• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

अस्पताल शिलान्यास : सूर्यविनायकमा ५०, मकवानपुर, तनहुँ र झापामा १५ श्यया

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–८ जगातीमा  ५० श्ययाको अस्पताल निर्माण शुरुआत भएको छ । सांसद महेश बस्नेतले आज अस्पतालको शिलान्यास गर्दै कोभिड–१९ लाई लक्षित गरी तत्काल सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिए पनि २०० श्ययासम्मको अत्याधुनिक अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए । 
    
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका उनले भने, “सरकारले केही गरेन भन्नेले हेरे हुन्छ, सूर्यविनायक नगरपालिकामा मात्रै होइन, सरकारले चालू आर्थिक वर्षमा एकैसाथ ३९६ स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल बनाउँदैछ । तीमध्ये करिब २५० पालिकामा एकैसाथ अस्पतालको शिलान्यास भएको छ ।”
    
सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णय गरेको थियो ।  यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको थियो ।  अहिले ७५३ पालिकामध्ये १०४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन् ।    अस्पताल नरहेका ६४९ पालिकामा आगामी दुई वर्षभित्र कम्तीमा १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य सरकारले राखेको छ । सरकारले चालू वर्षमा ३९६ पालिकामा र अन्यमा आगामी वर्ष अस्पताल निर्माण शुरु हुने बताइएको छ ।       

सांसद विकास कोष र  सूर्यविनायक नगरपालिकाको संयुक्त साझेदारीमा शुरुमा रु एक करोड ५० लाखको लगानीमा निर्माण हुन लागेको सो अस्पताल बढीमा दुई महिनाभित्र सञ्चालनमा आउने जनाइएको छ । सरकारकोतर्फबाट थप दुई करोड रुपैयाँ आउने चरणमा रहेको बताइएको छ ।  तत्काल सात श्ययाको सघन उपचार कक्ष, पाँच श्ययाको भेन्टिलेटर, नौ श्ययाको क्याबिन र ३० श्ययाको जनरल वार्डको अस्पताल सञ्चालनमा आउने छ । 

यस अस्पताल सूर्यविनायकका बासिन्दाका लागि मात्रै नभई अरनिको राजमार्गसँग जोडिएकाले पूर्वबाट आउने बिरामीले  समेत सेवा पाउने छन् ।  कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमा रहेका सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरवासीका लागि अस्पताल वरदान सावित हुने बताए । 
    
उपप्रमुख जुना बस्नेतले अस्पताल छिटोभन्दा छिटो सञ्चालनमा आउने बताउनुभयो । त्यसअवसरमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का अध्यक्ष किरण थापाले जगातीस्थित इँटा तथा टायल उद्योग प्रालीले सरकारसँग भाडामा लिएको २६० रोपनी जग्गामध्ये भूकम्पपछि टिम्बर कर्पोरेशनलाई डिपो सञ्चालनका लागि दिइएको भवनसहित तत्काल २५ रोपनी क्षेत्रमा अस्पताल बनाउन शुरु गरेको जानकारी दिए । 
    
 कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले अस्पतालका लागि तत्काल नयाँँ जनशक्ति नराखी नगरपालिकासँग रहेको चिकित्सक र अन्य स्वाथ्यकर्मीसहित ४० जना जनशक्तिलाई यस अस्पतालमा परिचालन गरिने बताए । 
    
दुई वर्षभित्र २०० श्ययाको सुुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्दै तत्काल पिसिआर प्रयोगशालासहित, अन्य प्रयोगशाला, आफ्नै फार्मेसी, सिटीस्क्यान, एक्स–रे, प्रसूति सेवा, शल्याक्रियासहित सामान्य चिकित्सा सेवा सञ्चालन गरिने छ । 
    
 मकवानपुर– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लगानीमा जिल्लाको पाँच स्थानीय तहमा  पाँचदेखि १५ श्ययाको अस्पताल भवनको छुट्टाछुट्टै शिलान्यास गरिएको छ । 

थाहा नगरपालिका र मनहरी गाउँपालिकामा १५–१५ श्ययाको अस्पतालको शिलान्यास भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ । जिल्लाको कैलाश र राक्सिराङ गाउँपालिकामा १०–१० श्ययाको र इन्द्रसरोवर गाउँपालिकामा पाँच श्ययाको अस्पताल भवनको शिलान्यास गरिएको छ ।

सङ्घीय सरकारको लागनीमा निर्माण गर्न लागिएको ती अस्पतालका लागि चालू आर्थिक वर्ष ०७७–७८ मा थाहामा रु एक करोड, मनहरीमा रु ८५ लाख, राक्सिराङ  तथा कैलाशमा  रु ८५ लाख र इन्द्रसरोवर गाउँपालिकामा ७० लाख बजेट विनियोजित भइसकेको  समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । 

थाहा र मनहरीमा निर्माण गर्न लागिएको अस्पतालका लागि कूल १८ करोड ६ लाख ८२ हजार ,कैलाश र राक्सिराङमा १० करोड ८३ लाख ३६ हजार  तथा इन्द्रसरोवरमा रु सात करोड ११ लाख ९८ हजार लागत अनुमान गरिएको छ ।

थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टले  अस्पताल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन निर्माणको काम सम्पन्न भइसकेको र हप्ता दिनभित्रै बोलपत्र आह्वान गरी निर्माणको कामलाई तीव्रता दिइने जानकारी दिए ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले मनहरी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पतालका रुपमा निर्माण गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरेको भए पनि गाउँपालिकाले ५० श्ययाको अस्पताल निर्माण  गर्ने जानकारी दिए । 

तनहुँका पाँच स्थानीय तहमा अस्पताल निर्माण शुरु

दमौली – जिल्लाका पाँच स्थानीय तहमा अस्पताल भवन निर्माण शुरुआत भएको छ ।  भीमाद , शुक्लागण्डकी नगरपालिका, म्याग्दे, देवघाट र ऋषिङ गाउँपालिकामा एकैसाथ अस्पताल भवन शिलान्यास गरिएको छ । भीमादको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा, शुक्लागण्डकीको राईपुर स्वास्थ्यचौकीमा, म्याग्देको थर्पु स्वास्थ्यचौकीमा, देवघाटको देवघाट स्वास्थ्यचौकीमा र ऋषिङको भिरकोट स्वास्थ्यचौकीमा अस्पताल निर्माण हुनेछ । भानुको पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा भने शिलान्यास कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।

भीमाद र शुक्लागण्डकीमा १५–१५ र म्याग्दे, देवघाट र ऋषिङमा १०–१० श्ययाको अस्पताल निर्माण हुनेछ । पन्ध्र श्ययाको अस्पताल निर्माणका लागि रु १८ करोड छ लाख ८२ हजार १० श्ययाको अस्पताल निर्माणका लागि रु १० करोड ८३ लाख ३६ हजार बजेट विनियोजन गरिएको छ ।

दश श्ययाको अस्पतालमा दुई जना मेडिकल अधिकृत १७ जना र १५ श्ययाको अस्पतालमा तीन जना मेडिकल अधिकृत २७ स्वास्थ्यकर्मी खटिनेछन् । सबै अस्पतालबाट आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा दिने सरकारको तयारी छ । शुक्लागण्डकी –११ राइपुरमा निर्माण शुरु भएको अस्पतालको सांसद आशा कोइरालाले शिलान्यास  गरे ।

भीमाद –६ मा निर्माण शुरु भएको अस्पतालको सांसद केदार सिग्देलले शिलान्यास गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति भएको बताउनुभयो । भीमाद नगर प्रमुख मेखबहादुर थापाले अस्पताल निर्माणसँगै यहाँका बासिन्दालाई स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाका अनुसार १२ रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण हुनेछ ।


देवघाट –५ मा निर्माण शुरु भएको अस्पतालको सांसद कृष्णकुमार श्रेष्ठले शिलान्यास गर्दै  वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कदम चालेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य लगायतले समयमै अस्पताल निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए । 

ऋषिङ–४ स्थित भिरकोट स्वास्थ्यचौकीमा निर्माण हुन लागेको अस्पतालको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले शिलान्यास गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार १० रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण गरिनेछ । म्याग्दे –४ स्थित थर्पुमा आज आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले अस्पताल भवनको शिलान्यास गरे । म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले दुई वर्षभित्र अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आउने जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर