• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ ।

 उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीकाटिप्पणी व्यक्त भएपछि सो विषयमा नेकपाको सचिवालय अनिर्णित भएको छ भने शीर्ष नेताबीच आपसी आशङ्कासमेत पैदा भएको छ ।  काठमाडौं निर्वाचन क्षेत्र नं ७ का नेकपाका सांसद रामवीर मानन्धरले नेता गौतमका लागि ठाउँ खाली गर्न आफूले राजीनामा दिन तयार रहेकाले स्वीकृतिका लागि नेतृत्वलाई दिएको पत्र पार्टीको यही असोज २२ गतेको सचिवालय बैठकमा एकाएक प्रस्तुत भएपछि अन्य नियमित कार्यसूची प्रभावित भएको थियो । 

पार्टी एकतालाई तल्लो कमिटीसम्म विस्तार गर्नुपर्ने र सरकार सञ्चालन तथा समन्वयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएका बेला उपनिर्वाचनको सन्दर्भले विषयान्तर गरेको देखिन्छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानन्धरको पत्र सचिवालय बैठकमा प्रस्तुत गरेपछि मात्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सो विषयमा जानकार भए ।

सो दिनका अन्य कार्यसूचीमा कुनै निर्णय हुन सकेन । सो दिन अर्को बैठकको कार्यसूची र स्थायी कमिटी बैठकको मिति तय गर्ने विषयमा छलफल भई यही असोज २४ गतेका लागि तोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  प्रवक्ता श्रेष्ठले पत्रकारलाई दिएको जानकारीमा मानन्धरको पत्रबारे उल्लेख थिएन ।

सचिवालयको बैठक पुनः यही असोज २७ गतेका लागि सरेको छ । उपनिर्वाचनका विषयमा अध्यक्ष ओली र प्रचण्डबीच बुधबार भएको भेटवार्तामा समीक्षा भएको थियो । सो दिन अपराह्न पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीले हार्र्ने गरी उपनिर्वाचन नगर्ने स्पष्ट पारे । 

यही असोज ५ गतेको सचिवालय बैठकले पार्टीका प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेकामा वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको असन्तुष्टिका विषयमा पनि सचिवालयको बैठकमा छलफल हुन बाँकी छ । 

मध्यमार्गी नेता सक्रिय 
नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर लान आह्वान गर्दै हाल देखिएको विवादका विषयमा अध्यक्ष, वरिष्ठ नेता नेपाल, नेता गौतम र अन्य नेतासँग अलग अलग अनौपचारिक भेटवार्ता गरे । नेता पोखरेलले भने, “उपचुनावको विषयमा पार्टीको बैठकमा औपचारिक कार्यसूची बनाई छलफल नै भएको छैन ।

मानन्धरको पत्र आएको छ । त्यसमा हाल कुनै निर्णय भएको छैन ।” उनले भने, “पार्टीको साङ्गठनिक जीवनलाई व्यवस्थित बनाएर एकताको सन्देश देशव्यापी लैजानु अहिलेको आवश्यकता हो । पार्टीको संरचना क्रियाशील नहुँदा पनि साङ्गठनिक स्थितिमा अस्तव्यस्ता देखिएको छ, यो चाँडै सँग्लिएर जान्छ ।” 

प्रतिनिधिसभाको गत वर्षको निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका नेता वामदेवले पार्टी एकता, शान्ति प्रक्रिया र राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने भएकाले प्रतिनिधिसभामा उपनिर्वाचनबाट पनि ल्याउन पहल हुँदै आएको छ । उनलाई यसअघि बाँके, प्यूठान, दैलेख, डोल्पालगायत जिल्लाका सांसदलाई राजीनामा गराई उपनिर्वाचनमा विजयी गराउने पहल गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर