• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भरपर्दो बिजुलीको पहुँचमा रोल्पा

काठमाडौँ । रोल्पामा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले  रोल्पाको लाँकुरीमा निर्माण गरेको ३३र११ केभी सवस्टेशन सोमबारदेखि चार्ज भएको छ । सो सवस्टेशनको निर्माणपछि रोल्पामा सहजरुपमा विद्युत् प्रवाह हुुने र भोल्टेजमा देखिने समस्यासमेत समाधान हुने भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रोल्पा नगरपालिका–३ लाँकुरीमा निर्माण भएको सवस्टेशनको उद्घाटन गर्नुभएको प्राधिकरणले जनाएको छ । सवस्टेशनको निर्माणपछि विद्युतीकरण भएका रोल्पाका अधिकांश स्थानीय तहका ग्राहकले भरपर्दो विद्युत् सेवा पाउने प्राधिकरणको विश्वास छ । सवस्टेशनको अभावमा यसअघि रोल्पामा सामान्य पानी पर्दा वा हावाहुरी चल्दासमेत विद्युत् अवरुद्ध हुने गरेको थियो । 

भारतको ए टू–जेड इन्फ्रा इञ्जिनीयरिङ र नेपालको त्रिपुरेश्वर–जयदुर्गे जेभीले निर्माण गरेको उक्त सवस्टेशन एशियाली विकास बैंकको रु १० करोड सहयोगमा निर्माण सम्पन्न भएको हो । सवस्टेशनबाट रोल्पाका सुनिल स्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, रुण्टीगढी गाउँपालिका र रोल्पा नगरपालिकाका ग्राहकले विद्युत् सेवा पाउनेछन् । यसअघि रोल्पामा  प्यूठानको झिम्रुक शवस्टेशनबाट विद्युत् वितरण हुँदै आएको थियो । मन्त्री पुनले आगामी दुई वर्षभित्र देशका अधिकांश भू–भागमा विद्युतीकरण भइसक्ने बताउँदै सवस्टेशनको क्षमता विस्तार तथा नयाँ निर्माणलाई तीव्र पारिएको उल्लेख  गरे । 

“उज्यालो समृद्धिको प्रतीक हो, समृद्धिको ढोका हो”, मन्त्री पुनले भने, “सरकारले दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत् पु¥याउने गरी काम गरिरहेको छ ।” रोल्पामा कूल १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त आयोजनाको विस्तृत आयोजना अध्ययन करिब करिब सम्पन्न भएको छ । सो आयोजनाको शीघ्र निर्माण कार्य शुरु गर्ने तयारीमा सरकार लागिपरेको छ । 

आगामी दुई वर्षभित्र रोल्पाका हरेक गाउँमा विद्युतीकरण हुने गरी काम भइरहेको जानकारी दिए । उनले भने, “म मन्त्री हुनुअघि जिल्लामा विद्युत्का आठ हजार ५०० ग्राहक रहेकामा हाल २३ हजार पुगेको छ । विद्युत्को सहज उपलब्धता र संचरना विस्तारसँगै यही  वर्ष ग्राहक सङ्ख्या बढेर ३० हजार पुग्ने अनुमान छ ।”

नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हीतेन्द्रदेव शाक्य प्राधिकरण जनताको घरमा बिजुली पु¥याउने मात्र नभई विद्युत् सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउने काममा सक्रिय रहेको बताउँछन् । प्राधिकरण विद्युत् उत्पादनका साथै वितरण प्रणालीको विस्तार र सुदृढीकरणमा विशेष योजनाका साथ लागिपरेको उनको भनाइ छ । विद्युत् अर्थतन्त्रको इन्जिन भएकाले कायममुकायम कार्यकारी निर्देशक शाक्यले लाँकुरी सवस्टेशन चार्ज भएसँगै घरेलु र ठूला उद्योग सञ्चालन भई जिल्लामा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे । 



 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर