सेनाद्वारा चार थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी छेला क्षेत्रबाट नेपाली सेनाको टोलीले चार थान भरुवा बन्दुकसहित स्थानीय दुई जना बन्यजन्तु तस्करीमा संलग्नलाई पक्राउ गरेको छ ।

यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गण, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वन डिभिजन कार्यालय कञ्चनपुरको संयुक्त टोलीले बेदकोट नगरपालिका–४ बगुनका ४९ बर्षीय तिलबहादुर बुच र स्थानीय ५० बर्षीय रामबहादुर बराललाई पक्राउ गरेको छ ।

बन्यजन्तुको संरक्षण र चोरीशिकारी न्युनीकरणका लागि निकुञ्जमा राखिएका स्पाइ क्यामेरामा दुवै जना तस्कर केही समयअघि कैद भएको र सोही क्यामेरा फुटेजका आधारमा सेनाले विशेष अप्रेसनमार्फत अभियुक्त र हतियारसहित पक्राउ गरेको देवीदल गण मझगाउँ ब्यारेकका गणपति प्रमुख सेनानी सुनिल मल्लले जानकारी दिए ।

“ निकुञ्जमा राखिएका स्पाइ क्यामेराको सहायताले दुवै जना अभियुक्तलाई निकुञ्ज र वन कार्यालयको समन्वयमा छेला क्षेत्रबाट पक्राउ गरेका हौं ।” गणपति मल्लले भने–“ थप अनुसन्धान र कारबाहीका लागि निकुञ्ज प्रशासनको जिममा लगाएका छौं ।”

सेनाको टोली अभियुक्तहरुलाई पक्राउ गरेपछि उनीहरुले दिएको बयानका आधारमा शनिबार नै छेलाको उत्तरतर्फको सामुदायिक वनमा लुकाएर राखेको अवस्थामा हतियार भेटाएको हो ।
त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले अभियुक्तहरुमाथि सुक्ष्म अनुसन्धान भइरहेको बताए।

उनले अभियुक्तहरुलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन–२०२९ र हातहतियार तथा खरखजना ऐन अनुसार कारबाही गरिने जानकारी दिए।शुक्लाफाँटा निकुञ्जको सुरक्षार्थ खटिएको गणले निकुञ्जको चौतर्फी आफ्ना पोष्टहरु तैनाथ गर्नुका साथै मध्यवर्ती क्षेत्रमा पनि आफ्नो उपस्थिती बलियो बनाउँदै लगेको छ ।

उक्त विशेष अप्रेसनमा निकुञ्जबाट सहायक संरक्षण अधिकृत रविन चौधरी र गणबाट सह–सेनानी सन्देश सेनवलीको नेतृत्वमा टोली परिचालन भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर