्षअघि पनि १ पटक प्रहरीको फन्दामा परेको थिएँ । हनुमानढोका (काठमाडौँ प्रहरी कार्यालय) पु¥याएर पनि पार्टीमा मेरो आबद्धता र जिम्मेवारी प्रष्ट हुन सकेन । त्यसैले उनीहरुले मलाई साँझमा छाडेका थिए । म ठान्थेँ, यसपटक पनि त्यस्तै होओस् ।

टोलीका कमाण्डर पालैपालो सबैतिर फर्किए । क्रमशः परिचय लिए । त्यसपछि सबै चुपचाप । पुनः सन्नाटा छायो ।
त्यसबेला पार्टी प्रतिबन्धित भएकाले सबै गतिविधि भूमिगत हुन्थे । पक्राउ परेपछि सिसिएम (केन्द्रीय समिति सदस्य) बाहेक अरूले पार्टी हैसियत नखुलाउने निर्णय थियो । निश्चल नकर्मी आरबिएम (क्षेत्रीय ब्यूरो सदस्य) थिए ।

कृष्णराज केसी पहिलादेखि नै डिसिएम (जिल्ला समिति सदस्य) । म भरखरै डिसिएम भएको थिएँ । निश्चलले मात्र आफ्नो पार्टी हैसियत भने । अरुले पेशागत परिचय नै दियौँ ।

हुन त निश्चलले त्यतिबेला हैसियत भन्नु र नभन्नुमा केही फरक थिएन ।

उनीहरूले सबै सूचना पहिला नै लिइसकेका थिए । कृष्णराज केसी पनि राज्यको खोजीको सूचीमा परिसकेका थिए । धेरैअघि नै स्कुलमा हुँदा बालबाल बचेका । गणेश ढकाललाई सहज थियो । मेरो नाम पनि उनीहरूलाई थाहा थिएन ।

म निरन्तर भूमिगत अर्थात् आन्तरिक काममा मात्र संलग्न थिएँ । मेरो विषयमा उनीहरू जानकार थिएनन् ।

उनीहरू गणेश र मेरो सम्बन्धमा केही दोधारमा थिए । यद्यपि कसैलाई छाड्ने सङ्केत देखिएन । अर्थात् उनीहरूले हाम्रो तर्फबाट पेश गरिएको परिचय पत्याएनन् । उनीहरू कोठाका सामान, लुगा, किताब आदि ओल्टाइपल्टाइ गरिरहेका थिए ।

‘ए, जथाभावी नचलाओ । अनुमति बेगर केही छुनुहुन्न ।’ कमाण्डरको आदेश थियो त्यो ।

नाटक नै सही, कानुनको परिपालना गरेको सन्देश दिन उनी प्रयासरत देखिन्थे । आफू अरूभन्दा फरक कमाण्डर भएको साबित गर्न पनि खोजेका होलान् ।    

उनले अर्को प्रश्न तेस्र्याए – ‘यहाँ केही राख्नुभ‘को छ ?’ उनको आशय हातहतियार थियो । जनमुक्ति सेनाका कमाण्डरसहितको समूह हतियारविहीन नहोला भन्ने ठानेको हुनुपर्छ । तर, के थाहा उनीहरूलाई ? क्रान्तिमा हतियार मात्र चल्दैनथ्यो । विचार एवम् सङ्गठनले पार्टी परिचालन गरिन्थ्यो ।

‘छैन’, निश्चलको जवाफ ।

‘केही भन्नु छ ?’

‘उहाँको पार्टीमा कुनै संलग्नता छैन’, निश्चलले गणेशलाई देखाउँदै भने ।

सायद उनलाई फुत्काउने एउटा प्रयास थियो त्यो ।

त्यो परिवेश कहालीलाग्दो थियो । माओवादी पक्राउ परेपछि कि त ठाउँमैमारिन्थ्यो, कि त बेपत्ता पारिन्थ्यो । काठमाडौँ उपत्यकामा भने तत्काल मार्न सहज थिएन । त्यसैले सुरुमा पक्रेर बेपत्ता पार्ने र पछि गुपचुप मार्ने गर्न थालेको थियो । 

‘अरू केही ?’ कमाण्डरले फेरि सोधे ।

‘अरू केही छैन ।’ निश्चल थप बोल्ने मनस्थितिमा देखिएनन् । हामी कोही पनिबोलेनौँ । बोल्दा गडबड हुन्छ भन्ने लाग्यो ।
‘हामी तिमीहरूलाई मार्दैनौँ । ढुक्क हँुदा हुन्छ ।’

कसरी ढुक्क हुन सकिन्थ्यो र ! वातावरण आतङ्कित थियो । तत्कालीन राजनीतिक परिवेश र राज्य पक्षको व्यवहारले नै हामीलाई ढुक्क हुन दिँदैनथ्यो ।
डरले गर्दा मानिसहरू ‘माओवादी’ शब्द मुखबाट निकाल्न सक्दैनथे । शङ्काको घेरामा राखिन्थ्यो । माओवादीलाई अर्कै ग्रहबाट आएका प्राणी झैँ ठानिन्थ्यो ।
माओवादीको नाममा जो कोहीलाई पक्रेपछि राजबन्दीको व्यवहार गरिन्नथ्यो ।

बेपत्ता पारिन्थ्यो र मारिन्थ्यो ।

त्यसैले हाम्रा हातखुट्टा लुला भइसकेका थिए । एकअर्कासँग बोल्न समेत नपाइने । आँखाआँखा बोलिरहेका थिए, ‘के अब हाम्रो जीवन यत्ति हो ?’
(केही दिनपछि सार्वजनिक हुने पुस्तक ‘कारावास’को अंश)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर