• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

संजोगको बस पोखरा पाल्पा गुड्ने 

पोखरा । विजयादशमीको अवसरमा पोखरा–तानसेन पर्यटक बस सुविधा सुरु भएको छ । पाल्पाली समाजको पहल र तानसेन नगरपालिकाको समन्वयमा संजोग ट्राभल्स प्रालिले पर्यटक बस सुविधा दिएको हो । पोखरा पर्यटन बसपार्कदेखि तानसेनका लागि बुधबार बिहान पर्यटक बस छुटेको छ । यस्तै, ठिक सोही समयमा तानसेन टुँडिखेलदेखि पोखराका लागि संजोगको पर्यटक बस पोखराका लागि गुड्यो ।

सेवा शुभारम्भ अवसरमा पर्यटन बसपार्कमा आयोजित समारोहमा प्रमुख अतिथि पर्यटन बोर्ड पोखरा वरिष्ठ अधिकृत सूर्य थपलियाले सेवा सुरुसँगै दुई सहरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । संजोग ट्राभल्सका अध्यक्ष सनतकुमार श्रेष्ठले अब पोखरा–पाल्पाको पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । उनले सेवालाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेल, नाट्टा क्षेत्रीय संघ पोखराका अध्यक्ष सन्तोष पोखरेलले बस सुविधा निरन्तरताको कामना गर्दै यसले पर्यटन प्रवद्र्धनमा गतिलो टेवा दिने बताए । पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले वर्षौदेखिको पाल्पालीको सपना पूरा भएको बताए । उनले सो कार्यमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिए  ।

समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठले समाजको अनुरोधमा संजोगले सेवा सुरु गरेकोमा धन्यवाद दिए । कार्यक्रम संचालन संचारकर्मी सञ्जय मल्लले गरेका थिए । बसको पहिलो टिकट काट्ने यात्रु अम्बिका न्यौपानेलाई माला लगाई सम्मान गरियो । पोखरा र तानसेनको दुरी करिब १ सय २० किमीमात्र छ । बस दैनिक बिहान ८ बजे पर्यटक बसपार्कदेखि छुट्नेछ ।

समाजले यसअघि गत भदौमा पोखरा–पाल्पाबीच पर्यटन प्रवद्र्धन गर्ने विषयमा तानसेनमा पुगेर सरोकारवाला निकायबाट अन्तक्र्रिया गरेको थियो । त्यसको पहिलो चरणमा पर्यटक बस सुविधा सुरु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर