रोल्पाको लाँकुरी शबस्टेसनबाट विद्युत् वितरण सुरू

राेल्पा । रोल्पाको लाँकुरीमा नेपाल विद्युत् प्राधिकरणको ३३र११ केभी शबस्टेसन चार्ज भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले प्राधिकरणको पूर्ण स्वामित्वमा रोल्पा नगरपालिका–३ लाँकुरीमा नवनिर्मित शबस्टेसनको सोमवार उद्घाटन गरेसँगै त्यसबाट विद्युत् वितरण शुरू भएको छ ।


यससँगै रोल्पाका अधिकांश क्षेत्रका ग्राहकले भरपर्दो विद्युत् सेवा पाउने भएका छन् । शबस्टेसन अभावमा यसअघि जिल्लामा पटक–पटक विद्युत् सेवा अवरुद्ध हुने गरेको थियो । यसअघि रोल्पामा रहेको ३३ केभीको वितरण प्रणाली नयाँ शबस्टेसन सञ्चालनमा आएसँगै विस्थापित भएको छ ।

शव स्टेशनको सञ्चालनपछि एक स्थानमा समस्या हुँदा सबैतिर अँध्यारो हुने, प्राविधिक चुहावट कम हुने तथा उद्योग सञ्चालनका लागि विद्युत् सेवा नियमित उपलब्ध हुने भएको छ । भारतको एटू–जेड इन्फ्रा इन्जिनियरिङ र नेपालको त्रिपुरेश्वर–जयदुर्गे जेभीले निर्माण गरेको उक्त शबस्टेसन एसियाली विकास बैंकको १० करोड रुपैयाँको सहयोगमा निर्माण सम्पन्न भएको हो ।

शबस्टेसनबाट रोल्पाका सुनील स्मृति गाउँपालिका, लुङ्ग्र गाउँपालिका, सुनछहरी गाउँपालिका, रुण्टीगढी गाउँपालिका र रोल्पा नगरपालिकाका ग्राहकले विद्युत सेवा पाउनेछन् । यसअघि रोल्पामा  प्यूठानको झिम्रुक शबस्टेसनबाट विद्युत वितरण हुँदै आएको थियो । 

शबस्टेसन उद्घाटन समारोहमा मन्त्री पुनले आगामी २ वर्षभित्र देशका अधिकांश भू–भागमा विद्युतीकरण गरिसक्ने बताए । उज्यालो समृद्धि र विकासको प्रतीक भएकाले सरकारले उज्यालोलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । ‘ज्यालो समृद्धिको प्रतीक हो, समृद्धिको ढोका हो,’ मन्त्री पुनले भने, ‘सरकारले २ वर्षभित्र हरेक नेपालीको घरमा विद्युत् पुर्‍याउने गरी काम गरिरहेको छ ।’ मन्त्री पुनले रोल्पामा बन्न लागेको १५६ मेगावाटको माडी जलाशययुक्त आयोजनाको विस्तृत आयोजना अध्ययन करीब सकिएकाले अब छिट्टै निर्माणको प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

मन्त्री पुनले २ वर्षभित्र रोल्पाका हरेक गाउँमा विद्युतीकरण हुने गरी काम भइरहेको चर्चा गरे । आफू मन्त्री हुनुअघि जिल्लामा विद्युतका ८ हजार ५०० ग्राहक रहेकामा हाल २३ हजार पुगेको भन्दै उनले विद्युत्को पर्याप्त उपलब्धता र संचरना विस्तारसँगै यही वर्ष ग्राहक संख्या ३० हजार पुग्ने बताए ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण जनताको घरमा बिजुली पुर्‍याउने मात्र नभई विद्युत् सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउने काममा सक्रिय रहेको बताए । प्राधिकरण विद्युत् उत्पादनका साथै वितरण प्रणालीको विस्तार र सुदृढीकरणमा विशेष योजनाका साथ लागिपरेको उनको भनाइ थियो ।

विद्युत् अर्थतन्त्रको इन्जिन भएको चर्चा गर्दै शाक्यले लाँकुरी शबस्टेसन चार्ज भएसँगै घरेलु र ठूला उद्योग सञ्चालन भई जिल्लामा आर्थिक गतिविधि बढ्ने उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर