• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भू-राजनीतिक केन्द्रमा नेपाल: चिनियाँ रक्षामन्त्री भ्रमणकाे सन्देश के ?

काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्धन श्रृ‌गलाको नेपाल भ्रमण लगतैं चीनका रक्षामन्त्री वेई फेङ्हेले एकदिने नेपाल भ्रमण पूरा गरेका छन्। दुई छिमेकी मुलुकबाट एकपछि अर्को भ्रमणसँगै नेपाल यतिखेर दुई ध्रुबको केन्द्रमा रहेको छ ।

सीमा विवादका कारण चिसिएको नेपाल-भारत सम्बन्ध एकाएक सुधारकाे दिशातर्फ उन्मुख हुनु र लगतै चीनको उच्च स्तरीय भ्रमण अर्थपूर्ण मान्न सकिन्छ । छिमेकी चीनसँग सीमा क्षेत्र लद्दाकमा तनाबपूर्ण अबस्था झेलेको भारतले पछिल्लो समय नेपालसँग सम्बन्ध सुधारका लागि हात अगाडि बढाएको हो । 

नेपाल र भारतबीच करिब सात महीनासम्मको संवादहिनताको  अबस्था भइरहेको बेलामा भारतीय रअ प्रमुख सामन्तकुमार गोयलको अप्रत्यासित नेपाल भ्रमणले वार्ताको वातावरण खोलेको थियो ।

उनको अप्रत्यासित भ्रमण कुटनीतिक मर्यादा नाघेर प्रधानमन्त्रीले भेटेको विषयमा एक साता भन्दा लामो समय चर्चाको विषय बन्यो । उनी फर्केलगत्तै नेपालको औपचारिक भ्रमणमा भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे आए। उनको भ्रमणपछि भारतका विदेश सचिव हर्षवर्धन शृंगला काठमाडौं आए। शृंगलाले परराष्ट्र सचिवस्तरीय बैठकका साथै राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री र विपक्षी दलका नेतालाई भेटेर फर्किएलगत्तै चीनका रक्षामन्त्री फेङ्हे नेपाल भ्रमणमा आएका हुन्। 

भारत विदेशसचिव शृंगलाले परराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारत भ्रमणको निम्तो पनि दिए। उनी  फर्केको एक दिनपछि उत्तरी छिमेकी चीनका रक्षामन्त्री वेई आएकाले यसको आफ्नै रणनीतिक महत्व रहेको परराष्ट्रविदको तर्क छ। दुई छिमेकी मुलुकबाट भएको भ्रमण स्वभाविक भनिएपनि यस भित्र जोडिएका धेरै विषय रहेका छन् ।

छिमेकी देशका यी दुइ भ्रमणले नेपालप्रति उनीहरूकाे रक्षा कुटनीतिक रूचीकाे छनक दिन्छ ।

पछिल्लो समय यो क्षेत्रमा अमेरिकाले अघि सारेको इन्डो-प्यासिफिक रणनीति (आइपिएस) र त्यसपछि अमेरिका र भारतको सहकार्यलाई चीनले नजिकबाट हेरिरहेको छ। चीनसँगको सीमा विवादकै माझ भारतले अमेरिकासँग गरेको साझेदारीका कारण चीन यतिखेर सशं‌कित छ ।

खासगरी एसिया प्यासिफिक क्षेत्र प्रयोग गरेर अमेरिका चीनलाई घेर्ने रणनीतिका साथ अगाडि बढिहरेको उसको ठम्याइ छ । विश्वको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको चीनसँग अमेरिकाको व्यापार युद्द लामो समय चलिरहदाँ छिमेकी मुलुक भारतसँगको साझेदारीले झस्काएको हो ।  

विश्वका दुई ठुलो मुलुकले आ-आफ्नै रणनीतिका साथ अगाडि बढिरहेका छन् । चीनले आफ्नो रणनीति अन्तर्गत बेल्ट एण्ड रोड इनिसिएटिभ अगाडि सारेको छ भने अमेरिकाले इण्डो प्यासिफिक रणनीति अन्तर्गत एमसीसी अगाडि बढाएको छ । 

अमेरिकाले विशेष एशिया प्यासिफिक क्षेत्रमा सो परियोजना लागु गर्न खोजिरहेको छ । त्यसममा नेपाललाई पनि समेटेको छ । अमेरिकाको जोड भारतमार्फत नेपालमा एमसीसी परियोजना लागु गराउने लबिङमा उभिएको छ ।

सो परियोजनाबाट नाफा या घाटा आफ्नै ठाउँमा छ तर अबको नेपालको परिदृश्य कस्तो हुने भन्ने विषयले महत्व राख्नेछ । अमेरिका र भारतको गठबन्धनसँगै उ आफ्नो पकड भएको क्षेत्रमा आफ्नो रणनीति योजना लागू गराउन चाहन्छ । 

अमेरिकी रणनीतिक योजना अन्तर्गत नेपालमा लागु गर्न लागिएको एमसीसी परियोजनाले कतै आफ्नो देशको सुरक्षामा खतरा उत्पन्न हुने त होइन भन्नेमा चीन सतर्क देखिएको छ ।

यसै सिलसिलामा भारतबाट भएको निरन्तर भ्रमणपछि चीनले तत्कालै एकदिने भ्रमणमा चिनियाँ रक्षामन्त्रीलाई नेपाल पठाएको हो । चिनियाँ रक्षामन्त्री राष्ट्रपति सि जिन फिङको विश्वास पात्र समेत भएकाले नेपालको पछिल्लो वर्तमान अबस्था बुझ्नका लागि र सतर्क गराउनका लागि पनि नेपाल भ्रमण गराएका हुन सक्छन् । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण चीन विदेशी घुसपेठमा सतर्क छ है भन्ने सन्देश दिन पनि उनको भ्रमण हो ।

चीनले पाँच करोड युआन (दुई अर्ब ७० करोड १४ लाख रूपैयाँ)  मूल्य बराबरको सैन्य सामग्री सहयोग दिने घोषणा गरेको छ । सैन्य सामग्री यो अहिलेसम्मकै ठूलो सहयोग हो । जसको सन्देश भारत र अमेरिका मात्रै होइन अब नेपालको सुरक्षा रणनीतिमा चीन पनि अघि छ भन्ने सन्देश दिन खोजेको छ ।

चीनबाट उच्चतहको आकष्मिक भ्रमण भएको यो पहिलो पटक हो । यसअघि गत अक्टुबरमा चिनियाँ राष्ट्रपति सी जिन फिङको भ्रमणपछि चिनियाँ रक्षामन्त्रीको आकस्मिक भ्रमण भएको हो । 

चीनको उद्देश्य भनेको नेपाली भूमीलाई आफ्नो विरुद्ध प्रयोग गर्नु नदिनु हो । चिनियाँ रक्षामन्त्रीसँग प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिमा प्रष्ट रहेको बताइसकेको छ । साथै उसले नेपालसँग प्रतिबद्धता समेत खोजेको छ । नेपाली भूमिबाट तिब्बती शर्णार्थीको गतिबिधिसँगै विदेशी घुसपेठ हुन सक्ने आँकलन समेत गरेको चीनले नेपालमा लगानी गरेको परियोजना अगाडि बढोस् भन्ने समेत चाहना छ । 

एक महीना अघि अमेरिका र भारतबीचको गठबन्धनले झस्किएको चीन आफ्ना विरुद्ध हुन सक्ने सम्भावित जोखिम चिर्नका लागि अहिले भारतको पकड क्षेत्र मानिएको देशको भ्रमण गर्ने तयारीमा छ । चिनियाँ रक्षामन्त्री वई नेपालको भ्रमण सकेर ब‌ंगलादेश हुँदै पाकिस्तान पुग्ने योजनामा छन् । गत महीना भएको अमेरिका-भारत गठबन्धनले लोकतान्त्रिक मुलुकहरुबीच एक जुट हुने सन्देश दिएको छ ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले भारत भ्रमणका क्रममा लोकतान्तिक मुलक एक हुनुपर्छ भन्ने सन्देशले लोकतान्त्रिक र कम्युनिष्ट देशबीचको दुरी मात्रै बढ्नेछैन चीनको रणनीतिक योजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई समेत यस क्षेत्रमा धक्का पुग्नेछ । यसो हुदाँ नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनका विषयमा समेत ध्यान दिनु जरुरी हुनेछ ।

भारत र अमेरिका दुई ठूला मुलुकले गरेको साझेदारीकाे विषयलाई लिएर विश्व दुई ध्रुबमा विभाजित हुने स्थिति आए नेपालले दुई छिमेकी मुलुकसँगको सन्तुलनमा बस्नका लागि चुनौति हुन सक्छ। यो सम्झौताले दुइ देशको बीचमा रणनीतिक सूचना आदानप्रदान मात्रै गर्ने छैन  अमेरिकाले ल्याएको इन्डो प्यासिफिक रणनीति अन्तर्गत एमसीसी लागु गराउन समेत यो सम्झौताले दक्षिण एशियाली मुलुकका लागि दबाब पर्न सक्नेछ । 

कूटनीतिक मामिलाका जानकार दिनेश भट्टराईको बुझाईमा भारतबाट लगातार तीन उच्च पदाधिकारीहरूको भ्रमण भएपछि चीनबाट पनि उच्च तहका पदाधिकारीको भ्रमण हुनुलाई संयोगको रुपमा हेर्न नसकिने उनको भनाई छ । कोरोना भाइरसको संक्रमण देखाएर सीमा विवादको विषयमा छलफल गर्न तयार नभएको भारत एकाएक युटर्न हुनुलाई संयोग मान्न नसकिने परराष्ट्रका जानकारहरुको मत छ ।

भारतीय उच्च पदाधिकारीहरुको काठमाडौं भ्रमणले अब नयाँ शिराबाट अगाडि बढ्नु पर्छ भन्ने सन्देश दिइरहेका बेला चिनियाँ रक्षामन्त्रीको आकष्मिक भ्रमणले चीन पनि नेपालको विषयमा जानकार छ भन्ने सन्देश दिएका छन् ।

चीनको स्पष्ट सन्देश नेपालको भूमि प्रयोग गरेर आफ्नो मूलुकमा विदेशी घुसपेठ भए चीन चुप लागेर नबस्ने भन्ने सन्देश दिन खोजेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर