दुहवीमा १७ वर्षे युवकको हत्या,अपहरणकारीको आशंकामा एक पक्राउ 

विराटनगर । सुनसरी दुहवी नगरपालिका ३ का १७ वर्षे सुजन चौधरीको हत्या भएको छ । साथीको घर जान्छु भनेर हिडेका चौधरीको पाँच दिनपछि घर नजिकै शव भेटिएको हो ।  दुहवी ३ भीरगाउँका चौधरीको शव घरदेखि करिव ५ सय मिटर दक्षिण तर्फ शुभलक्ष्मी खाद्य उद्योग छेउमा भेटिएको हो । 

नेपाल टेलिकम क्षेत्रीय कार्याल्य विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीको छोरा घरबाट साथीकोमा जान्छु भनी मंसिर १० गते हिडेका थिए । त्यसदिन रातिसम्म घर नफर्केपछि परिवारले खोजीका लागि ११ गते प्रहरीमा जानकारी गराएका थिए । उनको शव सोमबार बिहान घर नजिकै भेटिएको हो । 

चौधरीको अपहरणपछि हत्या भएको  आशंका गरिएको छ । त्यसबीचमा अपहरणकारीले फोन उठाएर चौधरी आफ्नो कब्जामा रहेको बताएको मृतकका भिनाजु  हुलासचन्द चौधरीले जानकारी दिए । उनले टेलिफोन आएको कुरा बाबु सुरेन्द्रलाई जानकारी गराएको बताए । ‘सालोको मोवाइलमा एकपटक फोन सम्पर्क हुँदा उत्ताबाट सुरज हाम्रो कब्जामा छ भनेर भनेको थियो,’ मृतकका भिनाजु हुलासचन्दले  भन्नुभयो, ‘त्यस यता फोन सम्पर्क भएको छैन र मोवाइल स्वीच अफ छ । कब्जामा लिएको खवर आएपनि फिरौति भने नमागेको उनीहरुले बताएका छन् । 

इटहरीस्थित गोदावरी कलेजमा कक्षा १२ मा अध्ययरत सुरजको अपहरणपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा छिमेकी दुहबी नगरपालिका २ का २१ वर्षे सुमन झालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ ।सुरजको शव पनि पक्राउ परेका सुमनले देखाएको बताइएको छ । 

घटनाको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका विशेष प्रहरी टोलीसहितले अनुसन्धान गरिरहेको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

‘एक जनालाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको छ,’ थापाले भने, ‘मतृकको शव पोस्मार्टमपछि थप अनुसन्धान अगाडि बढ्नेछ ।’ मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । सुरज सुरेन्द्रका एक मात्र छोरा हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर