• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

किरात किंवदन्ती: ‘सुत्केरी’ ढुंगाले जोगाएको इतिहास

तस्बिर : दीपेन्द्र राई 

त्यतिबेला अर्खौले खाम्तेल थुमअन्तर्गत पथ्र्यो । खाम्तेलका सान्ने रजगरेभीर (साप्सुखोलाछेउ)मा बसोवास गर्ने सेनेम्छा राईका पुर्खाले खाम्तेल थुम निर्माण गरी पृथ्वीनारायण शाहका सेनासँग युद्ध गरेको बलियो दसी, प्रमाण छँदै छन् ।संवत्१८२५देखि१८३१ सम्म पृथ्वीनारायण शाहका सेनाले पूर्वका किरातीसँग युद्ध गरेका थिए । त्यतिबेला शासकीय किल्लाका रूपमा थुम स्थापना गरी अरूलाई आफ्नो वशमा राख्ने शासकीय परम्परा किराती राजाहरूमा छँदै थियो । 

खाम्तेल थुमका किराती राजाहरूले आफ्ना नियमित सेनालाई धनुकाँड विद्या प्राथमिकतासाथ सिकाउँथे । त्यतिबेला धनुकाँड प्रमुख हतियारका रूपमा मानिन्थ्यो । किराती राजाहरूले आफ्ना नियमित सेनालाई खाम्तेल थुमका विभिन्न ठाउँमा सैन्य अभ्यास गराउँदा धनुकाँड अभ्यासलाई विशेष महत्व दिन्थे । लामो समयको धनुकाँड अभ्यासपछि सही ठाउँमा निशाना लगाउन अभ्यस्त भएको प्रमाणस्वरूप खाम्तेल थुमका किराती राजाहरूका सेनाले यो ढुंगा ठड्याई आफ्नो कौशल देखाउँथे । खाम्तेल थुमका किराती राजा उपस्थित भई आफ्ना नियमित सेनाको सैन्य कौशल हेर्थे ।

खाम्तेल थुमका किराती राजाका नियमित सेनाले निशाना लगाउन प्रयोग गरेको ढुंगालाई तारो हान्ने ढुंगा भन्ने गरिन्छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजार र कामीडाँडाबीचमा रहेको यो ढुंगासँग सम्बन्धित कथा सुनेका नेपाल प्रहरी, नेपाली सेनालगायत सुरक्षाकर्मीले तारो हान्ने ढुंगालाई श्रद्धासाथ नजिकबाट नियाल्ने गर्छन् । तारो हान्ने ढुंगाको दर्शन गरे लक्षित ठाउँमा निशाना लगाउन सकिने विश्वास गर्छन् । ‘मैले पनि यो कथा उहिल्यै सुनेको हुँ,’ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका भूतपूर्व गोर्खा सैनिक भर्तसेर राईले सुनाए, ‘त्यो बाटो हिँड्दा किराती सेनाका पुर्खाले ठड्याएको ढुंगा भनेर मैले आदर र गौरवसाथ दर्शन गर्थें ।’    

दिल्पा, भोजपुरमा समेत तारा हान्ने ढुंगाको चर्चा गरिन्छ । दिल्पा, भुरुचोकनिवासी किराती राजा जिरामुनि मुन्दुम ज्ञाता थिए । उनले तान्त्रिक शक्तिले जुनसुकै काम गर्न सक्थे । ‘उनले गरेको कामबारे सर्वत्र चर्चा हुन थालेपछि काठमाडौं दरबार झिकाइयो । शक्ति पहिचान गर्न उनलाई दरबारमै नजरबन्दमा राखियो,’ संस्कृतिकर्मी शुभ मुकारुङको भनाइ छ, ‘तान्त्रिक शक्ति प्रयोग गरी फुत्केका किरात राजा जिरामुनि ढुंगाको टोपी लगाएर ढुंगाकै डन्डिबियो खेल्दै भोजपुर फर्कंदै गर्दा अर्खौले आइपुग्दा उज्यालो भयो । उज्यालो भएपछि उनले खेलेको डन्डिबियो ढुंगा त्यहीं छाडी ढुंगाको टोेपीमात्रै लगाएर भोजपुर फर्केको दिल्पाका पुर्खाहरूले सुनाउँदै आएका छन् ।’ 

मुन्दुम अध्येता भोगीराज चाम्लिङको बुझाइ फरक छ । ‘हिजोआजसमेत चौतारी चिन्ने गरिन्छ,’ मुन्दुम अध्येता चाम्लिङको ठम्याइ छ,– ‘चौतारी चिनेजस्तै त्यतिबेला ढुंगा ठड्याउनुलाई कीर्तिका रूपमा लिने गरिन्थ्यो । सुत्केरी ढुंगा भनेर चिनिएको ढुंगासमेत कीर्तिका लागि कसैले ठड्याएका हुन सक्छन् । यसले त्यतिबेलाको समयको प्रतिनिधित्व गर्छ ।’ 

मानव सभ्यताको विकास ढुंगेयुगबाट सुरु भएको पाइन्छ । हातहतियार र आगो आविष्कार नहुँदा ढुंगालाई जति महत्वसाथ हेरिन्थ्यो, त्यत्तिकै महत्वसाथ किरात राई समुदायले ढुंगाको श्रद्धा र पूजा गर्छन् । प्रकृतिपुजक उनीहरूले वन–जंगल, खोलानाला, ढुंगामाटोको पूजा गर्नु परापूर्वकालदेखिको मान्यता हो । वन–जंगल, खोलानाला, ढुंगामाटोसँग उनीहरूको अन्तरङ सम्बन्ध रहेको छ । 

तारो हान्ने ढुंगालाई सुत्केरी ढुंगा भनेर चिन्नेको बाहुल्य छ । ढुंगा पनि सुत्केरी हुन्छ र ? झट्ट सुन्दा अनौठो लाग्नु अस्वाभाविक होइन । ढुंगा सुत्केरी हुनै सक्दैन । तर, ढुंगाको नामचाहिँ सुत्केरी हुन सक्छ । ढुंगाको नाम सुत्केरी कसरी रहन गयो ? जिज्ञासा लाग्नु स्वाभाविकै हो । सुत्केरी ढुंगाको आडैमा अमृता पुरीको घर छ । ‘सोलुखुम्बुबाट हलेसी झरेकी शेर्पिनी गर्भवती थिइन् । हलेसी दर्शन गरेर फर्कनेक्रममा उनलाई सुत्केरी व्यथाले च्यापेछ । व्यथाले च्यापेपछि यो ढुंगा उठाउँदा बल प्रयोग भई बच्चा पैदा भएको थियो,’ पुरी सुनाउँछिन्, ‘सुत्केरीले उठाएको भएकाले यसलाई सुत्केरी ढुंगा भनिएको हो भनेको मैले पनि अरूबाटै सुनेकी हुँ ।’ 

सुत्केरी ढुंगासम्बन्धी प्रचलित किंवदन्ती स्थानीयले सुनाउने गर्छन् । सोधिखोजी गर्नेलाई प्रचलित किंवदन्ती सुनाइन्छ । यो बाटो भएर ओहोर–दोहोर गर्नेले जिज्ञासुपाराले सुत्केरी ढुंगा हेर्ने गर्छन् । ढुंगाबारे किंवदन्ती सुनेपछि सुत्केरीले यत्रो ढुंगा कसरी उठाइहोलिन् भन्छन् । तर, किंवदन्ती न हो भनेर चित्त पनि बुझाइहाल्छन् ।

‘सुत्केरीले यत्रो ढुंगा कसरी उठाउलान् ? सायद देउताका पालामा उठाउन सक्थे कि ?,’ स्थानीय पुरी थप्छिन्, ‘हिजोआजका सुत्केरी उठेर बस्न त सक्दैनन् । यत्रो ढुंगा उठाउन त परै जाओस् ।’ सुत्केरी ढुंगासँगै अर्को पनि ढुंगा ठडिएको छ । ठूलो ढुंगा सुत्केरीले र सानो ढुंगा नवजात शिशुले उठाएको भन्ने गरिन्छ । 

‘ढाड दुखेका महिलाले सुत्केरी ढुंगामा ढेसिन्छन्,’ हलेसी–तुवाचुङ नगरपालिका–१० अर्खौलेका वडाध्यक्ष ज्ञानबहादुर पुरीले सुत्केरी ढुंगासम्बन्धी अर्को प्रसंग सुनाए,– ‘त्यसो गर्दा ढाड दुखेको निको हुने विश्वास गरिन्छ । हलेसी झरेका शेर्पा समुदायका महिलाले त्यसो गरेको मैले देखेको हुँ ।’ 

‘रामनवमी र शिवरात्रीलगायत मेला भर्न हलेसी आउनेले भेटी चढाउँथे,’ कवि तथा गजलकार प्रमोद श्रेष्ठले जानकारी गराए,– ‘त्यतिबेला सुत्केरी ढुंगामा सानोतिनो भीडभाड लाग्थ्यो ।’ 

पहिले र अहिलेको सुत्केरी ढुंगामा केही फरक छ । पहिलेको सुत्केरी ढुंगा ७५ डिग्री कोणमा उत्तरतर्फ ढल्केको थियो । सात फिट दुई इन्च उचाइ रहेको सुत्केरी ढुंगाको चौडाइ एक फिट ६ इन्च थियो । केही समयअघि सुत्केरी ढुंगा आफैं ढल्यो । तात्कालिक अर्खौले गाउँ विकास समितिसम्बद्धको पहलमा ढलेको सुत्केरी ढुंगा पुनः ठड्याइयो । सुत्केरी ढुंगा ठड्याउँदा पहिलेकै अवस्थामा राख्न सकिएन । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर