• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

'प्रचण्डले प्रस्ताव फिर्ता लिएर माफी माग्नुपर्छ, नत्र बैठकमा छलफल गर्न दिन्न !'

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको अन्तरकलह उत्कर्षमा पुगेका बेला दुवै अध्यक्षको प्रतिवेदन सतहमा आएपछि नयाँ तरंग सृजना भएको छ । शनिबारको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले ५३ बुंदे प्रस्ताव पेश गरे । सचिवालयका ससदस्यहरुलाई खाममा हालेर वितरण गरिएको प्रस्ताव सार्वजनिक भएसँगै नेकपा अव कता जाने हो भन्ने प्रश्न उब्जिएको छ । 

शनिबारको बैठक सुरु गर्दै प्रधानमन्त्री ओलीले आफ्नो दस्तावेजमा समेटिएका विषयहरुको संक्षेपमा व्याख्या गरे । सचिवालयका एक सदस्यका अनुसार सुरुमै प्रधत्रानमन्त्री ओलीले यस अघि कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्ताव अस्वीकार गरे । त्यसलाई राजनीतिक प्रस्ताव भन्नै नमिल्ने र 'आरोप पत्र'को संज्ञा दिदै प्रचण्डको प्रस्तावमाथि पार्टीको बैठकमा औपचारिक रुपमा छलफल हुनै नसक्ने बताए । 

शनिबारको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षका प्रस्तावहरु अध्ययन गरेर १६ गतेको सचिवालय र त्यसपछिको स्थायी कमिटीमा छलफल गरिने निर्णय भएको सुनाएका थिए । 

तर प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि कुनै हालतमा कमिटी बैठकमा छलफल हुन नसक्ने अडान दोहोर्याएका हुन् । 

'प्रचण्डले आफ्नो फिर्ता लिएर माफी माग्नु पर्छ, बहुमत र अल्पमतको बलमा गर्न खोजेको कुरा मानिदैन,' भनेर प्रधानमन्त्री ओलीले सुरुमै राख्नुभयो, श्रोतले समाचार दैनिकसँग भन्यो, 'आगामी सचिवालय तथा कुनै पनि पार्टी कमिटीका बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल गर्न आफू तयार नभएको कुरा प्रधानमन्त्रीले राख्नुभयो ।'

शनिबारको सचिवालयमा सवै नेताहरुले नबोलेपनि कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु, झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमले छोटो धारणा राखेका थिए । 

प्रधानमन्त्री ओलीको कुरा सुनिसकेपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठकमा भने, 'तपाईले अहिले सम्म ४ पटक फुटाउने कसरत गरिसक्नुभयो । अहिले सम्म हाम्रो धैर्यता र सहनशिलताले फुटबाट जोगाएको,' सचिवालय श्रोतले प्रचण्डको भनाई उदृत गर्दै समाचार दैनिकलाई भन्यो, 'तपाईमा अहिले पनि अहंकार र दम्भ छ, यो अहंकार र दम्भ त्याग्नुस । पार्टीलाई विधिसम्मत तरिकाले छलफल र बहसबाट नयाँ तरिकाले अघि बढाउनु पर्छ ।'

बरिष्ठ नेता झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीको विरोध गरे । पार्टी भित्र सृजना हुने बहस र छलफलबाट पार्टी फुट्छ भन्नु गलत हुने तर्क गर्दै उनले कमिटी भित्र आएका प्रस्तावबाट नभाग्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

'पार्टी भित्रको अन्तरगसंघर्षको नियम अनुसार विधि अनुसार अघि बढ्नुपर्छ,' उनले भने ।

अर्का बरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रचण्ड खनालकै जस्तै धारणा राखे । 'बालुवाटारले गरेको छुट्टै बैठक र भेला चाँहि पार्टीको हुने हामीले गरेको चाँही गुटको हुने ?' भन्ने प्रश्न उनको थियो । 

अध्यक्ष प्रचण्डको प्रस्तावलाई पार्टीको औपचारिक बैठकमा प्रवेश गर्नै दिन्न भन्ने प्रधानमन्त्री ओलीको भनाई प्रति उपाध्यक्ष बामदेव गौतमले समेत आपत्ति जनाएका थिए ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर