• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रधानमन्त्री ओलीको प्रतिवेदन पेश गर्ने कार्यसूचिसहित सुरु भयो सचिवालय बालुवाटारमा

काठमाडौं । बहुप्रतिक्षित नेकपा (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले अघिल्लो बैठकमा पेश गरेको प्रतिवेदनको प्रतिउत्तरमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले आज छुट्टै प्रतिवेदन पेश गर्ने भएका छन् ।

‘पार्टी सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले  लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूचि रहेको छ‘, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय सुरु भएको जानकारी गराउँदै भनेका छन् । 

प्रचण्डले कार्तिक २८ गतेको बैठकमा प्रस्तुत गरेको प्रस्तावको लिखित रुपमा जवाफ पेश गर्ने बताएका थिए । प्रचण्डले पेश गरेको प्रस्तावमा ओलीलाई भ्रष्टाचारीको संरक्षण गरेको, सरकारले जनभावना अनुसार काम नगरेको, पार्टी बैठकले गरेका निर्णय नमानेका लगायतका आरोप लगाएका छन् । उक्त प्रस्ताव प्रचण्ड–माधव कुमार नेपाल समूहले प्रकाशन गरेर पार्टी नेता कार्यकर्ताहरु माझ वितरण गरेका छन् ।

मंसिर ३ गतेको सचिवालय बैठकमा ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिन  १० दिनको समय मागेका थिए । सो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने बताएका थिए । पछिल्लो समय नेकपामा बढेको विवादको प्रभाव केन्द्र हुदै तल तलका कमिटीमा पनि पर्न थालेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर