• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

रामेछाप, दोरम्बाका वडाध्यक्ष ‘टलक’को टल्किने काम

रामेछाप । स्थानीय तह बनेसंगै केन्द्रमा रहेको भ्रष्टाचार र अनियमितता स्थानीय तहसम्म पुग्यो भन्ने आरोप धेरैको लाग्यो । कतिपय पालिका तथा वडाहरुमा अनियमितताका गतिविधि पनि देखिए । तर सवै उस्तै छैनन् भन्ने प्रमाण रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडानम्बर ४ मा देखिएको छ । 

सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लाको समेत सीमा क्षेत्रमा पर्ने सो वडाका नागरिकले साँच्चै सिंहदरवार गाउँमै पुगेको महसुस गर्न पाएको वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टकल’ दावी गर्छन ।

वडा अध्यक्ष मगर मंगलबार काठमाडौंमा भेटिए । समाचार दैनिकको कार्यालयमा आफूले गरेका कामबारे विस्तार लगाउदै उनले भने, 'अहिले पनि म मेरो वडाको समस्या लिएर काठमाडौं आएको हुं ।’

सुत्केरी बेथा लागेर बच्चा जन्माउन नसकेकी २३ वर्षीय शर्मिला लामालाई हेलिकप्टरमा दोरम्बाबाट लिएर वडाध्यक्ष टलक सोमबार काठमाडौं आएका हुन् ।

'यसपाली त हेलिकप्टरको भाडा उहाँहरुले नै बेहोर्नुभयो । तर विगतमा एकजना बच्चा विरामी हुंदा गरिव परिवारका उनलाई मैले मेरै पैसामा आपतकालिन रुपमा हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याई उपचार गराएको छु ।' 

मानसिक सन्तुलन गुमाएर डुलिहिड्ने खिलबहादुर मगरलाई पाटन अस्पतालमा ल्याएर उपचार गरि फर्काएपछि अहिले उनि काठमाडौंमा चालक पेशामा लागेको अर्को सामाजिक काम र वडा अध्यक्षको जिम्मेवारी अनुसारको अविभावकत्व बहन गरेको उनले अर्को उदाहरण पनि दिए ।

यसरी जनप्रतिनिधिले जनसेवा गर्न पैसा कहाँबाट ल्याउनुहुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘भ्रष्टाचार हाम्रो वडा र पालिकामा भएको छैन । विभिन्न निकायले छानविन गरेर हेर्दा हुन्छ । मैले लोन लिएर, आफ्नो भत्ता वापत आएको पैसा सहयोग गरेको छु ।’

आफु निर्वाचित भएर वडामा आएपछि सुधार र विकासका प्रसस्त काम गरेको उनको दावी छ । ‘जनहितका लागि सुशासित राष्ट्रिय अभियान पहिलो पटक मेरो वडामा संचालन भएको हो । जनजाति बाहुल्य ठाउँमा कसरी कार्यान्वयन होला र भन्ने धेरैको शंका थियो । तर प्रभावकारी रुपमा सम्पन्न भएको छ । त्यो अभियान पछि अहिले गाउँमा जाँड- रक्सी खाएर हल्ला खल्ला गर्ने, जुवा- तास खेल्ने, बालविहाह जस्ता समाजका विकृतीहरु कम भएको छ,' उनले भने ।
 
वडाध्यक्ष मगरले आफ्नो कार्यकाल नसकिदै गरेका र गर्न लागेका विकासका कामको पनि विस्तार लगाए । सिमित साधन श्रोत र  एउटा वडाको मात्रै धेरै लामो सूची त थिएन तर उनले भुकम्पबाट भत्किएका घरहरु मध्य ८० प्रतिसत पुननिर्माण सकिएको, २ वटा मावि स्कुलमध्य एउटा बनिसकेको, अर्को सम्पन्न हुने चरणमा रहेको, स्थानीय तहमा संभव हुने स्वास्थ्यको व्यवस्था, प्रशासनिक काममा नागरिकलाई सहजता उपलव्ध गराएको बताए । 

आफ्नो चुनावी नाराका क्रममा वडामा एउटा एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिवद्धता गरेपनि अहिले सम्म गर्न नसकेको स्वीकार गर्दै उनले त्यसका लागि सरकारी तथा गैरसरकारी निकायमा सहयोगका लागि पहल गरिरहेको बताए ।

'मैले स्वीजरल्याण्ड बनाउछु भनेको थिएन । तपाईको समस्यामा रातदिन नभनी दुःखसुखमा लाग्छु भनेको थिए,' उनले भने, 'चुनावमा भनेको कुरा लगभग सवै भए । एउटा एम्बुलेन्स पनि उपलव्ध गराउछु भनेको थिए । सक्दो प्रयास गर्छु ।'
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर