• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

ओलीले प्रधानमन्त्री रहने भए अध्यक्ष छाड्नैपर्छः देवेन्द्र पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज बोल्दै पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पारे । पार्टीभित्रको समस्यालाई निकास दिनका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्र लिनुपर्ने उनको भनाई थियो ।

“ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन,” पौडेलले भने । पौडेलले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताए । “पार्टी फुटाउनु हूँदैन, एक बनाउनैपर्छ,” उनले भने ।

पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलको भनाई छ । उनले ओलीले पार्टीको निर्णय मान्नुपर्ने भन्दै पार्टीले सरकार चलाउने कुरा स्वीकार गर्नुपर्ने बताए । ‘पार्टीभित्र निकास दिन अध्यक्ष ओलीले भुमिका खेल्नुपर्छ,’ पौडेलले भने । पौडेलले पार्टी विवादको समाधान जतिसक्दो निकाल्नुपर्नेमा जोड दिए । ओलीले समस्या समाधानको जिम्मा लिनुपर्ने समेत बताए । 

नेकपा विवादले संकटपूर्ण अवस्था सृजना गरेको भन्दै उनले अब समस्या समाधान गर्ने  जिम्मा ओलीले लिनुपर्ने बताए । सचिवालय बैठकमा पेश भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेर मात्रै निकास निस्कने उनको भनाई थियो । त्यसका लागि ओली तयार हुनुको विकल्प नभएको पौडेलले बताए ।

दुवै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने उनको भनाई छ । प्रतिवेदन खारेज वा फिर्ताको माग उचित नभएको उनले बताए । छलफलपछि बरु संयुक्त प्रतिवेदन बनाउन सकिने उनको तर्क छ । पौडेलले भने, ‘ओली र दाहालबीच मिल्नुको विकल्प छैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर