• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त ...

काठमाडौँ ।   चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो ।  
 उठ्न कोशिस गरेँ । खुट्टा टेकिएनन् । छिप्पिँदो रातले बिहानीको प्रतीक्षा गर्दै थियो । कसलाई के भनौँ ? लाग्यो जीवन यति नै रहेछ कि ! श्वासप्रश्वासमा अप्ठ्यारो छँदै थियो । कोठा उज्यालो थियो । आशाका किरण धपक्क निभे । आँखा घुमे, जता हे¥यो, सर्वत्र अन्धकार । साहस  हराउँदै थियो ।  
     
कोठाको अर्काे कुनामा रहेकी जीवनसङ्गिनी निदाउने प्रयासमा थिइन् । उनी स्वयं कोभिडसँग जुध्दै थिइन् । परिवारजन, इष्टमित्र, साथी तथा छरछिमेकी सम्झेँ । भरैभरमा टिकेको जीवनजगत् न समाउने ठाउँ, न अडिने स्थान देखेँ । आधार सकिएको जस्तो लाग्यो । कतिपयका फोनको जवाफ पाएर लाग्यो, आफन्त र साथीसङ्गी भनेका त सुखका लागिरहेछन् कि ! दुईदशक भन्दाबढी कस्तो पत्रकारितामा बिताएछु ? भन्ने प्रश्नले मलाई गिज्याइरह्यो । पछिल्ला दशकमा स्वास्थ्य पत्रकारितामा रमाउँदा पाएका सफलता क्षणिक लाग्यो ।   
    
अन्तिम विकल्प चिकित्सकलाई सम्झेँ । फोनमा पहिलो चिनजान र कुराकानी गरेका चिकित्सकलाई मध्यरातमा फोन लगाएँ । दुई घण्टीमा नै उनले फोन उठाइदिए । सुन्दर जीवन सकिएको रहेनछ । आशा पलायो । सबैका मन कहाँ उस्तै हुँदोरहेछ र ! स्वार्थको भीडमा मानवता  सजिलै कहाँ हराउँदो रहेछ र ?
    
“शरीर कमजोर पार्न सक्छ । अक्सिजन लेबल झरेको हुन सक्छ । झ्याल बन्द छन् भने खुला गरिदिनुुस् । घोप्टो परेर सुत्नु होला । झोलिलो खानेकुरा जति सकिन्छ खानुहोला । आफूलाई सम्हाल्ने प्रयास नछाड्नुहोला । नआत्तिनुहोला । श्वासप्रश्वासमा अप्ठ्यारो हुँदै गयो भने म छु, तुरुन्त केही व्यवस्था गरौँला । सिटामोल खाइहाल्नुहोस्”, डा प्रवीन नेपालले फोनमा सुझाउँदै गए । यसैलाई पालना गरेँ । रातले बिहानीको सङ्केत गर्दै थियो । पीडा कम हुँदै गयो । घोप्टो परेर सुत्दा अक्सिनको मात्रा बढ्ने रहेछ ।  सूर्योदयसँगै नयाँ जीवनको शुरुआत भएकोे महसुस गरेँ ।  कोरोना मसँग अवश्य पराजित हुन्छ र गर्छु भन्ने दृढता उर्लेर आयो । ‘चिकित्सक भगवान् हुन्’ भन्ने कुरा यसै भनिएको रहेनछ । स्वास्थ्यकर्मीको मीठो बोली, सहज उपलब्धता, सरल व्यवहारले सङ्क्रमितको मनोबल उच्च हँुदोरहेछ । यही कुरा सङ्क्रमितले स्वास्थ्यकर्मीबाट अपेक्षा गरिराखेका हुन्छन् । यसले कोरोनालाई परास्त गर्न सामथ्र्य प्राप्त हुँदोरहेछ । मेरो अनुभव यही रह्यो ।   
    
हँसिलो अनुहार र मिठास बोलीका धनी डा नेपालसहित एपिएफ अस्पताल बलम्बुमा कार्यरत युवा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीका टोलीले कोरोना सङ्क्रमितका उपचारमा समर्पण गर्नुभएको सेवा र प्रतिबद्धता अन्य स्वास्थ्यकर्मीलाई उदाहरणीय बन्नसक्छ । उहाँहरुको सेवाभाव, बोली र व्यवहारले पछिल्लो समय अस्पतालको नाम र प्रतिष्ठालाई उँचो बनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर