• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन भित्र पनि ओली प्रवृत्ति !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद चर्कदै जाँदा त्यसको असर पार्टीका जनवर्गीय तथा भ्रातृ संगठनहरुमा पनि उस्तै परेको छ । त्यसरी चर्को विवादमा परेको संस्था मध्येको एक हो प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन ।

पार्टी एकताका काम सुरुमै सक्ने संस्था प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन (पिन) विवाद उत्कर्षमा पुग्ने, समानान्तर कमिटी गठन गर्ने काम प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन भईसकेको छ । 

नेपाल इन्जिनियरिङ्ग एसोसिएसनको चुनावमा समेत प्रभावकारी ढंगले अघि बढेको पिनमा पछिल्लो चरणमा भने विवाद बढेको हो । विवाद बढ्दै जाँदा अहिले पार्टी केन्द्रमा जस्तै ईन्जिनियरहरु समेत दुई ध्रुवमा विभक्त भएका छन् । संगठनको नेतृत्वले प्रदेश कमिटी र त्यस मातहातका जिल्ला कमिटी विस्तारको क्रममा व्यक्तिवाद, स्वेच्छाचारीता, एकताको मर्म विपरीतका कृयाकलाप गरेको पिन भित्रै कुरा उठिरहेको छ । 

पिन भित्रको अन्तरकलहमा मूल नेतृत्व एकातिर छन् भने सचिवालयका बहुमत सदस्य अर्कातिर । पार्टी अध्यक्ष केपी ओली निकटस्थ मानिने अध्यक्ष शम्भु प्रसाद श्रेष्ठलाई पूर्व माओवादी निकट मानिने महासचिव हरेराम पराजुली लगाएतले साथ दिदै आएका छन् । तर बहुमत सचिवालय सदस्यको भावना विपरीत प्रदेश र जिल्ला कमिटी गठन गर्ने पक्रिया अगाडी बढाएको असन्तुष्ट पक्षको दावी छ । 

प्रचण्ड निकट महासचिवसहित सचिवालय सदस्यहरु विजय विष्ट, रेवन्त रावत, चेतराज जोशी लगाएतले  पार्टी अध्यक्ष ओली खेमाका पिन अध्यक्ष श्रेष्ठ र उनीहरूकाे कामलाइ साथ दिएकाे उनीहरूले बताए ।

पार्टी एकता गर्दा अपनाईएको मापदण्ड र एकताको भावना पिन भित्र नदेखिएको सचिवालयका एक सदस्यले समाचार दैनिकलाई बताए । 

'एकताको मर्म केन्द्रमा राखी गरिनु पर्ने संगठन बिस्तारको काम अध्यक्ष, महासचिवको गठजोडले बहुमत अल्पमतको कृत्रिम खेल रची गुठ गत स्वार्थ केन्द्रमा राखी गरिएका निर्णयहरु सचिवालयका १० सदस्यले बैठकमा फरक मत दर्ज गरेका थिए। यसलाई सम्बोधन गर्न ४ सदस्य कार्यदलको निर्माण गरियो। यद्यपि कार्यदलको रिपोर्टलाई किनारा लगाई एक पक्षिय ढंगले आफ्ना कमिटी विस्तार गरियो। 

यी कदमहरुबाट पिन नेतृत्वमा पनि अहमता र सामन्ती चारित्रिक गन्ध स्पस्ट देख्न सकिन्छ। ओली प्रवृत्तिको सानो अंश चित्रित हुन्छ,' उनले भने ।

पिनमा प्रचण्ड निकट मानिने नेताहरु नै अध्यक्ष ओली निकट मानिने नेतासँग मिलेका छन् । २० सदस्यीय सचिवालयमा  अध्यक्ष र महासचिव एकातिर बहुमत १० सचिवालय सदस्य अर्कातिर छन् । उनिहरु अध्यक्ष प्रचण्ड तथा बरिष्ठ नेता माधवकुमार नेपाल निकटका हुन् । 

'अध्यक्ष र महासचिवले चालेको कदमको विरोधमा अर्को पक्षले बागमती र विश्व विद्यालय प्रदेश र मातहतमा जिल्ला कमिटी गठन गर्ने प्रक्रिया समेत अघि बढाएको छ। यदी उनिहरु नसच्चिएको अवस्थामा देशै भरी सँगठित रुपमा प्रचन्ड, नेपाल समुहले पार्टिको आधिकारिक लाईन अनुसार समानान्तर रुपमा प्रदेश र जिल्ला कमिटिहरु गठन गर्दै जाने' एक नेताले चेतावनी दिए । 

पिनमा कसरी सुरु भयो विवाद ?

१. अधक्ष र महासचिवको मात्रै निर्णयमा प्रदेश र जिल्ला कमिटी विस्तार गर्ने निर्णय भयो ।
२. बहुमत सचिवालय सदस्य (११ जना)ले अध्यक्ष र महासचिवका बिरुद्ध फरक मत राखे ।
३. बिबाद समाधानको लागी ४ सदस्ययिय कार्यदल गठन भयो ।
४. अधक्ष र महासचिवले कार्यदलको सुझाव मानेनन्, र प्रदेश तथा जिल्ला कमिटी विस्तार गर्न सर्कुलर गरे ।
५. बहुमत सचिवालय सदस्यले त्यसको विरोधमा प्रदेश र जिल्लामा समानान्तर कमिटी गठन गरे ।

पिन भित्रको समस्यालाई लिएर पार्टी नेतृत्वले समेत अनौपचारिक छलफल गरिरहेको छ । आन्तरिक विवाद बारे पिनका बागमती प्रदेश सहइन्चार्ज  सफल क्षेत्रीले समाचार दैनिकलाई छोटो प्रतिक्रिया दिए । 

'छिटो भन्दा छिटो सचिवालको बैठक डाकी अध्यक्ष महासचिवले आत्मालोचना गर्ने र यी विषय सचिवालय हुदै केन्द्रीय कमिटीको बैठकमा लगी माताहतका कमिटीमा नै व्यापक जनवादको अभ्यास गरी एकताको जग र मर्मलाई केन्द्रविन्दुमा राखी निर्णय गरिनु पर्छ । यदी अध्यक्ष र महासचिवले बैठक नै बोलाउन नसक्ने हो भने संगठनलाई गतीशिल बनाउन दोस्रो पुस्ता हस्तक्षेप गर्न पनि पछि पर्दैन' उनले भने । 


प्रतिकृया दिनुहोस

सम्बन्धित खवर