• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

 सहुलियत मूल्यमा नेपाल टेलिकमको ‘एनटी टिभी’ सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा सुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको सुरुवात गरेको हो । 

एनटी टिभी सेवाको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुरुवात गरे । टेलिकमले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको फाइबरमार्फत एनटी टिभी सञ्चालनमा ल्याएको हो । टेलिकमले आजदेखि ‘फाइबर टु दि होम’ एफटिटिएचमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न थालेको हो । 
 
टेलिकमले ३९ जिल्लामा फाइबर सेवा विस्तार गरिसकेको छ । आजदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थान र बनेपामा एनटी टिभी सेवा सञ्चालनमा आएको छ । काठमाडौं उपत्यकाका हात्तीगौँडा, छाउनी, कीर्तिपूर, बलम्बु, गोठाटार, चाबहिल, जोरपाटी, नक्साल, थैव, सैबु, ग्वार्कोलगायतस्थानमा फाइबर सेवा पुगिसकेको छ । अब छिट्टै उपत्यका बाहिर पनि एनटी टिभी सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ । कम्पनीले गत फागुनमा पहिलो चरणको परीक्षण प्रसारण गरेको थियो । 
 
टेलिकमले पाँच वर्षदेखि एनटीफाइबरमार्फत ग्राहकलाई उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएको छ । टेलिकमले गत डिसेम्बर महिनामा अन्य कम्पनीभन्दा बढी ग्राहकलाई उच्चगतिको इन्टरनेट जडान गर्न सफल भएको छ । 

‘फाइबरको नयाँ ग्राहक बनाउने कम्पनीका रुपमा टेलिकम एक नम्बरमा परेको छ,’ कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने, ‘टेलिकम फाइबरमार्फत एकैसाथ टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराउने पहिलो कम्पनी बनेको छ ।’
 
हालसम्म अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेट र टिभी सेवा मात्र दिँदै आएका छन् । प्रबन्ध निर्देशक अधिकारी हरेक घरमा एकवटा तार जडान गरेपछि अर्को सेवा लिनका लागि फेरि अर्को तार जोड्नुपर्ने बाध्यता टेलिकमले अन्त्य गरेको बताउँछन् । टेलिकमले सञ्चालनमा ल्याएको उक्त सेवाले शहरी सौन्दर्यलाई पनि सघाउ पु¥याउनेछ । 

टेलिकमले ‘एक घर, एक फाइबर कनेक्सन’ को उद्देश्य राखेर काम गरिरहेको पनि उनले बताए । ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्न पनि यसले सघाउ पु¥याउने प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ । उनले यो सेवालाई देशभर विस्तार गरिने पनि बताए । 

ग्राहक सेवा निर्देशनालयका निर्देशक अनन्तराम सिंह प्रधानले टेलिकमले पाँच वर्षदेखि फाइबरमार्फत उच्च गुणस्तरको टेलिफोन र उच्चगतिको इन्टरनेट ग्राहकसमक्ष पु¥याउँदै आएको भए पनि आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन पनि सुरु गरिएको बताए । 
 
निजी क्षेत्रको भन्दा सहुलियत मूल्य:

कम्पनीले दुई प्याकेजमा टिभी सेवा उपलब्ध गराएको छ । जसमा सिङ्गल टिभी कनेक्सनसहित १५ एमबीपीएस फाइबर इन्टरनेट (बेसिक टिभी प्याकेज)को मूल्य रु एक हजार २३० देखि रु १३ हजार २२० सम्म तोकेको छ । एक महिनाका लागि रु एक हजार २२०, तीन महिनाको तीन हजार ५३० र एक वर्षको रु १३ हजार २२० रहेको छ । 
 
यसैगरी इन्टरनेटबाहेक एनटी टिभी र निःशुल्क ल्यान्डलाइनको मूल्य एक महिनाको रु ४८०, तीन महिनाको रु एक हजार ४५० र एक वर्षको रु पाँच हजार ७८० तोकेको छ । प्रिमियम एनटी टिभीसहित फाइबर इन्टरनेटको मूल्य रु एक हजार चार सयदेखि रु २४ हजारसम्म तोकिएको छ । पन्ध्र एमबीपीएस अनलिमिटेड इन्टरनेटर, एनटी टिभी र टेलिफोन ९निःशुल्क० एक महिनाको रु एक हजार चार सय, तीन महिनाको रु चार हजार एक सय र एक वर्षको रु १५ हजार रहेको छ । 
 
तीस एमबीपीएस अनलिमिटेड इन्टरनेट, एनटी टिभी र टेलिफोन (निःशुल्क) प्याकेजको एक महिनाको रु एक हजार ७५०, तीन महिनाको रु पाँच हजार र एक वर्षको रु अठार हजार एक सय, ४० एमबीपीएस प्याकेजको एक महिनाको रु दुई हजार ५०, तीन महिनाको रु छ हजार र एक वर्षको रु १९ हजार ७०० तोकिएको छ । 

उनका अनुसार ६० एमबीपीएस इन्टरनेटसहित एक प्याकेजको प्याकेज रु दुई हजार ४५०, तीन महिनाको रु सात हजार २०० र एक वर्षको रु २४ हजार पाँच सय रहेको छ । टेलिकमले एनटी टिभी र टेलिफोन (निःशुल्क)को प्याकेजसमेत उपलब्ध गराएको छ । उक्त प्याकेजको एक महिनाको रु आठ सय, तीन महिनाको रु दुई हजार ३५० र एक वर्षको रु आठ हजार ३०० तोकेको छ । 
 
एनटी टिभी सेवाको शुभारम्भ गर्दै मन्त्री गुरुङले सेवालाई भरपर्दो र विश्वासिलो बनाउँदै सेवा प्रवाहलाई ग्राहकमैत्री बनाउन निर्देशन दिए । उनले दूरसञ्चार क्षेत्रमा आविष्कार भएका प्रविधिको अध्ययन गरी नेपालमा पनि शुरुआत गर्न आग्रह गरे । टेलिकमलाई प्रतिस्पर्धी कम्पनीका रुपमा अगाडि लैजान मन्त्रालयले सक्दो सहयोग गर्ने पनि उनले बताए ।
 
कार्यक्रममा टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सेवामा गुणात्मकताका साथै दीगो रुपमा सञ्चालन र २४ सै घण्टा सेवा दिनुपर्ने चुनौती रहेको औँल्याउँदै ग्राहकको गुनासोलाई तत्काल सम्बोधन गर्नेगरी काम गर्न निर्देशन दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर